पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं, २ असार ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले शुक्रवार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

निगमका प्रवक्ता सिताराम पोखरेलका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल प्रत्येकको मूल्य प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटाइएको छ ।

नयाँ मूल्य अनुसार हाल १ सय १ रुपैयाँ ५० पैसा रहेको प्रतिलिटर पेट्रोलको मूल्य सय रुपैयाँमा झरेको छ ।

त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि १ रुपैयाँ ५० पैसाले घटेर ७६ रुपैयाँ कायम भएको छ । हालसम्म डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य ७७ रुपैयाँ ५० पैसा छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखिएको छ । भारतबाट आयात हुने पेट्रोलियमको मूल्य घटेसँगै निगमले पनि नेपालमा मूल्य घटाएको हो ।

Loading...