बन्दा खेतीबाट करोडौंको आम्दानी

kopi तेह्रथुम ।
डेढ दशकअघि बन्दा खेतीबाट करोडौंको आम्दानी सुरु गर्दा लालीगुराँस नगरपालिका ४ चित्रेका ४६ वर्षीय किसान श्याम गुरुङसँग लगभग १ लाख रुपैयाँको सम्पत्ति थियो । बन्दाको व्यावसायिक खेतीपछि उनको सम्पत्ति १ करोड ५० लाख रुपैयाँ बढी पुगेको उनले बताए । तरकारी बजारमा पुर्‍याउन ट्याक्टर र ट्रक आफैंले खरिद गरेका छन् । उनी उत्पादन आफैं भारतीय बजारमा पुर्‍याउने यस क्षेत्रकै अगुवा कृषकसमेत बने ।

चित्रेसँगै जोडिएको धनकुटा मूर्तिढुंगा ९ का ५६ वर्षीय जगत काफ्ले १५ वर्षअघि जंगलमा गाउँलेको आरा लाउने काम गर्थे । यस कामले परिवार पाल्न मुस्किल परेपछि उनले पनि पाखोबारीमा व्यावसायिक रूपमा बेमौसमी बन्दाको खेती सुरु गरे । अहिले उनीसँग दुईवटा ट्रक छन् ।
झापामा एक बिघा खेती छ । पहाडमा बन्दा खेतीका लागि ३० रोपनीभन्दा बढी जग्गा जोडेका छन् । यो सम्पूर्ण सफलताको श्रेय उनलाई सेमौसमी बन्दाले नै दिएको हो ।

चित्रेकै अर्का किसान होम रायमाझी बन्दा खेती सुरु गरेको १४ वर्षमा तीनवटा गाडीका मालिक बनेका छन् । बन्दा खेतीबाट भएको आम्दानीले उनले ट्रक, ट्याक्टर र मोटरसाइकल जोडेका हुन् । खेतीका लागि जग्गाजमिन पनि प्रशस्त किनेका छन् । चित्रेकै अर्का युवा किसान पोष्टराज रायमाझी पनि तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने किसानको सूचीमा पर्छन् । उत्पादित तरकारी बजारसम्म पुर्‍याउन उनले पनि ट्याक्टर र ट्रक किनेका छन् । दु:खले परिवार पाल्ने किसानलाई बन्दा खेतीले छोटै समयमा करोडको मालिक बनाएको छ ।
07112016081219cabbage-1000x0
बन्दा खेतीबाट लालीगुराँस नगरपालिका, मूर्तिढुंगा, मारेककटहरे, परेवादिन, तामाफोकलगायत गाविसमा लखपती हुने किसानको सूची निकै लामो रहेको वरिष्ठ कृषि विकास अधिकृत मनोज यादवले बताए । चित्रेका किसान गुरुङले यो वर्ष मात्र रायोको साग, आलु, हरियो मटरकोसा, काउली र बन्दा बेचेर १० लाख रुपैयाँभन्दा बढीको आम्दानी गरेको बताए । बेमौसमी बन्दालगायत अन्य तरकारीे खेतीमा लागेका यहाँका प्रत्येक किसानले सिजनमा २ लाखदेखि १४ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको कृषि विकास कार्यालयले जनाएको छ ।

बेमौसमी बन्दा मात्र यति सजिलै किसानको जीवनमा कायापलट ल्याउने माध्यम बनेको भने होइन, यसका लागि किसानले मेहनत त गरेका छन् नै, आफ्नो उत्पादन आफैं बजारमा पुर्‍याउने सफल नीति पनि अवलम्बन गरेका छन् ।

व्यापारीले आफ्नोउत्पादन थोरै मूल्यमा खरिद गरी धेरै नाफा खाएर बेच्ने गरेकाले किसानले आफ्नो उत्पादन त्यस्ता व्यापारीलाई नदिने निर्णय गर्दै सहकारी पनि सञ्चालनमा ल्याएका छन् । जसले यस क्षेत्रमा उत्पादन हुने बन्दालाई सोझै भारतीय बजारमा पुर्‍याउने गरिरहेका छन् ।

सहकारी संस्था सञ्चालनमा ल्याएपछि किसानले आफ्नो उत्पादन व्यापारीलाई दिन छोडेका छन् । सहकारी संस्थामार्फत बन्दा बिक्री गर्दा तौलमा नठगिने र मूल्य पनि बढी पाइने गरेको किसान रायमाझीले बताए ।

तेह्रथुमसहित धनकुटा र संखुवासभाका हजारौं किसान व्यावसायिक रूपमा बन्दाको खेतीमा लागेपछि डेढ दशकको अवधिमा यहाँका ग्रामीण क्षेत्रमा आर्थिक समृद्धि भएको छ । तरकारी खेतीबाट आर्थिक उपार्जन हुन थालेपछि बैंक तथा वित्तीय संस्थामा आर्थिक कारोबार गर्ने किसानको संख्या बढेको वसन्तपुर बजारस्थित माउन्ट मकालु डेभलपमेन्ट बैंकका कार्यकारी अधिकृत कुमार खड्काले बताए । व्यावसायिक तरकारी खेतीले किसानको वित्तीय पहँच बढाएको उनले बताए ।

तेह्रथुमसँग सीमा जोडिएको धनकुटाको सिंधुवा बजारको बाटो भएर सिजनमा दैनिक ३५ ट्रक बन्दालगायत अन्य तरकारी भारतीय बजारतर्फ जाने गरेको सिंधुवा बहुउदेशीय सहकारी संस्थाले जनाएको छ । यी क्षेत्रमा वर्षको नौ महिना बन्दालगायत अन्य ताजा तरकारीको उत्पादन र बिक्री हुन्छ । यो अवधिमा किसानले ४ करोड भारतीय रुपैयाँ भित्र्याउने गरेको सिंधुवा कृषि भण्डारका प्रबन्ध निर्देशक मेघेन्द्र गुरुङले बताए । यहाँको बन्दा भारतीय बजार सिलगुढी र कलकत्तासम्म पुग्ने गरेको उनले बताए ।

विशेषगरी तरकारी, अचार, मम, सलादलगायतका खाद्य परिकार बनाउन प्रयोग गरिने बन्दाको व्यावसायिक खेतीमा २० हजारभन्दा बढी किसान संलग्न रहेको कृषि कार्यालयले जनाएको छ ।

Propellerads
Loading...
loading...