भाजपाले लेनिनको शालिक ताेडफोड गरेपछि त्रिपुरामा हिंसा भड्कियो

काठमाडौं, २२ फागुन ।

भारतको त्रिपुराराज्यमा हिंसा भड्किएको छ । भारतको त्रिपुराराज्यमा भारतीय जनता पार्टी बिजेपीका कार्यकर्ताले रुसी क्रान्तिका नायक भ्लादिमिर लेनिनको शालिक तोडफोड गरेपछि उक्त क्षेत्रमा हिंसा भड्किएको हो ।

कम्युनिस्ट किल्ला मानिएकाे त्रिपुरा राज्यमा बिजेपीले चुनाव जितेपछि कम्युनिष्ट नेताका सालिकहरु तोडफोड गर्ने जस्ता अराजक गतिविधि बढ्न थालेका छन् ।

एसपी कमल चक्रवर्तीले दिएको जानकारी अनुसार बिजेपीका समर्थकले डोजर लगाएर लेनिनको शालिक ढालेको बताएका छन् । प्रहरीले डोजरसहित चालकलाई पक्रेको समाचार छ । साम्यवादी विचारधारका नायक लेनिनको शालिक तोडफोड भएपछि वामपन्थी दलहरु पनि प्रतिकारमा उत्रेका छन् ।

चुनावी परिणामपछि त्रिपुरा राज्यका विभिन्न ठाउँमा तोडफोड र झडप भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भाजपाका कार्यकर्ताले वामपन्थी नेता कार्यकर्ताको घरमा समेत तोडफोड र आक्रमण गर्न थालेका छन् ।

प्रहरीका अनुसार उनीहरुको यस प्रकारको अराजनीतिक व्यवहारका कारण हिंसाले उग्र रुप लिने सम्भावना बढेको छ । अहिले उक्त क्षेत्रमा प्रहरीले सुरक्षा ब्यबस्थामा कडाइ गरेको छ ।

त्रिपुरामा वाम सरकारको २१ वर्ष पुरा भएको अवसरमा त्यहाँ लेनिनको शालिक बनाइएको थियो । ११ दशमलव ५ फिट अग्लो शालिक बनाउन ३ लाख रुपैयाँभन्दा बढी लागेको थियो ।

यो राज्यमा २५ वर्षदेखि कम्युनिस्ट पार्टी सिपीआई (एम) सत्तामा रहँदै आएको थियो । हिँसा अझै बढ्न नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।(एजेन्सी)