के हाम्रो बुद्धि घुच्चुकमै छ ?

लीना खड्का
झण्डै २० वर्षअघि एउटा ‘कर्कश ध्वनी’ ठोक्किएको थियो मेरा कलिला कानमा । हजुरबा मुर्मुर्रिएर भन्दै हुनुहुन्थ्यो, ‘यही भएर हो, तिमी आइमाईहरुको बुद्धि घुच्चुकमा छ भनेको ।’ हजुरबाको त्यो बोलीमा हजुरआमा चुप बस्नु भएको थियो ।

म राम्ररी बुझ्दिनथेँ, के भन्न खोजेको ? जे होस्, हजुरआमाले केही गल्ती गर्नुभयो र हजुरबा रिसाउनु भयो भन्नेसम्म अनुमान लगाएको थिएँ ।

आज म त्यस्ता कुरा बुझ्ने भएकी छु । हरेक क्षेत्रमा महिलाले भोग्नु परेको पीडा महसुस गरेकी छु । तर, के हाम्रा पीडा सबै पुरुषले थुपारिदिएका छन् त ? मलाई आजकाल यो प्रश्नले हरबार सताउँछ । म पुरुषहरुमाथि मात्रै होइन, मैमाथि (अर्थात् महिलामाथि) प्रश्न गर्छु आजकाल । म मान्दछु, पुरुषप्रधान देशमा महिलामाथि ‘कथित पुरुषत्व’ लादिएको छ । तर म मान्दिन, एउटी महिलाले अर्की महिलामाथि ‘कथित नारित्व’ लादेकी छैन ।

आज म केही थान उदाहरणसहित उपस्थित भएकी छु । मैले भोगेका या देखेका सबै उदाहरण देशकै ‘एडभान्स शहर’ भनिने काठमाडौं भित्रैका छन् । एलिट महिलाहरु बस्ने यो शहरको यथार्थ कथा कोर्दै गर्दा सबैभन्दा पहिले म आफैँप्रति धिक्कार मान्छु र तपाईं जो–जोसँग कथा मेल खान्छ ‘म–म’ भनिदिए आभारी हुनेछु ।

०००
ललितपुरको इमाडोल मेरो घर । काखे छोरी घरमै आमाको जिम्मामा छाडेर हरेक दिन अफिस धाउनु मेरो बाध्यता । इमाडोलबाट लगनखेल र लगनखेलबाट कोटेश्वर मेरो यात्राको दैनिक रुट । अघिल्लो मंगलबार बिहान ८ः३० बजेतिर इमाडोलबाट गाडी चढेँ । अफिस समय भएकाले बस खचाखच थियो । भीड छिचोल्दै केही पछाडितिर गएर ‘चमेरे’ सिटमा झुण्डिएँ ।

गाडी दुई सय मिटर पुगेपछि एउटी महिला चढिन्, काखमा थियो ३–४ महिनाको बच्चा । उनलाई पक्कै गाह्रो थियो । कसैले सहयोग गर्छ कि भनेर यताउता हेरिन् । तर, कसैको मन पग्लिएन । महिलाका लागि तोकिएका अगाडिका चार सिटमा जवान केटीहरु बसेका थिए । उनीहरुले बच्चाकी आमाको पीडा देखे, तर तत्काल देखेको नदेखेझैं गरेर अर्कोतिर मुन्टो बटारे । थुक्क ! मनमनै मैले ती केटीहरुलाई धिक्कारेँ । केहीबेरपछि तीन सिट पछाडि बसेका एकजना दाईले ती महिलालाई बोलाएर सिट छाडिदिए । अब, मलाई झन् ग्लानी भयो, महिलाको पीडाले नपोल्ने महिलाकै मन देखेर ।

दिनभर मेरो मनमा त्यही कुरा खेलिरह्यो । हामी महिलाले संवेदनशिल प्राणीको नाममा विशेष आरक्षण सिट खोज्यौं । राज्यले दियो । तर, हामीले संवेदनशिलता बुझ्न सकेनौं । हामी महिलामध्ये पनि को बढी संवेदनशिल भन्ने सोच्न सकेको खै ? बच्चा बोकेकी आमाको लागि सिट छाडिदिएर जवान युवतीहरु उभिँदा के गुम्छ ? हामी संवेदनशिलताको नाममा आरक्षण खोज्ने अनि फेरि महिला भित्रैको संवेदनशिलता नबुझ्ने ?

०००
अर्को घटना– अघिल्लो शनिबार स्वयम्भू घुम्न जाने योजनासहित सातदोबाटोबाट गाडी चढियो । म परिवारसँग थिएँ । पाँच सिट पछाडि हामी बसेका थियौं । सानेपाबाट बुढी आमै हातमा डो¥याउँदै एउटी जवान केटी चढिन् । सिट सबै प्याक थियो । जेष्ठ नागरिकका लागि छुट्याइएका दुवै सिटमा एक जोडी बुढाबुढी पहिल्यै बसिसकेका थिए । महिला सिटमा केही अधबैंशे र केही युवती थिए । ती आमैका लागि सिट कसैले छाडेनन् । देब्रेपट्टिको दोस्रो सिटमा दुई जना केटाहरु थिए । छेउको सिटमा बसेका भाइले आमैलाई ठाउँ छाडिदिए । आमैको मन फुरुङ्ग भयो । ती भाई थोरै पछाडि उभिए । आमैसँगै रहेकी युवती सिटको आडैमा ढेसिएर बसिन् ।

बल्खु पुगेपछि झ्यालपट्टि सिटमा रहका अर्का व्यक्ति झरे । अनि, आमासँगै आएकी युवतीले त्यो सिट ओगटिन् । त्यो दृश्यले मेरो मनमा बेचैन भयो । ती जवान युवतीको ‘मोटा बुद्धि’प्रति घृणा पैदा भयो ।

आखिर तिनै भाइले उसकी बुढी आमैलाई सिट छाडिदिए । पछाडि उनी उभिरहेका छन् । तर, अर्को सिट खाली भएपछि युवतीले उनलाई ‘तपाईं बस्नुस्’ भन्नु पर्दैन ? एउटा जवान पुरुषले राखेजस्तै मन एउटी जवान युवतीले किन राख्न सक्दिन ? दुःखमा दिएको सहयोगको तत्काल अपमान गर्ने ती युवतीको दिमाग देख्दा महिलाको नाममा मलाई ग्लानी भयो ।

०००
हिजोमात्रै लगनखेलबाट कोटेश्वरको यात्रामा थिएँ । अगाडिको महिला सिटमा एउटी बुढी आमै र बुढा बा थिए । सायद, लोग्ने–स्वास्नी थिए होलान् । म दोस्रो खाली सिटमा गएर बसेँ । केहीबेरमै एउटी ३०–३२ वर्षकी ढोकाबाट उक्लिइन् । रंगिन कपालमाथि टाउकोमा अडिएको रेबन गगल, सितारा भरिएको टफसँग चुज जिन्स, पेन्सिल हिल, गेटअपले उनको ‘हाईप्रोफाइल’ दर्शाइरहेको थियो । तर, सिट नियाल्दै ढोकाबाट उक्लिएकी उनको मुखबाट कर्कश ध्वानी निस्कियो, ‘यो महिला सिट हो भन्ने थाहा छैन ?’

बिचरा बा, सकिनसकि उठे । मैले तुरुन्तै हात समाएर मेरो सिटतिर डोहो¥याएँ र बसाएँ । ती छुद्र महिलाको व्यवहारप्रति गाडीमा कसैले आवाज निकालेन । मैले पनि त्यो भिडमा बोल्न निको मानिन । तर, मेरो मन निकै निराश भयो ।

एउटा वृद्ध व्यक्ति जो अक्षर चिन्दैनन्, उनी महिला सिटमा बसेर के गल्ती गरे ? फेरि, असक्तताको हिसाबले पनि ती महिलाभन्दा त बृद्ध नै असक्त थिए । तर, ‘हाईप्रोफाइल’ महिलाको ‘लोप्रोफाइल बिहेव’ले वृद्धको पीडा बुझ्न सकेन । आरक्षणको नाममा तोकिएको ‘महिला सिट’ छापमा एउटी महिलाले प्रस्तुत गरेको दम्भ देख्दा महिला हुनुमा मलाई ग्लानी भयो ।

०००
के मान्छे यन्त्रिक साधन हो ? स्वीच दबाएको भरमा चल्ने र बन्द हुने हाम्रो दिमाग हो ? मलाई लाग्छ, मान्छे हृदयले चल्नुपर्छ । सार्वजनिक यातायातमा नेपाली महिलाको ब्यबहार देख्दा लाग्छ, साच्चै हाम्रो हृदय नै कहाँ छ ? होइन भने हामी आरक्षणको नाममा किन दम्भ देखाउँदैछौं ? एउटा जवान पुरुषले बुढी आमालाई सिट छाडिदिन सक्छ भने एउटी जवान महिलाले बुढा बालाई सिट छाड्न किन सक्दिन ? एउटी शक्त महिलाले अर्की अशक्त या गर्भवती महिलालाई हृदयदेखि आफ्नो सिटमा स्वागत गर्न किन सक्दिन ? संवेदनशिलताका नाममा प्राप्त गरेको आरक्षणमा संवेदनशिल पाटोलाई नै किन तिरस्कार गरिरहेका छौं हामी ? करुणा, मायाकी खानी, ममतामयी जस्ता नामले पूजित हामी नारी के यस्तै व्यवहारका कारण पुजिन लायक छौं ? आफैँले आफैँलाई आत्ममुल्यांकन गरौं । मलाई त हरबार एउटै प्रश्नले हिर्काइरहेछ, के हाम्रो बुद्धि घुच्चुकमै छ ?

Loading...