म्याग्दीका अगुवा कृषक – ‘हरित क्रान्ति’तर्फ अग्रसर

म्याग्दी ।
म्याग्दीको घार ५ का ६५ वर्षिय रामचन्द्र बरुवालले तरकारी खेती सुरु गर्दा न गाउँमा तरकारी किनेर खाने चलन थियो, नत व्यवसायिक तरकारी खेती । तरकारी लगाएपनि घरायसी उपभोग, छिमेकी र आफन्तलाई कोशेली दिने मात्र चलन थियो ।

२१ वर्षअघि मुस्ताङमा सरकारी जागीर छाडेर तरकारी खेती गर्न घर फर्कीएका थिए बरुवाल । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सञ्चालन गरेको कृषि तालीममा सहभागि भएपछि वि.स २०५१ मा उनले सो क्षेत्रमै पहिलो पटक तरकारीका बिरुवा उत्पादन गर्न थालेका थिए ।

‘तरकारी पनि किनेर खान्छन र भनेर प्रश्न गर्थे ?’ बरुवाल सम्झन्छन् ‘ताजा तरकारी नबिक्ने भएकाले जिविकोपार्जनका लागि करेसाबारीमा लगाउने तरकारीका बेर्ना उत्पादन गरेर बेच्थे ।’ तर अहिले बरुवालका दिन फिरेका छन् । फोनमै तरकारीको ‘अर्डर’ आउँछ । बारीबाटै तरकारी बिक्री हुन्छ ।

‘पहिला तरकारी खेती गर्ने र बेच्ने चलन थिएन्’ म्याग्दी जिल्लाका अगुवा कृषकहरु मध्यमा पर्ने बरुवाल भन्छन् ‘अहिले गाउँ गाउँमा तरकारी खेतीको लहरनै चलेको छ ।’ घारको पैयुपाटा स्थित ११ रोपनी पुख्यौली खेतमा चार वर्षअघि व्यावसायिक तरकारी खेती सुरु गरेका बरुवालले बार्षिक सात लाख रुपैयाँ बराबरको तरकारी विक्री गर्दछन् ।

मौसमी रुपमा अन्य पाँच जनालाई रोजगारी दिएका बरुवालले खर्च कटाएर वार्षिक चार लाख बचत हुने बताए । तरकारी बेचेको आम्दानीले घरजग्गा किन्दा लागेको ऋण तिरेका बरुवालले खेती विस्तार गरेर मासिक एक लाख सम्म आम्दानी गर्ने लक्ष्य वरुवालको छ ।

“लाहुरे”को जिल्लाको रुपमा चिनीने म्याग्दीमा केही वर्षअघिसम्म व्यवसायिक तरकारी खेती गरेका कृषक भेटाउन मुस्कील हुन्थ्यो । देशमा द्धन्द्धको अन्त्य भई शान्ति प्रक्रिया सुरु भएपछि व्यवसायिक तरकारी खेतीको लहर चलेको म्याग्दीमा मेहनत गर्न सकेमा आफ्नै गाउँठाउँमा आयआर्जनको सम्भावना रहेको उदाहरण प्रस्तुत गर्न सफल धेरै कृषक भेटिन थालेका छन् ।
जसको नमुनाको रुपमा लिन सकिन्छ बेनी नगरपालीका १ रत्नेचौरका ४५ वर्षिय निरबहादुर थापालाई । गैरसरकारी संस्था धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र (डिसीआरडीसी) मा दश वर्षसम्म कर्मचारीको रुपमा काम गरेका थापा जागीरबाट भन्दा तरकारी खेतीको कमाईबाट सन्तुष्ट छन् ।

बेनी–बागलुङ सडकको छेउमा रत्नेचौर गाउँभन्दा तल्तीर वि.स २०६८ मा ६ रोपनी जमिन भाडामा लिएर तरकारी खेती गरेका थापाले गत फागुन महिनामा एक लाख १२ हजार रुपैयाँको गोलभेडा विक्री गरे । ‘एक दिन ४७७ किलोग्राम टमाटर बेचेर १८ हजार ४७७ रुपैयाँ आम्दानी भयो’ खुसी व्यक्त गर्दै थापाले भने ‘नासु सरहका कर्मचारीले महिनामा पाउने तलब बराबरको कमाई एकै दिन हुँदाको क्षण निकै आनन्दको अनुभुती गरे ।’

छ रोपनी जमिनमा गोलभेडाको साथै प्याज लगायतका तरकारी लगाएका थापाले गत कात्तिकमा प्रतिकिलो एक सय रुपैयाँका दरले काउली बेचेर १३ हजार ४०० सय आम्दानी गरेको बताउँछन् । बजारको माग अनुसारको मौसमी बेमौसमी तरकारी खेती गर्ने थापाले आफू स्वरोजगार बनेका मात्र छैनन अरु तिन जनालाई रोजगारी पनि दिएका छन् । “आफन्त र छिमेकीले बिदेश जान सल्लाह दिएपनि आफ्नै ठाउँको माटोमा परिश्रम गर्ने अठोटका साथ तरकारी खेती गरेको हुँ” थापाले भने “मेहनत गर्न सके हाम्रै देशमा धेरै संम्भावनाहरू छन् ।”
चार वर्ष साउदीमा काम गरेर घर फर्कीएका बेनी नगरपालीका १ रत्नेचौरका ५२ वर्षिय चन्द्रबहादुर महतलाई तरकारी खेती गरेपछि आम्दानीका लागि अरु बाटो रोज्नु परेको छैन् । वि.स २०५५ सालदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका चन्द्रबहादुर र उनकी श्रीमती कृष्णकुमारी महतले जिवनस्तर सुधारमात्र नभई नाम र दाम कमाउन सफल भएका छन्, तरकारीबाटै । महत दम्पत्तीले एकै महिनामा डेढ लाख रुपैयाँ सम्मको तरकारी बिक्री गर्छन् ।

दुई जना मजदुरलाई ज्याला र अन्य खर्च कटाएर मासीक ४५ देखि ५० हजार रुपैयाँ सम्म बचत हुने गरेको कृषक कृष्णकुमारीले बताइन । तरकारी खेतीबाट उनिहरुले तिन छोराछोरीलाई पढाउने र घरखर्च चलाएर बचत पनि गरेका छन् । स्वदेशमै रहेर तरकारीबाट ‘हरित क्रान्ति’ गरेका घारका रामचन्द्र, रत्नेचौरका निरबहादुर र महत दम्पत्ती जस्तै पौरखी र मेहनती कृषकको सफलताले पैसाका लागि बिदेशमा पुगेका युवाहरुलाई पनि यसतर्फ आकर्षित गरेको छ ।

ताकम गाविस ५ का ३७ वर्षिय धनबहादुर पौडेल टनेलभित्र लगाएको गोलभेडा र तरकारी बिक्री गरेरै मालामाल बनेका छन् । छ वर्ष भारत, चार वर्ष साउदी र तिन महिना बहराईनमा काम गरेर गाउँ फर्कीएका पौडेलले दरवाङ २ ढाँडखर्कमा पाँच रोपनी जग्गा भाडामा लिएर गोलभेडा, बन्दा, काउली, सिमी, साग लगायत जातका तरकारी खेती गरेका छन् ।

तरकारी बेचेर वार्षिक तिन लाख ५० हजार रुपैयाँ आम्दानी गर्न सफल पौडेल बिदेशमा आठ÷दश हजार रुपैयाँका लागि अरुको अधिनमा रहेर, शोषण सहेर दुख गर्नुभन्दा आफ्नै गाउँठाउँमा परिवारसंगै रमाएर तरकारी खेती गर्दा धेरै सुख, आम्दानी र सन्तोष मिलेको अनुभव सुनाउछन् । सडकसंगै बजार विस्तार, छिटो आम्दानी गर्न सकिने, स्वरोजगारको अवसर, सरकारी तथा गैरसरकारी संघ संस्थाले सञ्चालन गर्ने तालीम र अनुदानका कार्यक्रमले म्याग्दीका कृषकहरु व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।
खेती विस्तार र उत्पादन वृद्धी हुदै गएकाले जिल्ला तरकारीमा आत्मनिर्भर उन्मुख बनेको छ । कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार म्याग्दीमा वार्षिक १३ हजार मेट्रिक्टन तरकारी खपत हुन्छ । पछिल्लो समय आन्तरीक उत्पादन वृद्धी भएपछि आयात घट्दै गएको बेनी क्याम्पस चोकका तरकारी व्यवसायी कृष्णप्रसाद सुवेदी बताउछन् । उनका अनुसार म्याग्दीको तरकारी बजार केही वर्षअघिसम्म बागलुङ, चितवन, धादीङ सहित तराईका जिल्ला र भारतबाट तरकारीमा निर्भर थियो ।

पछिल्लो समय म्याग्दीको साथै पर्वतको धाईरीङ, मल्लाज र शालीजाका कृषकले स्थानीय तरकारी बजार धानेका छन् । गत आर्थिक वर्ष २०७१७२ मा म्याग्दीमा १० हजार ६१२ मेट्रिक्टन तरकारी उत्पादन भएको थियो । हाल जिल्लामा ९८१ हेक्टर क्षेत्रफलमा व्यवसायिक तरकारी खेती भएको छ । आर्थिक वर्ष २०६८६९मा ८२९ हेक्टरमा भएको खेतीबाट आठ हजार ५९४ मेट्रिक्टन उत्पादन भएको थियो ।DSC07857
पछिल्ला चार वर्षमा डेढ सय हेक्टरमा खेती विस्तार र दुई हजार मेट्रिक्टन भन्दा बढी उत्पादन बढेको कृषि विकास कार्यालयका योजना अधिकृत ज्योती क्षेत्रीले जानकारी दिइन । नाकाबन्दी, मधेश आन्दोलन र ईन्धन अभावमा ढुवानीको समस्याले भारत तथा देशका अन्य जिल्लाबाट आयात हुन नसकेपनि अभाव नदेखिनुले पनि म्याग्दी तरकारीमा आत्मनिर्भर बन्दै गएको तथ्यलाई पुष्टी गरेको छ ।

अर्कोतर्फ म्याग्दीबाट वार्षिक २५ करोड रुपैयाँ मुल्य बराबरको आलु र तरकारी बागलुङ, पर्वत र पोखरामा निर्यात हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्क छ । छिटो प्रतिफल प्राप्त हुने तरकारी खेती विस्तारका लागि युवा लक्षित जस्ता अनुदानका कार्यक्रम सञ्चालन गरेको बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए । प्राबिधिक तालीमका साथै कृषक समूहलाई अनुदानमा पलास्टीक टनेल, विउ वितरण जस्ता कार्यक्रमहरु पनि सञ्चालन भएको छ ।

रत्नेचौर, ज्यामरुककोट, घतान, सिंगा, बाबियाचौर, पात्लेखेत, पिप्ले, दरवाङ, अर्मन, ताकम, बिम, राम्चे, हिस्तान, बेग, भुरुङ तातोपानी, शिख, घार, नारच्याङ, दाना लगायतका स्थल तरकारी खेतीका लागि पकेट क्षेत्रको रुपमा विकास भएका छन् । पहिले घरमा उपभोग गर्ने तरकारी किन्ने कृषकहरु अहिले आफै बेचेर नगद आम्दानी गर्छन् ।

आयआर्जन र रोजगारीको अवसर सिर्जना हुनुका साथै जिल्लाको आर्थिक विकासमा पनि सघाउ पुग्ने सम्भावना रहेको तरकारी खेतीमा विभिन्न किसीमका चुनौतीहरु पनि देखिएका छन् । कृषकहरुका अनुसार एकताको कमी, बजार मूल्य नपाउने, यातायातको सुबिधा अभावमा ढुवानीको समस्या, मजदुर नपाउने र बैंक तथा बित्तिय संस्थाले प्रवाह गर्ने कृषि कर्जा प्राप्त गर्न अपनाउनुपर्ने झञ्झटीलो प्रक्रिया तरकारी खेतीमा देखिएको चुनौती हो ।DSC08969
यसैगरी कृषि प्राबिधिकको कमी, कृषकको सुबिधाका लागि निर्माण भएका संकलन केन्द्रहरु उपयोगमा नआउनु, तालीम तथा गोष्ठिमा सदरमुकाम आसपासका कृषकहरुको बढी पहुच हुनु र अनुदानमा पहुचवाला कृषकको बोलवाला रहनुले पनि नगरपालीका बाहिरको क्षेत्रमा तरकारी खेती विस्तारका लागि समस्या देखिएको छ । कृषि उपज संकलन केन्द्रहरुको उपयोग गर्ने, हाटबजारको ब्यवस्थीत सञ्चालन गर्ने, तरकारीको मूल्यमा एकरुपता ल्याउने, जिल्ला बाहीरको बजार खोजी गर्ने, ढुवानीको समस्या समाधान र कृषकलाई सहज, सरल तथा छिटो छरितो कृषि कर्जा र प्राबिधिक सेवा उपलब्ध गराउन आवश्यक देखिन्छ । नवविकल्प साप्ताहिकको अंक २७ मा प्रकाशित

Loading...