‘ठेकीमा दही’ सामाजिक सञ्जालमा चर्चा कमाउदै, युट्युवमा १० लाखले हेरे

काठमाण्डौ, १४ पुस ।

गएको डिसेम्बर १० मा युट्युब मार्फत सार्वजनिक गरिएको चलचित्र ‘हुर्रे’को ‘ठेकीमा दही’ बोलको गीत अहिले सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ । सार्वजनिक गरिएको करिब दुई हप्तामै यो गीतलाई १० लाख भन्दा बढी पटक हेरिएको छ । निर्माण टिमका अनुसार कमेडी शैलीको गीतमा टिपिकल गाँउघरका शब्द समेटेर डान्सिङ नम्बरको संगीत भएकाले पनि दर्शकले मन पराएको हुन सक्छन् । अर्को कुरा नायिका केकी अधिकारीसँग उनका बाउ समान उमेरका हाँस्य कलाकार राजाराम पौडेलले कम्मर मर्काएकाले पनि यो सबैको रोजाईमा पर्न गएको गीत हो । गीतमा केकी र राजारामसँगै अंकित खड्काको मुख्य फिचरिङरहेको छ ।

टिपिकल नेपाली गीतको उत्पादन गर्ने संगीतकार भनेर चिनिएका राजनराज शीवाकोटीको संगीत रहेको यो गीतमा राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर रहेको छ । राजेन्द्र थापाको शब्द रहेको गीतलाई राजन इशानले एरेञ्ज गरेका हुन् । विक्रम स्वाँरको नृत्य निर्देशन रहेको चलचित्रमा दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेले निर्माण गरेका हुन् । अनुपबिक्रम शाही, संगीता नापित लगायत कलाकारको मुख्य अभिनय रहेको चलचित्रमा यम थापाको लेखन निर्देशन रहेको छ । चन्दन दत्तले सम्पादन रहेको यो चलचित्र फागुन २५ देखि प्रदर्शनमा आउने भएको छ ।