नेप्से दोहोरो अंकले ओरालो लाग्यो

काठमाडौँ, ४ पुस ।

धितोपत्र बजारमा नेप्से आज दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार १४.४९ बिन्दुले ओरालो लागेर एक हजार ४९३ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ३.०५ बिन्दुले ओरालो लागेको छ । आज कूल १६६ कम्पनीको १४ लाख पाँच हजार ९७१ कित्ता शेयर रु ५९ करोड ९३ लाख ७६ हजार ३२२ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ ।

आज बैंकिङ ७.३६, व्यापार ०.९३, होटल ३२.९, विकास बैंक ७.२७, जलविद्युत् १४.४६, फाइनान्स ४.०७, बीमा ५९.६७, उत्पादन १७.१९, अन्य समूह ३६.४४ र माइक्रोफाइनान्स समूह २०.२३ बिन्दुले आरोलो लागेको छ ।

विस्तारै सङ्लिन्छ बजार

शेयर बजारका विश्लेषक निरव पुडासैनीले राजनीतिक अन्योलता कायम रहेका कारण बजार प्रभावित भएको जानकारी दिनुभयो । वाम गठबन्धनले बहुमत प्राप्त गरेपछि बजारमा अनावश्यक हल्ला चलाइएको र उक्त हल्लाको सम्बोधन गर्ने प्रयास नभएका कारण पनि बजार प्रभावित भएको उहाँको भनाइ छ ।

सामान्य अवस्थामा पुसदेखि चैतसम्म बजार घट्ने नै भए पनि यसपटक राजनीतिक विषयकै कारण बढी प्रभावित भएको उहाँले टिप्पणी गर्नुभयो । नयाँ सरकार गठनलगत्तै बजार सङ्लिएर सहज अवस्थामा पुग्ने तथा अनेकन हल्ला र आशंकाको समेत समाधान हुने पुडासैनीले विश्वास व्यक्त गर्नुभयो ।

शेयर दलालले भने नेपाल धितोपत्र बोर्डले बजारको उतारचढावका बारेमा नबोल्न कडा निर्देशन जारी गरेका कारण प्रतिक्रिया दिन चाहेनन् । ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाले रु आठ अर्ब रकम पु¥याइसकेको, बजारमा शेयरको फ्लो बढे पनि कारोबारमा भने कटौती भएको दलालहरुको टिप्पणी छ ।