पोइला गएकी पत्नीलाई साउदी अरबबाट श्रीमानको मार्मिक पत्र

ज्युदै भए पनि भित्र भित्र म कत्तिपटक मरेको छु, तिमी बुझ्दिनौ । बुझ्ने सामर्थ्य यदि तिमीमा भाको भए,यस्तो खबर सायदै सुन्नु पर्थेन होला । आफ्नो जीवन तिम्रै लागि साँचेर बाचिरहेको थिए । तर तिमी भने ठिक विपरीत सोच्दी रहिछौ । तिम्रै खुशीका लागि निरन्तर श्रम गरिरहे अरबमा, तिमी भने मेरो श्रमको उपजलाई दुरुपयोग गरेर मेरो खिसिटिउरी गर्नमा तल्लिन भयौ । यो चाल पाएपछी, म ज्यादै विक्षिप्त भएको छु । मेरो मन धुजा धुजामा फाटेको छ ।

कुनै कुल्लीझै, मुटु भित्र गुम्सिएका तिम्रा सम्झाना र यादका भारी बोकेर काममा जानका लागि तयारी गर्दै थिए, त्यो दिन । अचानक नेपालबाट धनिराम काकाले फोन गरेर सुनाउनु भएको खबरले एक्कासी भाउन्न भयो । म भुइँमा ढलेछु । केहि समय पश्चात होसमा आएपछि, पीडा झन बल्झियो । मलाई विश्वास लागिरहेकै थिएन, तिमी अर्कै सङ्ग कुम्लिएको खबर । के चिजको कमि हुन दिएको थिए र? तिमीलाई चाहिएका कुराहरु पुर्याएकै थिए, होईन र?

हप्ता-दिन भयो ड्युटीमा गएको छैन, प्यारी । सुत्न खोज्छु निदाउन सक्दिन । बग्रेल्ती आइरहन्छ तिम्रो झझल्को । पहिलेको जस्तो म सङ्ग अरबको माटोमा काम गर्न जोस-जाँगर केही छैन । छिन छिनमा चसक्क पोलिरहन्छ मन । लाग्छ कोहि मेरो मन भित्र सल्किरहेको चुरोटको ठुटो झोसी रहेछ । म कामना गर्छु कि, यस्तो दु:ख त शत्रुलाई पनि नपरोस । कुण्ठित बहहरु केही मात्रामा कम हुन्छ कि भनेर, दु:खको गाठो पत्र मार्फत तिमी सामु फुकाउने जमर्को गर्दैछु ।

तिमीलाई याद होला नै, छानो चुहिने खरले छाएको घरलाई विस्थापित गरेर ढलान घर बनाउनु हाम्रो ठूलो सपना थियो । छोरा-छोरीलाई बोर्डिङ स्कुलमा भर्ना गर्ने र राम्रोसङ्ग पढाउने इच्छा हामी दुवैको थियो । सुकिलो मुकिलो भएर हिड्न पाइयोस् सधै भरी, कसैका अगाडि हात तेर्साउनु नपरोस् भन्ने ठूलो आकाँक्षा थियो । यिनै सपना, इच्छा र आकङ्क्षा पालेर दुई वर्ष अगाडि अरब उडेको थिए म । के यो सब लिला देख्नका लागि मात्र म अरब भासिनु परेको होला त?

यता म भने रात-दिन नभनी काममा लागिरहे, प्यारी । तातो घामको प्रवाह नगरी काममा खटिरहे । निरन्तर पसिना चुहिरहन्थ्यो,शरीरबाट । अझ जिउमा लगाएका कपडा त चुर्लुम्मै भिज्थ्यो पसिनाले । तिनै पसिनाले भिजेका कपडा लगाएर ओभर टाईम काम गर्थे । कहिले काहीँ त तिनै कपडा नफेरी सुत्थे । भोक लागेको बेला, भनेको जस्तो खान पाइन्नथ्यो । गनेर साध्य छैन कत्ति दिन त भोकै बसेको छु । यहि कारणले गर्दा सिकिस्त बिरामी पनि भए । औषधि-पानी खुवाउने कोहि भएनन् । आफ्नो देशबाट आएका साथीहरुले त्यती वास्ता गरेनन् । आफ्नो देश बाट आएका भन्नू मात्र रहेछ । यहाँ आएपछि, झन् बिरानो बनिदिँदा रहेछन् । तिमीलाई किन टेन्सन गराउनु भनेर बिरामी भएको सुइँको दिएको थिएन त्यसबेला ।

प्यारी पत्नी, जसोतसो यस्तै दु:खहरु सहेर यता आउँदा लागेको खर्च तिर्न सकेको थिए । अब बाकी तीन वर्षमा दु:ख गरेर कमाएको पैसाले हाम्रा इच्छा र सपनाहरु पूरा गर्ने सोच थियो । सानो छोराले फोनमा टि.भि चाहियो भनेर माग गर्थ्यो । छोरीले नाना पठाइदिनु भन्थिन । छोरा-छोरीका मागहरु पूरा गर्नु मेरो दायित्व थियो नै, बुवा भएको नाताले । तर मागको पुर्ती गर्न सक्षम थिएन त्यसबखत । त्यसैले ज्यानलाई जीवन र मरणको दोसाँधमा राखेर काममा लागिपरेको थिए । आफ्नो कलकलाउदो बैँस बेचिरहेका थिए, यो मरुभूमिमा ।

“पैसा पठाउनु न! नुन तेल किन्ने पैसा पनि छैन” फोनमा तिमीले भन्थ्यौ । हुन्छ चाडै पठाउछु भनेर कुरा टार्थे । फोन काटिसकेपछि आँसु झार्न बाहेक केही गर्न सक्दैनथे । किनकि, छ महिना देखि यता कम्पनीले तलब दिएकै थिएन । अर्काको देशमा हामीहरुले के नै गर्न सक्थ्यौ र? निरिह थियौ हामी ।

हाम्रो कम्पनी जेहादमा थियो, रियादमा रहेको नेपाली दूतावास भन्दा केही टाढा । त्यसैले कठिन थियो दूतावासमा तत्काल सम्पर्क गर्नका लागि । पछि केही साथीमार्फत नेपाली दूतावासमा जानकारी गरायौं । दूतावासबाट प्रक्रिया थालनी भएपछि बल्ल तलब दियो कम्पनीले । आफ्नो साथमा कत्ती पनि पैसा नराखि तत्काल तिमीलाई पठाइदिएको थिए ।

पैसा पठाएको एक हप्ता पछि, अर्कै सङ्ग कुम्लिएको खबर सुने, मैले पठाएको तीन लाख रुपैयाँका साथ । नदिनु पीडा दिएर गयौ । तिमीलाई त्यो पैसाले अवश्य सरापनेछ । चैन सङ्ग बसेर खान दिने छैन तिमीलाई, त्यो पैसाले । प्यारी ती कलिला छोराछोरीको आँसुले पीडा दिने छ एकदिन तिमीलाई । मेरो मायाले सताउनेछ तिमीलाई । आखीर के का लागि भाग्यौ? तिम्रा चाहहरु त पूरा गरेकै थिए नि । माया त अथाह थियो तिम्रा लागि, यो मन भित्र ।

तिमीलाई ती साना, कलिला छोराछोरीको माया रहेनछ है? तिनीहरुको भविष्यको केही प्रवाह रहेनछ। “मामु-बाबा” भन्दै कत्ती रुन्छन होला? सोचेकी छौ? तिमीले माया प्रेम के हो बुझेकी रहिनछौ ।
अहिले त नेपाल फर्कन लाग्ने पैसा पनि छैन म सङ्ग । आउन पनि सक्दिन होला । कसरी मुख देखाउनु गाउँ-घरमा । कर्तुत त तिमीले गरेकी थियौ, समाजमा मुख मैले लुकाउनु पर्ने बनाएर । पोहोर साल टाकुरेकी नातिनी जात नमिल्ने सङ्ग भागी भनेर, टाकुरेका सब परिवार समाजमा लज्जित भएको भुल्यौ है? यस्ता कुराहरु झन्, कपास सल्किएभन्दा द्रुत गतिमा फैलिन्छन् गाउँ-घरमा । तिमी भागेको कुरा त गाउँका सबैले थाहा पाईसकेका होलान । यस्तो अवस्थामा घर फर्कीए पनि स्वतन्त्र रुपमा बाँच्न सकुला र म? धिक्कार छ तिमीलाई प्यारी ।

अभागीको त, भगवानले पनि भाग्य नै नलेखी फुत्त पठाइदिने रहेछन् यो संसारमा । म पनि अभागीको प्रतिनिधि पात्र हुँ भन्दा फरक नपर्ला प्यारी । सानै छदाँ टुहुरो भए । आमाबुबाको माया पाउन सकिन । कसैले दयाभाव गरेर आफ्नै सन्तानलाई झै दिने निश्चल मायाको आभास गर्न चाहन्थे म । तर असम्भव थियो । चाहे जस्तो हुदोँरहेनछ । तिमी सङ्ग विवाह भएपछि भने केही मात्रामा सम्हालिएको थिए । तिमीबाट ठूलो आशा थियो, मायाको आभास दिलाउनेछौ भनेर । त्यो पनि पूरा हुन सकेन । आखिर देखावटी मायाको नाटक गरेर फसाइगयौ, जालमा फसेको माछा झै ।

प्यारी पत्नी, ढिलो चाढो होला नै । म नेपाल अवश्य फर्कनु पर्ने हुन्छ ।स केसम्म चाढै फर्कने प्रयास गर्नेछु । म नआए सम्म छोराछोरीको स्याहार गर्न केराबारीका विरेदाईलाई भनेको छु । तिम्रा लागि मेरो मनमा रहेको माया, सास रहे सम्म रहला नै सायद । तर तिमीलाई भुल्न सक्दो प्रयास गर्नेछु । यो नसोच्नु कि, म दोश्रो विवाह गर्नेछु । अब मलाई धेरै पीडा सहनु छैन । मेरो जिउ लखतरान परिसकेको छ, पीडा सह्दा सह्दै।

बाकीँ जीवन, अब तिनै छोराछोरीका साथ बिताउने प्रतिज्ञा गरेको छु । तिनीहरु तिम्रा छोराछोरी रहेनन् अब । सम्झने कुनै हक अधिकार छैन तिमीमा । र यहि पत्र मार्फत मेरो एउटा बिन्ती अनुरोध छ तिमीलाई, तिम्रो उपस्तिथी मेरो सामु आभास गराउने दुस्साहस कहिल्यै नगर है । आफुले रोजेको नौलो सँसारमा रमाएर बसिराख।

उहीँ तिम्रो
पुर्व श्रीमान
लेखक/प्रस्तुती:समीर बेल्बासे

पुर्बेली न्युजबाट