जसले कृषिमा भविष्य देखे

krishi-aनेपाल कृषि प्रधान देश हो र यहाँका दुई तिहाई जनसंख्याले कृषिलाई खाद्य सुरक्षा, रोजगारी तथा आय आर्जनको प्रमुख श्रोत बनाएका छन् । देशको कुल गार्हस्थ उत्पादनमा पनि कृषि क्षेत्रले सबै भन्दा बढि (३५.३६ प्रतिशत) योगदान गर्दछ । यद्यपि, देशका अधिकांश युवाहरु कृषि क्षेत्रमा खासै रुची राखेको पाईँदैन । दैनिक १३०० भन्दा बढि युवाहरु रोजगार लगायत विभिन्न बहानामा विदेशिने सरकारी तथ्याङ्कमा उल्लेख छ । विदेशिएका युवाहरु मध्ये पनि कतिपय त कृषि पेशामा संलग्न छन् । खासगरी, दक्षिण कोरिया, साउदी अरेबिया, इजरायल, कतार, मलेशिया, जापान लगायतका देशहरुमा कृषि पेशाको लागि कामदारको माग हुन्छ ।
स्वदेशमा रोजगारीको अवसर नपाउँदा रोजगारीको लागि विदेशिने युवाहरुको संख्या ३० लाख नाघिसकेको अवस्थामा केहि युवा तथा उद्यमीहरु भने नेपालमा नै भविष्य बनाउन लागिपरेका छन् । कोहि बैदेशिक रोजगारबाट फिरेका छन् त कोहि विदेश जानसक्ने युवाहरुलाई स्वदेश फिर्ता गराउन वा विदेश जानबाट रोक्न कृषि क्षेत्रमा लागेका छन् र कृषि क्षेत्रमा व्यवसायिकरणको सम्भावनाका लागि मार्ग प्रदर्शन गरेका छन् ।
विभिन्न पत्र पत्रिका र संचार माध्यममा प्रसारित त्यस्ता व्यक्तित्वको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ । यी उदाहरणहरुले युवाहरुलाई स्वदेशमै कृषि पेशा वा अन्य पेशा गर्न प्रेरणा मिल्न सक्छ भन्ने आशा गरिएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापा युवा नेताहरु मध्ये आश लाग्दो अनुहार मानिन्छ । युवाहरुले रोजगार हुने भन्दा पनि रोजगारीको अवसर सृजना गर्नु पर्दछ भन्दै हिड्ने उनले आफ्ना केहि साथीहरुसँग मिलेर ३ बर्ष अघि नुवाकोट जिल्लाको सुनखानीमा बाख्रा फार्म खोलेका छन् । यसबाट खासगरी युवाहरुको लागि रोजगारको अवसर सृजना भएको छ ।
एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य ध्रुव पराजुलीको अगुवाईमा एक सहकारी मार्फत् सुनकोशी नदिकिनारमा अवस्थित गोपिनीचौर र बालकाचौरमा गरी २७ रोपनी भन्दा बढि क्षेत्रफलमा माछापालन र बंगुर पालन गरिरहेका छन् । जुन अहिले केन्द्रिय सदस्य कृष्णप्रसाद सापकोटाले हेरिरहेका छन् ।
त्यस्तै गरी, नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य रामेश्वर फूँयालले काठमाडौं वरपरका आलापोट, डाँछी, भद्रवास, इन्द्रायणी, पुखुलाछी लगायतका क्षेत्रबाट लप्सी अभियान चलाए । यस अभियानले गर्दा भू–क्षय रोकिन गई भीरपाखाको सदुपयोग हुनुको साथै विभिन्न स्थानीय बासिन्दाको आम्दानीको श्रोत बनेको छ । हाल काठमाडौंको बजारमा पाइने लप्सीका ताजा दाना, लप्सीका क्यान्डी, माडा, अचार आदिको उत्पादनबाट सोको बजारका लागि प्रमुख योगदान दिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ६७ बर्षिय केन्द्रिय सदस्य जनक कार्कीको मोरङको बबियाबिर्तामा रहेको कृषि फार्ममा माछा, भैंसी, गाई बंगुर पालेका छन् । त्यसैले उनी राजनीतिमा जति सकृय छन् कृषि उद्यममा त्यो भन्दा बढि सकृय मानिन्छन् । उक्त फार्मबाट ३० जना भन्दा बढिले प्रत्यक्ष रोजगारी पाएका छन् ।
इजरायलमा कृषि पेशामा रोजगार रहेका विभिन्न व्यक्तिहरु, नेपाली हाँस्यव्यग्य क्षेत्रका चर्चित कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लगायत १२ जना व्यक्तिहरु मिलेर काठमाडौंको जितपुरफेदीमा मह एग्रिकल्चर फार्म खोलेका छन् । यसले साना सिंचाई, थोपा सिंचाई, प्लास्टिक टनेल प्रविधिमा गरिने खेती प्रविधिलाई देशभर प्रचारप्रसार गरी युवाहरुलाई स्वदेशमै केहि गर्न सकिन्छ भन्ने सन्देश बाँडिरहेका छन् । त्यसैगरी, धुर्मुुस भनेर चिनिने सिताराम कट्टेलले बिबिसी साझा सवालको एक कार्यक्रममा आफूले पनि कृषि पेशामा संलग्न भएको र यसबाट सन्तुष्ठ भएको
बताएका थिए । चर्चित गायक निमा रुम्बाले काठमाडौं जिल्ला कृषि विकास कार्यालयबाट अर्गानिक खेती सम्बन्धि तालिम लिएको पनि रेकर्ड छ ।
नेपथ्य व्याण्डको गायक अमृत गुरुङ्ग केहि समय अघि “म कलाकार, म किसान” भन्ने लेख मार्फत छापामा छाएका थिए । देश विदेशमा करोडौं फ्यान बनाउन सफल गायकले यस्तो भन्नु युवाहरुको लागि प्रेरणा बन्न सक्दछ र कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा स्थापित गराउन मद्दत पुग्न सक्छ ।
सीपी शर्मा जसले २ बर्ष अघि नै रुपन्देहीको गंगोलिया मुडुहारीमा ३० करोडभन्दा बढिको लगानीमा विश्वमा सर्वाधिक महँगो चरा मानिने अष्ट्रिचको व्यवसायिक पालन शुरु गरेका छन् । हाल यो फार्म दाङ जिल्लाको बेलझुण्डीमा पनि विस्तार गरिएको छ । यसबाट सयौं युवाले रोजगारी पाएका छन् भने हजारौंले घाँस उत्पादन गरेर फार्मलाई बेचेर आम्दानी गरेका छन् ।
काठमाडौं चावाहिलमा घर भएका राजेन्द्र राज पन्तले आफ्नो पुख्र्याैली पेशा कृषि नभए पनि गोरखा च्याङलिङ्गमा भएको आफ्नो करिब ४०० रोपनी जग्गामा गाईपालन गरिरहका छन् । हुन त पहिले उनले ८ वटा भैंसीबाट व्यवसाय शुरु गरेका थिए तर सफलता भने गाईपालनबाट मिल्न गयो । उनको फार्ममा अहिले २०० वटा गाईहरु छन् र उनलाई उनका २ वटा छोराहरुले साथ दिइरहेका छन् ।
कृषि क्षेत्रको विकासबाट नै समग्र देशको विकास भएको विश्वको अनुभव छ । नेपालमा कृषि क्षेत्र एक बहुआयामिक क्षेत्र भएको हुनाले कृषि क्षेत्रको विकासबाट उद्योग, रोजगारी र वाणिज्य क्षेत्र लगायत विभिन्न क्षेत्रको विकास हुनसक्छ भने कृषि क्षेत्रको विकासको लागि सडक, सिंचाई, विद्युत, बजार लगायतका भौतिक पूर्वाधार र अन्य क्षेत्रको एकिकृत विकास हुनुपर्ने देखिन्छ ।
चालु आर्थिक बर्षको बजेटमा नेपाल सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । कृषि क्षेत्र
व्यवसायिकरणको लागि विभिन्न समुह÷सहकारी तथा उद्यमी-व्यापारीको व्यवसायिक प्रस्तावमा कृषि विकास मन्त्रालय अन्तर्गत विभिन्न आयोजना मार्फत अनुदानको व्यवस्था गरिएको छ, साथै बढि मुनाफा दिने कृषि सम्बन्धी बाख्रापालन, बंगुरपालन, बेमौसमी तरकारी खेती, पुष्प खेती, च्याउ खेती, लगायतका बाली वस्तुमा युवाहरुलाई लक्षित गरी तालिम तथा अन्य सहायताको कार्यक्रम कृषि विकास मन्त्रलायले तर्जुमा गरेको छ जसबाट युवाहरुले प्रशस्त लाभ लिन सक्छन् ।

………………………
सन्तोष अधिकारी
कृषि अर्थविज्ञ, कृषि विकास मन्त्रालय

Loading...