नेपालमा व्यवसायिक बाख्रापालनको वर्तमान स्थिति, समस्या एवम् सम्भावनाहरु

व्यवसायिक बाख्रापालन

एशिया र अफ्रिकाका कृषकहरुमा बढी मात्रामा लोकप्रिय रहेको बाख्रापालन व्यवसाय नेपालको सन्दर्भमा पनि प्राचीन कालदेखि नै प्रायः सबै जातजातिका मानिसले गर्दै आएको व्यवसाय हो । यसको मासु खाने प्रचलन पनि सबै जातजाति तथा धार्मिक आस्थाका मानिसहरुको लागि स्वीकार्य रहँदै आएको छ । जातअनुसार तराईको ३०० मिटर उचाईदेखि हिमाली भेकको ४००० मीटर उचाईसम्म प्रायः सबैजसो हावापानीका लागि अनुकूल हुने बाख्रापालन व्यवसाय नेपाली अर्थतन्त्रको सुदृढीकरण, वेरोजगारी तथा गरिवी न्युनिकरण एवं आयआर्जनको एउटा महत्वपूर्ण माध्यमको रुपमा विकास हुन सक्ने व्यवसाय हो ।

स्वदेशमा नै माग बमोजिम खसीबोका उत्पादन हुन नसक्नुले गर्दा यसको मूल्य पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । क्वारेन्टाइन कार्यालयको तथ्याङ्कहरुले जनाएअनुसार मात्रै पनि बर्षेनी भारतबाट करीब ५ लाख खसीबोका नेपालमा भित्रिरहेका छन् । तिब्बतबाट पनि एक–डेढ लाख च्याङ्ग्रा तथा भेडाहरु मासुका लागि नेपाल आइरहेका छन् । नेपालबाट हरेक वर्ष बाहिरिने १६ अर्बभन्दा वढी रकममध्ये अधिकांश हिस्सा खसीबोका (न्यूनतम ५ अरब रुपैयाँ) तथा राँगाभैंसी खरीदका लागि जाने गरेको छ । यसरी हेर्दा हाम्रो आफ्नै मागको करीब ८५ प्रतिशत आपूर्ति मात्र यहाँ देशभित्रैबाट हुने गरेको छ बाँकी माग धान्न खसीबोका आयात गर्नुपर्ने वाध्यता छ । नेपालजस्तो सानो देशवाट आयातित मासु तथा मासुजन्य पशुपंक्षीका लागि यति धेरै रकम विदेश पुग्नुलाई पक्कै पनि स्वाभाविक मान्न सकिन्न ।

बेरोजगारीले सताइएको नेपालजस्तो देशमा देशभित्रै रोजगारीको सिर्जना गर्नसक्ने र उल्लेख्य आम्दानी वृद्धि गर्न सकिने यो व्यवसाय जोकोही नेपालीले पनि साधारण ज्ञान तथा सीपको माध्यमले गर्न सक्ने व्यवसाय पनि हो । मुख्यतः पौष्टिक घाँसमा आधारित भएर आवश्यकताअनुसार केही मात्रामा दाना पनि खुवाई गर्न सकिने पेशा भएको हुनाले यो पेशाको अझ महत्व बढिरहेको देखिन्छ । मासुको उपभोग बढ्दै गएका र हाम्रोजस्तो घाँस विकास गर्न सकिने प्रशस्त बाँझो जमिन र डाँडाकाँडा भएको कृषिप्रधान भनिएको देशमा त बाख्रापालन व्यवसाय अझै बढी सान्दर्भिक देखिन्छ । बाख्राको संख्या बढ्दै गए तापनि सोहीबमोजिम खपत पनि बढ्दै गइरहेकोले यसको मासु अपुग हुन गएको कुरा तलको तथ्याङ्कले पनि देखाउँछ । अहिले नेपालमा करीब ९२ लाखको हाराहारीमा बाख्राहरु रहेको तथ्य कृषि विकास मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

भारतबाट आयातीत खसीबोका संख्या (स्रोतः पशु सेवा विभाग)

खसीको मासुको बढ्दो माग र खसीको तयारी मासुको मूल्यवृद्धि, कुखुरामा समयसमयमा देखापर्ने वर्डफ्लु रोग आदिको संयुक्त प्रभाव यसरी परिरहेको छ कि बाख्रापालन व्यवसायमा भइरहेको लगानी पनि पहिलेको तुलनामा निकै बढिरहेको छ र आउँदा दिनहरुमा अझै बढ्दै जाने देखिन्छ । अहिले नेपालको कुल मासु बजारको करीव २० प्रतिशत हिस्सा खसीबोका तथा बाख्राको मासुले ओगटिरहेको अवस्था छ र यस्को मासुको माग दिन प्रतिदिन बढिरहेको पनि छ । बाख्रापालक कृषक तथा उद्यमीहरुमा पनि पहिलेको तुलनामा बढी व्यवस्थित एवम् वैज्ञानिक तरिकाले खोर निर्माण एवम् व्यवस्थापन गर्ने, दानापानीको व्यवस्थापन गर्ने तथा बजारीकरणका योजनाहरु बनाएर बाख्रापालन गर्ने प्रवृत्ति देखिएको छ । अहिले नेपालीले एक बर्षमा औसतमा १० किलोजति मासु खाने गरेको तथ्याङ्क छ ।

जवकि एकजना वयस्क व्यक्तिले वार्षिक २२ केजी मीट प्रोटिन खानुपर्ने भनी विश्व खाद्य तथा कृषि संगठन (एफएओ)ले सिफारिस गरेको छ । यद्यपि खसीको शारिरीक वृद्धिदर बंगुर तथा कुखुराको तुलनामा ढिलो हुनु, प्रजनन् क्षमता कम हुनु आदि कारणले उत्पादन लागत पनि बढी हुने भएकोले खसीको मासुको उपभोक्ता मूल्य बढी हुन गएको छ र यस व्यवसायमा एकप्रकारको स्पीडब्रेकरको सिर्जना गरिरहेको छ । तैपनि व्यवस्थित तवरले बाख्रापालन गरी उत्पादन लागत कम गर्न सकिन्छ र सफल कृषक तथा व्यवसायीहरुले गरिरहनुभएको पनि छ । देशको कूल मासु खपतमा बिभिन्न जातका पशुपंक्षीको योगदानका निम्नलिखित तथ्याङ्कहरुलाई हेर्दा बजारको दृष्टिकोणले हेर्दा नेपालमा मासुको लागि पालिने अन्य पशुपंक्षीको तुलनामा बाख्रापालनको भविष्य सबैभन्दा सुरक्षित देखिन्छ ।

हिमाली क्षेत्रमा सामान ढुवानीको निम्ति समेत बाख्राहरुको प्रयोग हुने गर्छ र यसको जुतो, छाला एवम् रौं (पश्मिना)लाई पनि अर्को सहउत्पादनको रुपमा लिन सकिन्छ । च्याङ्ग्राबाट जाडो महिनामा उत्पादन हुने पश्मिनाबाट बनेका विभिन्न कपडाहरु निकै राम्रो मूल्यमा निर्यात हुँदै आइरहेका पनि छन् । हाम्रो देशमा बाख्रा खासगरी मासुको लागि पालिने भए तापनि यसलाई दूधको लागि पनि पाल्न सकिने प्रशस्त सम्भावना छ किनकि गाईभैंसीको दूधबाट एलर्जी हुने र पचाउन नसक्ने कतिपय मानिस र बालकले पनि बाख्राको दूध सहजै पचाउन सक्छन् । त्यस्का साथै बाख्राको दूधलाई कमलपित्त र क्षयरोगजस्ता रोगका रोगीको लागि समेत उपयोगी हुने कुरा विभिन्न लेखहरुमा पढ्न पाइन्छ । अन्य पशुको दूधको तुलनामा क्षयरोगको जिवाणु बाख्राको दूधमा त्यति फस्टाउन नसक्ने र फ्याटको मात्रा कम हुनाले पनि यसको उपयोगिता त्यसरी बढेको हो । यी विविध कारणले गर्दा बाख्रापालन व्यवसायलाई एउटा प्रवद्र्धनयोग्य व्यवसायको रुपमा सरकारी तथा गैरसरकारी निकायहरुले स्वीकार गर्दै आइरहेका छन् ।

नेपालमा विविध पशुपंक्षीको मासु खपतको स्थितिः

पशुपंक्षीको प्रकार मासु उत्पादन (मे. टन ) प्रतिशत हिस्सा
राँगा, भैंसी १६७८६८ ६०.४
खसी, बोका, बाख्रा ५२८०९ १९.०२
बंगुर १७९२३ ६.४५
कुखुरा ३६०८५ १२.९
हाँस २१८ ०.०७
भेंडा २७२२ ०.९८
जम्मा २७७६२५ १००
बाख्रापालन व्यवसायका विशेषताहरुः

यो व्यवसाय शुरु गर्न ठूलो प्राविधिक सीप वा दक्षता र ठूलो लगानी आवश्यक पर्दैन र क्रमशः वर्षेनी लगानी विस्तार तथा व्यवसाय पनि विस्तार गर्दै जान सकिन्छ । उदाहरणको लागि शुरुमा थोरै माउ बाख्रा किनेर व्यवसायिक बाख्रा फार्मको शुरुवात गर्न सकिन्छ । लगानीसम्वन्धी विस्तृत विवरण यसै पुस्तकमा रहेको बाख्रापालन परियोजनामा हेर्नुहोला ।
स्थानीय बाख्राको तुलनामा वोयर तथा क्रस बाख्राको शारीरिक वृद्धिद्धर चाँडो हुने भएकोले बढी प्रतिफल दिने भए तापनि खरीबाख्राको तुलनामा अन्य बाख्राको प्रजनन् क्षमता कम हुने भएकोले माउ बाख्रा स्थानीय भए पनि प्रजनन्को लागि पालिने बोका बोयर या अन्य ठूलो जातको भएमा तुलनात्मक रुपले बढी मासु उत्पादन गर्न सकिन्छ । तर नाता नपर्ने गरी स्थानीय बाख्राबाटै छानिएका बाख्रामा छनौट तथा प्रजनन् मिलाउन सकेको खण्डमा पनि बाख्रापालन व्यवसायबाट बढी फाइदा लिन सकिन्छ ।
समाजमा एकथरी मानिसहरु जहिले पनि खसीबोकाकै मासुलाई प्राथमिकता दिने खालका भएकोले र खसीबोकामा कुखुराहरुको जस्तो अन्धधुन्ध एन्टिवायोटिकहरुको प्रयोग नहुने भएकोले पनि खसीबोकाको बजार कहिल्यै घट्ने देखिँदैन ।
बाख्रापालन निकै कम जोखिम र निकै सुरक्षित बजार भएको व्यवसाय हो । बाख्राफार्ममा आजसम्म कुखुरा तथा बंगुर र गाइभैंसीका फार्ममा गरिने लगानीको तुलनामा कमै मात्र लगानी गरिएको छ र लगानीको प्रशस्त सम्भावना छ । सानो स्केलमा पाल्ने हो भने यसमा अन्य पशुपंक्षीको तुलनामा थोरै मात्रै लगानी गरे पनि पुग्छ ।
व्यवसायिक बाख्रापालनमा देखापरेका केही समस्याहरुः

प्रशस्त मात्रामा उन्नत र पौष्टिक घाँसको विकास गर्न नसक्नु ।
कामदारको अभाव हुनु र बाख्रापालन फार्ममा काम गर्नुलाई गोठालो ठान्नु वा प्रतिष्ठासँग जोडेर हेर्ने प्रवृत्ति अझै व्याप्त हुनु ।
बोयर तथा अन्य उन्नत बोकाहरुको उपलब्धता सहज रुपमा नहुनु ।
अझै पनि धेरै हदसम्म चराएर पाल्ने प्रवृत्ति हुनु र बाख्रापालनमा स्टल फिडिङ गरी पाल्ने गरी ठूलो लगानी भित्रिन नसक्नु ।
बेलाबेलामा पिपिआरजस्ता महामारी रोग देखापर्नु र मृत्युदर बढाउनु ।
उत्पादन लागत धेरै हुँदा मासुको उपभोग्य मूल्य अरु पशुपंक्षीको भन्दा महँगो हुन जानु ।
राम्रोसँग आफ्नो वस्तुगत परिस्थितिको अध्ययन नै नगरी यस व्यवसायमा हामफाल्नु र फुर्सदमा पछुताउनु पनि आजकल यस क्षेत्रको समस्याको रुपमा देखापर्न थालेको छ ।
यसरी बाख्रापालनका माथि उल्लेखित समस्याहरु समाधान नै गर्न नसकिने खालका छैनन् । यसको अर्थ यस व्यवसायमा लगानी भएको खण्डमा स्वदेशमा नै रोजगारी सिर्जना हुनुको साथै भविष्यमा व्यवसायिक बाख्रापालनमार्फत् मासुको लागि आयात गरिने ठूलो संख्याको परिमाणलाई प्रतिस्थापन गर्दै छिमेकी भारत र चीनबाट भित्रिने खसीबोका तथा च्याङ्ग्रालाई न्युनिकरण गरी यसलाई निर्यातमुखी समेत बनाउन सकिने सम्भावना विद्यमान छ ।

के भन्छन् सफल व्यवसायी ?

कास्की जिल्लाको मौजा गाविस वार्ड नं ४, स्थित आँटीघर भन्ने ठाउँका अगुवा कृषक दुर्गाबहादुर गुरुङ हाल व्यवसायिक बाख्रापालनका कारण चर्चामा हुनुहुन्छ । उहाँको फार्म संख्यात्मक हिसावले सानो अवश्य छ तर उहाँले गरेको बाख्रापालन व्यवसाय अन्य धेरै फार्महरुको तुलनामा नाफामूलक र व्यवस्थित छ । विगत ४ वर्षअगाडि ५–७ गोटा माउ बाख्राबाट व्यवसाय शुरु गर्नुभएका उहाँसँग हाल सानाठूला गरी करीव १०० बाख्रा छन् भने माउको संख्या ५० जति छ । उहाँसँग भएका बाख्राहरुमा धेरैजसो स्थानीय छन् भने सानन, जमुनापारी तथा सिन्हाल जातका बाख्राहरुसँग स्थानीयको क्रस गराई जन्मेका बाख्राहरु पनि छन् ।

घघम बाख्रा फार्म को नाममा आफ्नो व्यवसाय चलाइरहनुभएका उहाँले बाख्रालाई चरन, घाँस (काटेर खुवाउने) तथा दाना पनि आवश्यकताअनुसार खुवाउने गर्नुहुन्छ । खासगरी खसी, बोका र हुर्कंदा पाठापाठीहरुलाई घाँसमात्रै खुवाउँदा भन्दा दानामा पनि जोड दिनुपर्ने उहाँको तर्क छ । उस्थानीय सामाग्रीहरुको सन्तुलित दाना मिलमा लगेर बनाउने उहाँ घाँस र दानाको सन्तुलन मिलाएर खुवाउनुहुन्छ । घाँसको हकमा राई, खन्यु, दुधिलो, बेडुलो, निभारो, नेपियर, ज्वाईन्ट भेच, किम्बु तथा इपिलइपिल लगायतका घाँसेवालीहरु उहाँको वारीमा प्रशस्त मात्रामा देख्न सकिन्छ । उहाँका बाख्राको फार्म अनुगमनको क्रममा उमेरअनुसारको शारीरिक वृद्धिद्धर निकै राम्रो रहेको पाइएको कुरा जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत शम्भुराज पाण्डे बताउनु हुन्छ ।

उहाँलाई जिल्ला पशु सेवा कार्यालय कास्की तथा क्षेत्रीय पशु सेवा तालीम केन्द्र, पोखराले पनि अगुवा कृषकको रुपमा बोलाएर अन्य कृषकहरुसँग अन्तक्र्रिया गर्न तथा परामर्श दिन निम्त्याउने गरेको छ । उहाँले खसीबोकाको जिवित तौल रु ३८० को दरले तथा जिवित बाख्राको तौलको हकमा रु २५० को दरले बिक्री गरिरहनुभएको छ । बाख्रा तथा तरकारी खेतीबाट पनि मनग्गे आम्दानी गरिरहनुभएकोले उहाँलाई रोजगारीको लागि विदेश जानुपर्ने आवश्यकता नै महशुस भएको छैन । बरु यसको विपरीत अन्य कृषकहरुको लागि पनि उहाँ प्रेरणाको स्रोत बनिरहनुभएको छ । १०० जति माउ बाख्रा राख्ने हो भने महिनामै १ लाख जति कमाइ गर्न सकिने रहेछ भन्ने विश्वासका कारण उहाँ अब त्यस योजनामा हुनुहुन्छ । चिसो ठाउँको घाँस खाएको बाख्रा भएको हुनाले भारतबाट आयातित बाख्राभन्दा उहाँको फार्मको खसीबोकाको माग बजारमा अत्याधिक छ ।

मासुको उपभोग पनि दिन प्रतिदिन बढिरहेकोले बजारको समस्या पनि कहिल्यै भोग्नु नपरेको कुरा बताउनुहुन्छ । विगतमा कहिलेकाहीँ चितुवाको समस्या धेरै भोग्नुपरेकोमा चिन्तित हुनुपरे पनि हाल सो समस्या निकै कम रहेको कुरा पनि उहाँले बताउनुभयो । व्यवसायिक बाख्रापालनमा सफलता पाउन आफँै खटिनुपर्ने र आफैँले खटिएर काम गर्न नसके पनि व्यवसायलाई प्रत्यक्ष रेखदेखमा राख्नुपर्ने उहाँको स्वीकारोक्ति रहेको छ । यसका साथै उन्नत घाँसखेतीमा पनि उहाँ उत्तिकै जोड दिन चाहनुहुन्छ । उहाँको फार्मको भावी योजनाको सफल कार्यान्वयनको लागि हामी पनि अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं ।

निष्कर्षः
नेपालमा पछिल्लो समयमा आएर बाख्रापालन व्यवसाय अँगाल्ने मानिसहरुको संख्या निकै बढिरहेको देखिन्छ । एकातर्फ नयाँ नयाँ व्यवसायीहरुको यस क्षेत्रमा आकर्षण बढिरहेको छ भने अर्कोतर्फ उचित व्यवस्थापन मिलाएर पाल्न नसक्दा यस पेशावाट विस्थापित हुँदै जानेहरुको संख्या पनि उत्तिकै छ । त्यसैले व्यवसायिक रुपमा बाख्रापालन व्यवसायको शुरुवात गर्नुभन्दा पहिले यस सम्बन्धी ज्ञान हासिल गर्नु र व्यवहारिक रुपमा व्यवसायिक र नाफामूलक बाख्रापालन व्यवसाय गर्न के गर्नुपर्दोरहेछ भन्ने कुरा थाहा पाउनु नितान्त जरुरी हुन जान्छ । अतः यस कुरालाई आत्मसात गर्नु जरुरी छ कि नेपालको हकमा पशुपंक्षीपालनमध्ये बाख्रापालन एउटा यस्तो व्यवसाय हो जसको लागि आगामि कैयन् वर्षसम्म बजारको विल्कुलै अभाव हुने देखिँदैन ।

Loading...