आज नेपाल र ताजकिस्तान भिड्दै : कम्तीमा बराबरी खेल्ने नेपालको रणनीति

काठमाडौं, भदौ २० ।
एसिया कप छनौटअन्तर्गत नेपालले आज ताजकिस्तानको सामना गर्दैछ । आफ्नै घरमा हुन लागेको यो खेलमा नेपालले कम्तीमा बराबरी गर्ने र एसियन कपमा छनौटको सम्भावना कायमै राख्ने रणनीति अख्तियार गरेको छ ।

यद्यपि, कम्तीमा बराबरी र जित्ने प्रयाससहित मैदान उत्रिने यही खेलले नेपालको एपिसयन कपको यात्रालाई धेरै हदसम्म निर्भर गर्नेछ । एएफसी एसियन कप–२०१९ को छनौट चरणअन्तर्गत आज नेपाल र ताजकिस्तान भिड्न लागेका हुन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

सोमबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजीले भनेका छन्, ‘हामी खेल जित्न खेल्छौं । त्यो नभए १ अंक जोड्ने प्रयास हुनेछ ।’

एसियन कप छनौटको सम्भावना कायमै राख्न आजको खेल महत्त्वपूर्ण भएको बताउँदै उनले भनेका छन्, ‘मैले ताजकिस्तानको खेल हेरेको छु । र, उनीहरूको प्रदर्शनको विश्लेषण गरेको छु । तसर्थ, उनीहरूको खेलअनुसार हामी रणनीति बनाउँछौं ।’

कोजीले झन्डै डेढ वर्षदेखि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्दै आएका छन् ।

यता, ताजकिस्तान टिमका प्रशिक्षक फुजाइलोभ खाकिमले नेपालसँगको खेल निकै चुनौतीपूर्ण हुने बताएका छन् । त्यसमा नेपालको घरमा आफूहरूलाई खेल्न मनोवैज्ञानिक रूपमा पनि दबाब रहने उनको भनाइ थियो । ताजकिस्तानले यसअघिका दुवै खेल गुमाइसकेको छ ।

Loading...