अराजकता र गुण्डागर्दी रोक्न मलार्इ नेता बनाउनुस् : नवीना लामा

नवीना लामा अनेरास्ववियुकी महासचिव हुन् । अनेरास्ववियु देशको सबैभन्दा ठूलो विधार्थी संगठन हो । निरन्तर विद्यार्थी राजनीतिमा वर्चस्व कायम गर्दै आएको अनेरास्ववियु आन्तरिक रुपमा चर्को गुटबन्दी रहँदैं आएको छ ।
निर्वाचनका बेला झन चर्को रुपमा गुटबन्दी सत्तहमा देखिने गरेको छ । यही माघ २७ गतेदेखि काठमाडौंमा अनेरास्ववियुले २२ औं महाधिवेशन हुँदैंछ । महाधिवेशनबाट नेतृत्व लिन तीन विद्यार्थी नेताहरुबीच चर्को प्रतिस्पर्धा सुरु भएको छ । लामो समय विद्यार्थी राजनीतिमा बिताएकी नवीना यस पटक अध्यक्षको प्रमुख दाबेदारका हुन । उनीसँग विद्यार्थी राजनीति, यसका समस्या, अनेरास्ववियुको भावि राजनीतिकलगायतका विषयमा नेपालीपत्र ले गरेको कुराकानीः
अहिलेको विद्यार्थी राजनीतिलाई कसरी हेर्नुभएको छ समग्रमा ? अहिलेको विद्यार्थी राजनीति असाध्यै जटिल अवस्थाबाट गुज्रिरहेको छ । यसर्थ की, एउटा राजनीतिक आन्दोलन सफल भयो । तर, यसलाई हामीले निर्माण र समृद्धिसँग जोड्न सकेका छैनौं । साथै विद्यार्थीलाई कसरी लिडरसीप तयार गर्ने भन्ने कुरालाई पनि प्राथमिकता साथ अघि बढ्न सकेका छैनौं ।खासगरी, पार्टीको गुटबन्दीको प्रभाव सिधै विद्यार्थी राजनीतिमा पनि देखिएको छ । कुनै विधि प्रक्रियामा पनि जान सकिरहेको छैन । यो पनि समस्याको एक कारण हो । यो आफैं पनि एउटा स्वयंसेवी संस्था हो । यद्यपी, सिंगो विद्यार्थी राजनीति एजेन्डामुखी वा आन्दोलनमुखी हुन सकेन । यही शिलशिलामा विकृतिहरु धेरै देखिए । र असाध्यै खर्चिलो वा महंगो बन्यो ।
पहिले जसरी २०३६ साल, २०४६ सालताका पञ्चायती ब्यवस्थाविरुद्ध पार्टीको सहायकको रुपमा जसरी काम गरेको थियो त्यो साँच्चिकै सह्रानीय छ । तर, अझै पनि विद्यार्थी राजनीतिलाई सुधार्न सकिन्छ भन्ने विश्वास छ ।
०३६ साल, ०४६ साल र ०६२/६३ सालमा विद्यार्थी संगठनहरुको भूमिका र त्यसपछिको भुमिकालाई तुलना गर्दा धेरै भिन्नता देखिन्छ नी होइन ?त्यतिवेलाको राजनीतिक परिस्थिति पनि फरक थियो । आज जुन ढंगले विद्यार्थी राजनीति अगाडि बढिरहेको छ । यो व्यवस्थित भएको छैन ।
त्यसबेलाको विद्यार्थी राजनीति देशको परिवर्तनका लागि हुन्थ्यो भने अहिलेको विद्यार्थी राजनीति व्यक्तिगत जीवनशैली परिवर्तनका लागि हुन्छ भन्न मिल्छ ?अहिले समुह केन्द्रित, खासगरी गुटबन्दी केन्द्रित र त्यसमा पनि आफू केन्द्रित । गुटमा पनि आफूलाई कसरी बलियो बनाउने भन्ने लडाईं अहिले छ । पहिले पनि विचारको लडाईं त हुन्थ्यो नि । समुहगत लडाईं थियो । तर त्यो ब्यवस्थित, सैद्धान्तिक र वैचारिक थियो । तर, आज ब्यवस्थित बन्न सकेको छैन । पार्टीका नेताहरुले आन्तरिक लोकतन्त्रलाई सदृढ गर्न नसक्नु, विद्यार्थी भविष्य निर्माता हुन भनेर प्रशिक्षित गर्न नसक्नु, विद्यार्थी आफैं पनि आफ्नो विषयवस्तु, समुदायको मुद्धाहरुलाई उठाउन नसकेर ब्यवसायको रुपमा आफ्नो पोजिशन रक्षा गर्नका लागि चन्दा उठाउने जस्ता काममा लाग्ने जस्ता विकृतिहरु देखिए ।

यस्तो समस्या तपाईंहरुको संगठन अनेरास्ववियुमा मात्रै हो कि अन्य संगठनहरुमा पनि ?
समग्र विद्यार्थी राजनीतिमा नै यस्तो समस्या देखिएको हो । यद्यपि, हाम्रो विद्यार्थी संगठनमा समेत यस्तो समस्या छ । तर, तुलनात्मक रुपमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेसका विद्यार्थी संगठनभन्दा हाम्रो संगठन गतिशील, संस्थागत, व्यवस्थित र मर्यादित छ । हाम्रो संगठन भनेर घमण्ड गरेको होइन्, यो यथार्थ नै हो ।
एउटा नेताको पछाडि लागेर उसको फेर समातेपछि आफू पनि नेता बन्न सकिन्छ भन्ने मनोवृत्ति हावी भएपछि संगठन बिग्रिएको हो ? समग्र रुपमा पार्टी भित्रको गुटबन्दी अत्यन्तै डरलाग्दो बनेको छ । जस्तै शिक्षा क्षेत्रलाई राम्रो र ब्यवस्थित बनाउने । विद्यार्थीहरुका पाठ्यक्रम तालिका, परिक्षा, रिजल्ट समयमै गर्ने वातावरण सिर्जना गराउने र विद्यार्थीहरुका खास मुद्धालाई समाधान गराउन सकियो भने पनि धेरै समस्या सल्टिनेछन् ।

अघिल्लो अधिवेशनबाट निर्वाचित भएर आएपछि विद्यार्थीहरुका लागि के के काम गर्नुभयो ।
मेरो कुरा गर्दा जतिबेला स्कुले विद्यार्थी थिएँ त्यसबेला देखि नै विद्यार्थी राजनीतिमा लागें । झण्डै १८/१९ वर्ष भइसक्यो होला म विद्यार्थी राजनीतिमा सक्रिय छु । राजनीतिले नै सबै चिज गर्न सक्छ भन्ने कुरामा मैले विश्वास गर्न थालें । बीचमा हामीले धेरै सामाजिक मुद्धालाई उठायौं । विद्यार्थीको लागि सहुलियत, ३३ प्रतिशत समावेशीको आन्दोलन, राष्ट्रियताको आन्दोलन, शैक्षिक जागरणको आन्दोलन साथै सालको जनआन्दोलनमा समेत हाम्रो ठूलो भूमिका थियो ।
त्यसबेला हामी साच्चिंकै सडकको अग्रमोर्चामा थियौं । तर पछि विभिन्न उपलब्धिलाई छिन्नभिन्न पार्ने प्रयास भएपछि हामीले पार्टीहरुलाई एक ठाउँमा ल्याउन पनि दवाव र जागरणको विभिन्न भूमिका निर्वाह गयौं । त्यो त, आम मानिसले पनि गरेको राष्ट्रिय राजनीतिको आन्दोलन भए । तर, साँच्चिकै विद्यार्थीको लागि शैक्षिक क्यालेन्डर लागु गराउने कुराहरुलाई के गर्नुभयो त ? नेपालको शिक्षा नीति कस्तो बनाउने ? यो विभेद्कारी छ वैज्ञानिक छैन भनेर विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाएर यो देश संघीय प्रणालीमा जाँदा शिक्षा नीति कस्तो हुन्छ, त्यसभित्रका मात्रृ भाषाहरुको अवस्था कस्तो हुन्छ, साथै मौलिक अधिकारलाई शिक्षासँग कसरी जोड्न सकिन्छ भनेर एउटा ठूलो शैक्षिक वहस गयौँ एक महिनाको । त्यसबाट नेपालको शिक्षा नै विकासको र समृद्धिको आधार हो यो मान्छेको जीवनको रुपान्तरणको मुख्य आधार हो भनेर ५ वटा आयाम निकाल्यौं ।
विश्व बजारसँग प्रतिष्पर्धा गर्ने गुणस्तरीय शिक्षा, सामान्य नागरिकको पहुँचलाई सम्बोधन गर्ने वर्गीय शिक्षा, पर्यटन जलस्रोतलाई सम्बोधन गर्ने ब्यवहारिक शिक्षा, शारिरीक र मानसिक रुपमा स्फूर्त बनाउने शारिरिक तथा मानसिक शिक्षा ।

यसरी हामीले एक पुस्तक नै तयार पारेका छौं । सरकारलाई यसबारे जानकारी दिनका लागि पुस्तक नै तयार पारिएको थियो । यस्तै, नेपालमा शैक्षिक बेरोजगारीको जुन समस्या छ । निजी क्षेत्रमा कम्पनी ऐन अन्तरगत नाफामुखी ब्यापार भइरहेको छ । हामीले त्यसलाई ब्यवस्थित गर्ने र सरकारी स्कुल कलेजलाई प्रतिस्पर्धी र गुणस्तर बनाउने भन्यौं । यसलाई लक्षित गरी अभियान नै गरियो । मधेस विशेष र पूर्व विशेष अभियान हाम्रो जारी छ ।

अहिलेको शिक्षा मौलिक अधिकारसँग जोड्ने कुरा र माध्यमिक तहसम्मको पढाइ निःशुल्क भनेर संविधानमै उल्लेख भएको छ । यो सकारात्मक कुरा हो । र यो उपलब्धीमा हाम्रो पनि कुनै न कुनै भूमिका छ ।

देशमा संविधान बनेको छ । यद्यपि, विरोध भएका छन् । तर, राजनीतिक कोर्स चाहिँ फेरिएको छ । यसमा विद्यार्थी संगठनहरुको भूमिका कस्तो हुनुपर्छ ?

हामी यसमा अति नै गम्भीर छौं । विद्यार्थी आन्दोलन भनेको परिवर्तनको संवाहक हो । पार्टी र नेताहरुले गरेका गलत काम र प्रवृत्तिको विरोध गर्ने हो ।पहिलो हामीले कलेजमा ताला बन्द गर्ने र टायर बाल्ने काम पनि गयौं । तर, त्यो परिस्थिति पनि त्यस्तै थियो । अव पनि आन्दोलन त जारी रहन्छ । तर, सिर्जनात्मक हुन्छ अवको आन्दोलन । राष्ट्रियताको आन्दोलन । जस्तै पछिल्लो पटक मानव साङ्लो बनाएर आन्दोलन गयौं, त्यो सृजनात्मक आन्दोलन थियो ।

विद्यार्थीहरुको आन्दोलनका कारण सरकारी शैक्षिक संस्थाहरुको अवस्था खस्कियो सत्य कुरा हो नि ? सरकारी कलेजको विकल्प निजी कलेज त हुँदै होइन । हाम्रो मुख्य एजेण्डा के भने सरकारी स्कुल र कलेज र विश्वविद्यालयलाई नै आकर्षक बनाउने हो । तर, बाध्यता के छ भने राज्य सञ्चालनबाट पनि थाहा हुन्छ नि । सरकारले पनि सरकारी शैक्षिक संस्थाहरुलाई बेवास्ता गर्दै आएको छ । कति वर्षमा कति गुणस्तर बनाउने भन्ने कुनै योजना छैन । जस्तै इन्जिनियरिङ शिक्षा टियुको राम्रो छ नि । नर्सिङको शिक्षा राम्रो छ । आटर्स र कमर्स खस्केको छ ।

जस्तै सेमेस्टर प्रणाली ल्यायो । तर, त्यसलाई प्रभावकारी रुपमा अगाडि लैजान सकेको छैन । यो चिन्ताको विषय हो । यद्यपि हाम्रो संगठनको सवालमा हेर्नुहुन्छ भने हामीले सबैभन्दा पहिले सेमेस्टर प्रणालीको समर्थन र स्वागत गरेका थियौं । र अहिले पनि विश्व विद्यालयलाई सहयोग नै गर्छौं ।
अनेरास्ववियुमा नेतृत्व गर्छु पनि भन्नुभएको छ । के छन् योजना ?

हाम्रो निजी अभियान, संगठनको अभियान भनेको पढ्न नपाएको शिक्षाको ज्योतिबाट बञ्चित भएका सीमान्तकृत विद्यार्थीहरुको हक र अधिकारका लागि राज्यलाई दवाव दिने । शिक्षा गुणस्तरीय र सबैका लागि हुनुपर्छ भन्ने नै हाम्रो मूल उद्धेश्य हुनेछ । सरकारी कलेजहरुलाई गुणस्तरीय बनाउने । मूलतः शिक्षाबाट बञ्चित बनेकाहरुको हक अधिकारका लागि नै हाम्रो ध्यान केन्द्रित हुनेछ ।

राजनीतिप्रति आम युवामा जुन वितृष्णा छ त्यसलाई सकारात्मक बनाउने, संगठनभित्र देखिएका विकृतीहरु हटाउने, गुटबन्दीलाई वैचारिक र सैद्धान्तिक बनाउन पहल गर्नेछु । गुटबन्दी त जहाँ पनि हुन्छ तर त्यसलाई गुण र दोषको आधारमा मुल्यांकन गर्नुपर्छ । त्यसलाई ब्यबस्थित बनाउन सकिन्छ । मेरो उद्धेश्य यसैमा केन्द्रित हुनेछ । सबैका लागि संगठन हो भन्ने कुरालाई अनुभूत गराउन पहल गर्नेछु ।

५० वर्षको विद्यार्थी राजनीतिको इतिहास र गौरवलाई जोगाउन स्ववियु निर्वाचन गराउने, शिक्षा नीतिलाई स्पष्ट बनाउने, शैक्षिक बेरोजगारीलाई अन्त्य गराउनेतिर मेरो मुख्य ध्यान केन्द्रित हुनेछ । स्ववियु निर्वाचनमा तपाईँहरुको बर्चस्व छ । फेरि निर्वाचन गर्नका लागि किन पहल नगर्नु भएको ?

अनेरास्ववियुले सधैं हार र जीत स्वीकार गर्दै आएको छ । नेपालका ठूला नेता, कर्मचारीतन्त्रका मुख्य मानिसहरु, प्रहरी प्रशासनलगायत निकायमा मुख्य मानिस निर्माण गर्ने संस्थाको रुपमा स्ववियुको इतिहास छ ।

यसलाई सबैको वैधानिक मञ्च हो । धेरै विद्यार्थीहरुको रगत र पसिनासँग जोडिएको छ । त्रिविविमा बाबुराम भट्टराईको छोरीको हार्न सक्ने खतरा र रत्नराज्यमा अनेरास्ववियुले कायम राखेको विरासत जोगाउनका लागि निर्वाचन नभएको हो ।

अब चिर्वाचन गराउन के कुराले रोक्यो त ? मानुषी त त्रिविवि पनि छोडिसकेको अवस्था छ ।
कुनै संगठनले जित्छ वा हार्छ भन्ने अलग कुरा हो । तर या विधि र शासनलाई कायम राख्नका लागि निर्वाचन गर्नुपर्छ । सेक्रिफाइस पनि गर्न सक्नुपर्छ । अखिलले जित्छ या हार्छ फरक कुरा हो । हामीलाई यसमा आपत्ति छैन । निर्वाचन गराउनका लािग विश्व विद्यालय तयार हुनुपर्छ सबैभन्दा पहिले । विश्वविद्यालय भने कांग्रेसको भागबण्डामा परेकोले त्यहाँको निकाय कांग्रेसको नेतृत्वमा छ । त्यहाँका पदाधिकारीहरु विभाजित छन् । त्यति मात्रै होइन्, अख्तियारले पटक पटक पत्र काटेको छ ।

अखिलको अधिवेशन हुँदैछ । अध्यक्षको उम्मेद्वार बन्नका लागि माथिका नेताहरुको समर्थन पाउनुपर्ने चलन पनि देखिएको छ । तपाईंले अध्यक्ष उम्मेद्वार बन्ने टिकट नपाएर नेताहरुले अरु कसैलाई दिन सक्ने सम्भावना पनि त होला नि ?

राजनीतिमा यस्तो कुरा त हुन्छ नै । स्वभाविक रुपमा चुनौतीहरु छन् । म त ६ कक्षादेखि नै पटक पटक निर्वाचनमा भाग लिएर जितेर आएको हुँ । मलाई प्रतिस्पर्धामा उत्रनुमा कुनै समस्या छैन । पार्टी नेतृत्व मेरो विषयमा त्यस्तो नकारात्मक पनि छैन भन्ने कुरा मलाई विश्वास छ । होला कहिले कुनै समुह बलियो वा कहिले कुनै समुह कमजोर हुनसक्छ त्यो स्वभाविक हो ।

अरुले पनि त्यही भनि राखेका छन् । मैले नै टिकट पाउँछु भन्ने दावी गर्दैछन् नि ।
होला । अरुले भन्नुभयो होला । मैले त मेरै कुरा भन्ने हो । फेरि यो त आफ्नो प्रस्तुतीको कारणले नेतृत्व लिने कुरा पनि हो । आफूले काम गरेको कारण । नेतृत्व, लगाव र इतिहासमा संघर्ष वलिदान यी सबै कुराहरुको मुल्यांकन गर्दा मैले नेतृत्व पाउनुपर्छ भन्ने कुरा हो ।

प्रतिष्पर्धीहरु हेर्दा मैले छोड्नै पर्ने कुनै कारण त म देख्दिन । यद्यपि, उहाँहरु पनि दुःख कष्ट गरेर, योगदान गरेर आउनुभएको हो । र नेतृत्वमा यो विषयमा त्यस्तो अन्याय नहोला भन्ने लाग्छ मलाई ।

तपाईंले पार्टी नेतृत्वसँग यो कुरा राखिसक्नुभयो ?

भन्नुपर्छ जस्तो लाग्दैन मलाई । किनकी सबैलाई थाहा भइसकेको कुरा हो यो । नविना लामा को हो भनेर एमाले नेतासँगै अन्य पार्टीका नेताहरुलाई समेत थाहा छ । नेतृत्व दिनुपर्छ भन्ने कुरामा नेतृत्व तह मेरो विषयमा सकारात्मक छ । र यो विश्वासको पनि कुरा हो । मलाई विश्वास छ ।

अहिलेका विद्यार्थीहरुलाई आरोप लाग्छः सैद्धान्तिक अध्ययन नगर्ने, अरुका कुरालाई उचालेर हिँड्ने । कहाँनेत फाइदा हुन्छ भनेर स्वार्थ हेर्ने । यस्ता विद्यार्थी नेताले देशकै नेतृत्व पाए भने कसरी नेतृत्व गर्लान् भन्ने आरोप लाग्ने गर्छ नि ।

यो विद्यार्थी संगठन भनेको गलत गतिविधिबाट मुक्त भएकाहरु नै नेतृत्वमा आउनुपर्छ । पार्टी नेतृत्वले पनि हेर्नुपर्छ । हामी जत्तिको विद्यार्थी नेताले गाडी प्राडो, कार भाडामा लिएर प्रयोग गर्ने, मानिसलाई पैशा दिएर किन्ने सबैभन्दा खराब पक्षहरु हुन् ।

इमान्दार र न्यायप्रेमी मुद्धाभन्दा पनि जसको पैसा र नेतासँग पहुँच छ त्यसैलाई समर्थन गर्ने प्रवृत्ति हुर्केको छ यसबाट मुक्त हुनुपर्छ । यस्तै कुराबाट बदनाम भएको छ । नेताको पछि हिंडिरहने, चाकरी गर्ने तर काम नगर्ने । गुण्डागर्दी गर्ने, प्राविधिक अध्ययनका लागि नाम निकाल्दिन्छु भनेर ठगेर खाने विद्यार्थी संगठनहरुमा प्रवेश भएको छ । अराजकता, गुण्डागर्दी जस्ता गलत गतिविधिले विद्यार्थी राजनीतिमा प्रवेश पाएको छ ।

यसले इमान्दार विद्यार्थी नेताहरुमाथि आशंका उब्जाएको हो । यस्तै कुरालाई अन्त्य गर्नका लागि पनि हामी जस्तो मान्छेको नेतृत्व चाहिन्छ ।

तपाईंले हार्नुपर्ने भयो भने पनि पैसासँग पहुँच नभएका कारण हार्नुपर्छ भन्ने डर हो ? आजको परिस्थितिमा त्यो खालको चिन्ताको विषय बनेको छ ।
त्यसो भयो भने त विद्यार्थी नेताहरु भोलि देशकै नेतृत्वमा पुगे भने त साँच्चिकै भ्रष्ट नेता पो आउने भए त ? राम्रो नेताले राम्रै नेता जन्माउँछ । भ्रष्टले भ्रष्ट नै जन्माउँछ । मलाई लाग्छ हामी इमान्दार नेता नै हौं । भ्रष्ट र चरित्रहीन नेतृत्वले त्यस्तै जालो फिजाएको हुन्छ । हामी देख्न सक्छौं नि, सिङ्गापूर कसरी सिङ्गापूर बन्यो भन्दा त्यहाँको नेतृत्व नै राम्रो थियो । चाइना किन समृद्ध बन्यो भन्दा त्यहाँ राम्रा नेता थिए ।
मूलत नेताको ब्यक्तित्व राम्रो हुनुपर्छ । जस्तै यूरोपमा विश्व युद्ध किन भयो भन्दा त्यहाँ हिटलरजस्ता ब्यक्तिको जन्म भएको थियो । अनेरास्व वियुलाई अनेरास्ववियु बनाउन पनि राम्रो ब्यक्तित्व हुनुपर्छ । हामी जस्ता विद्यार्थी नेतालाई अवसर यही कारणले पनि दिनुपर्छ । तपाईंको पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । देशमा आम नागरिकले यति चरम अभाव भोगिरहेका छन् ।

आफ्नो पार्टीले सरकार नेतृत्व गरिरहेको बेलामा केही बोल्नु पर्दैन ?
होइन । तपाईंले गलत भन्नुभयो । नाकाबन्दीको बेला संयुक्त विद्यार्थीहरुको नेतृत्व गर्दै भारतीय राजदूतावास गयौं । यो र राष्ट्रिय समस्या हो । राजनीतिक समस्या हो । यसलाई राजनीतिक रुपमै समाधान गरिनुपर्छ भन्ने दवाव दिदैं आएका छौं । नाकाबन्दी विरुद्ध मानव साङ्लोमार्फत दवाव दिने काम यौँ ।
नाकाबन्दीकै बेलामा चिनियाँ सिमाना तातोपानी पुगेर अवरोध खोल्न काम ग¥यौं । यो आत्मनिर्भर बन्नुपर्छ भन्ने एउटा अभियान थियो । योसँगै विभिन्न प्रचारमुलक अभियान पनि चलायौं । कुनै विद्यार्थी संगठन वा पार्टीभन्दा पनि सबै विद्यार्थीहरुमाझ यस्ता अभियान चलायौं । हामीलाई कहिले पनि हाम्रो पार्टी सरकारमा छ भन्ने कुराले खासै महत्व राखेको छैन । हो, हाम्रो पार्टी सरकारमा छ भन्ने गर्वको कुरा हो । तर, मेरो सरकारले मेरो लागि के गरिदिएला भन्ने कुरा कहिल्यै पनि महत्व राखेको छैन ।
किनकी, हिजोको कांग्रेसको नेतृत्वको सरकारभन्दा केपी ओली नेतृत्वको सरकारले स्वाभिमानको सवालमा त चुकेको छैन नि । कम्तीमा भारतसँग झुक्ने हो भने त पेट्रोलियम पदार्थ पहिले नै आउँथ्यो । राष्ट्रियता र स्वाभिमानमा यो सरकार चुकेको छैन । भारतको शरणमै परेर, ढोगेर देशको गरिमा गिराउने हो भने त पेट्रोलियम पदार्थलगायत अभाव त हट्छ होला ।
त्यही कारणले भोलि केपी ओली सरकारको नेतृत्वमा नरहने हो कि भन्ने प्रश्न पनि त छ नि ?

राष्ट्रियतालाई नै तिलान्जली दिएर प्रधानमन्त्री बन्नु त राम्रो होइन नि । प्रधानमन्त्री गौण कुरा हो नी । राष्ट्रियतामा आँच आउने कुरा केपी ओलीले गर्नुभएको छैन । राष्ट्रियताको पक्षमा केपी शर्मा ओलीले जति बरु जनताहरुले बोलेका छैनन् ।

अन्त्यमा, तपाईंहरु चुनावको तयारीमा रहेको सन्दर्भमा अरु विद्यार्थीहरुलाई केही भन्नु छ कि ?
यहाँ चुनौतीहरु धेरै जटिल बन्दै गएको छ । छिमेकीको नाकाबन्दीकै कारण शैक्षिक अवस्था अस्तव्यस्त छ । विद्यार्थीहरुले पढ्न पाएका छैनन् । ५० औं हजार विद्यार्थीहरु पढ्न पाएका छैनन् । चिकित्सा अध्ययनका विद्याथीहरुले इन्टर्नसीप गर्न पाएका छैनन् । उनीहरुको भविष्य अझै तीन वर्ष पर पुगेको छ । रिजल्ट हुन सकिरहेको छैन । देशको अर्थतन्त्र दिन प्रतिदिन खस्केको छ । उद्योग धन्दा, कलकारखाना तहसनहस बनेको छ ।
यो विषम परस्थितिमा हामी युवा विद्यार्थीहरु हिजो जुन ढंगले लोकतन्त्र प्राप्तिका लागि एकजुट भएर लाग्यौँ त्यसै गरी अहिले पनि एकजुट बन्नुपर्छ । हामी अभियन्ता बन्नुपर्छ । फुटेर होइन जुटेर लाग्नुपर्छ अब । यसैमा हाम्रो उज्वल भविष्य छ । हाम्रो राष्ट्र रह्यो भने मात्रै हामी रहनेछौँ । यही बीचमा हामीले आन्तरिक लोकतन्त्रलाई पनि सुदृढ पार्नुपर्छ । पार्टी वा संगठनहरु भन्दा पनि राष्ट्र प्रमुख कुरा हो ।

Propellerads
Loading...
loading...