मासिक भत्ता ५ हजार बनाउनुपर्ने भन्दै तातो सडकमा सुते बृद्धहरु

काठमाडौँ, असार ५ ।
सरकारले आफूहरुलाई दिने गरेको सेवा सुविधा बढाउन माग राख्दै मिनभवन यातायात व्यवस्था विभाग अगाडि बृद्ध–बृद्धाहरुले प्रर्दशन गरेका छन्। केही बेर उनीहरुले तातो पिच सडकमै सुतेर विरोध जनाए। स्थानीय निकायको निर्वाचन अगाडि सबै दलहरुले बृद्ध भत्ता तथा अन्य सेवाहरु बढाउने भनेपनि बजेट भाषणमा आफुहरुको हितमा कुनै कार्यक्रम नल्याएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्। जीवनभर देशको लागि रगत पसिना बगाएकाहरुलाई बुढो र शक्तिहीन भएपपछि सरकार र समाजले समेत उपेक्षा गर्ने गरेको उनीहरुको गुनासो छ। आफूहरुलाई सरकारले उचित सेवा सुविधा दिनुपर्ने भन्दै उनीहरु ‘अग्र समाज नेपाल’ नामक संस्था बनाई आन्दोलनमा उत्रिएका हुन्। समाजका सहअध्यक्ष नयन्द्रबहादुर खड्काले सेवा सुविधा नबढाएसम्म आफूहरुको आन्दोलन जारी रहने बताए। भोट माग्न अनेक आश्वासन दिएर घर घरमा आएका राजनीतिक दलहरुले अहिले आन्दोलन थाल्दा कसैले पनि गुनासो नसुनेको उनले बताए। ‘अहिलेको भत्ताले चिया खाजा खान समेत पुग्दैन’ उनले आक्रोश पोखे ‘नेताहरुलाई सानो रोग लाग्दा पनि करोडौं खर्चेर विदेश जानुपर्ने, हामीलाई भने सामान्य औषधिलाई पनि खर्च नपाउने ?’ स्वास्थ्य उपचार तथा भत्ता गरी हाल सरकारले मासिक २ हजार रुपैयाँ प्रदान गर्दै आएको छ।

उनीहरुले भने यो रकम ५ हजार पुर्याउनुपर्ने माग गरेका छन्। ‘पाँच हजार जति भयो भने सामान्य खाजा खर्च र सामान्य औषधिका लागि पुर्याउन सकिन्थ्यो’ खड्काले भने। ‘मनमोहनले सयबाट बृद्ध भत्ता सुरु गरे, केपीले २००० बनाए, अब एमालेले ५००० रुपैंया बनाउँछ’ नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सामाजिक सुरक्षा भत्ता अझै बढाउने उद्घोष गरेका छन् । मेची महाकाली अभियानअन्तर्गत नेपालगञ्जमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको लोकप्रिय सरकारले एक सय रुपैयाँबाट सुरु गरेको वृद्ध भत्तालाई अब बन्ने एमालेको बहुमतको सरकारले ५ हजार पुर्याउने घोषणा गरे । ‘मनमोहन अधिकारीको सरकारले एक सय रुपियाँबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता केपी ओली नेतृत्वको सरकारले दुई हजार बनायो,’ उनले भने– ‘अब एमालेको बहुमतको सरकारले पाँच हजार बनाउनेछ ।’

नेपालमा एमालेले राम्रो काम गर्न खोज्दा सरकारै ढालेर अवरोध गरिएको स्मरण गर्दै गौतमले अगाडि भने– ‘मनमोहन अधिकारीको नेतृत्वको सरकारले राम्रो काम गर्दा नौ महिनामै हटाइयो, माधवकुमार नेपालको सरकारलाई नयाँ नेपाल बनाउने भयो भन्ने डरले हटाइयो, झलनाथ खनालको सरकारलाई सात महिना पनि टिक्न दिइएन, कपी शर्मा ओलीको सरकारलाई नौ महिना पनि काम गर्न दिइएन । अबको चुनावमा जनताले यी सबै कुरा हेरेर बहुमत दिनेछन्, एमालेबाहेक जनताले अरु पार्टीलाई विश्वास गर्ने छैनन् ।

Loading...