खुसीको खबर ! नेपालमा नै सुरु भो अब मोटरसाइकल उत्पादन,के मूल्य घट्ला ??

काठमाडौं ।
आगामी महिनादेखि नेपालबाटै मोटरसाइलक उत्पादन हुने भएको छ । नेपालको लागि बाजजका बाइकको आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेशनले नेपालबाटै बजाजका मोटरसाइकल उत्पादन गर्ने भएको हो ।‘ महिनाभित्र बजाजको १०० सीसीको प्लाटिनियम बाइक उत्पादन गर्छौं,’ गोल्छा समूहका कार्यकारी निर्देशक शेखर गोल्छाले क्लिकमाण्डूसँग भने, ‘केही महिनाभित्रै १ सय २५ सीसीका बजाज डिस्कोभर र १ वर्षभित्र १ सय ५० सीसीका पल्सर उत्पादन गर्छौं ।’

१ वर्षभित्र २५ हजारभन्दा बढी मोटरसाइकल उत्पादन गर्ने योजना रहेको गोल्छाले सुनाए । विदेशबाट मोटरसाइकलका पार्टपुर्जा आयात गरेर नेपालमै एसेम्बल गरि मोटरसाइकल उत्पादन गरिनेछ ।बजाजका मोटरसाइकल नेपालमा सबैभन्दा बढी विक्री हुने भएकोले यहीँ प्लान्ट राख्‍न प्रस्ताव गरेको थियो । बैशाखदेखि नै उत्पादन गर्ने लक्ष्यसहित गोल्छा अर्गनाइजेशनले नवलपरासीको रामग्राममा एसेम्बल प्लान्ट स्थापना गरिसकेको छ । मूल्य घट्छ त ?

नेपालमै एसेम्बल भए पनि बजार मूल्य भने नघट्ने गोल्छाले जानकारी दिए । ‘नेपालमै एसेम्बल भए पनि बजार भाउमा कुनै फरक हुनेछैन,’ उनले भने ।आयात गर्दा भन्दा एसेम्बल गर्दा १/२ प्रतिशतमात्रै सस्तो पर्छ तर हामीले आयात गरिएकै मूल्यमा एसेम्बल गरिएका बाइकहरु बिक्री गर्ने उनले जानकारी दिए ।

‘हामीले ठूलो लगानी गरेकाले उत्पादन लागत केही सस्तो हुँदा पनि सस्तोमा बिक्री गर्न सक्ने अवस्था छैन,’ गोल्छाले भने । मूल्य नघटे पनि प्लान्टमा २ सय जनाले रोजगारी पाउनु र सरकारलाई ठूलो रकम राजस्व उठ्नु देशका लागि फाइदा भएको गोल्छाको भनाई छ ।

१ अर्ब लगानी प्लान्ट बनाउँदा अहिलेसम्म ६० करोड रुपैयाँ खर्च भइसकेको र अब ३०/४० करोड रुपैयाँ खर्च हुने उनले बताए । नेपालमा स्कुटरबाहेक बजाजका मोटरसाइकल ८० देखि ९० हजार थान बिक्री हुने गरेको गोल्छाले जानकारी दिए । ‘यति ठूलोमात्रामा मोटरसाइकलहरु आयात गरेर बिक्री गरिरहेका छौं, नेपालमै उत्पादन गरेपछि प्रविधि मात्रै भित्रिँदैन रोजगारी सिर्जना पनि हुन्छ र सरकारले राजस्व पनि पाउँछ,’ उनले भने ।

बाबुराम चढेको मुस्ताङम्याक्स बन्द गोल्छा समूहको सवारी साधन एसेम्बल्ड गर्ने दोस्रो प्लान्ट हो । विराटनगरमा रहेको पहिलो प्लान्टबाट मुस्ताङ म्याक्स गाडी उत्पादन हुने गरेको थियो ।जुन ०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले चढेपछि निकै चर्चा पाएको थियो । तर, बजार नपाएपछि मुस्ताङको प्लान्ट बन्द भइसकेको छ ।