जिम्बाब्वेको रोमाञ्चक जित, २ रनले हार्‍यो अफगानिस्तान

२३ फागुन, काठमाडौं ।

विश्वकप छनोट क्रिकेटमा जिम्बाब्वेले अफगानिस्तानमाथि २ रनको रोमाञ्चक जित हात पारेको छ ।

१९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले अन्तिम दुई बल खेल्नु अघि सबै विकेट गुमाएर १९४ रन बनायो । अफगानको सुरुवात राम्रो रहेन । ५८ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, रहमत साह र मोहम्मद नाबीले ९८ रनको साझेदारी गरे ।

साह ६९ रनमा आउट भए, जतिबेला अफगानलाई मात्र ४२ रन चाहिएको थियो र ६ विकेट हातमा थियो ।

तर, ३७ औं ओभरमा सिकन्दर राजाले ३ विकेट लिएसँग घरेलु टोली खेलमा फर्कियो । ४० औं ओभर खेल्नु अघि अफगानलाई ६६ बलमा मात्र २४ रन चाहिएको थियो र २ विकेट हातमा थियो । ४१ औं ओभरको पहिलो बलमा नै मुजिव रहमान आउट भए ।

जिम्बोब्वेका बलरहरुले रन नदिएपनि विकेट लिन सकेको थिएन । अन्तिम ओभरमा ६ रन चाहियो । भिट्टोरीले पहिलो बलमा रन दिएनन् । तर,दोस्रो बलमा दौलत जदरानले १ रन दिए ।

तेस्रो बलमा भिट्टोरीले विकेट लिँदै घरेलु टोलीलाई २ रनको रोमाञ्चक जित दिलाएका छन् ।

जिम्बाब्वेका बी मुजारबानीले ४ विकेट लिए भने सिकन्दर राजाले ३ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ४३ ओभरमा सबै विकेट गुमाएर १९६ रन बनाएको थियो । उसको पनि सुरुवात खराब थियो । १७ रन जोड्दा ३ विकेट गुमाएको उसका लगि ब्रेन्डन टेलरले क्रेग एर्विनसँग मिलेर ४९ रनको साझेदारी गरे ।

एर्विन १३ रनमा आउट भए । तर, सिकन्दर राजाले टेलरसँग मिलेर पाँचौं विकेटका लागि ९६ रनको साझेदारी गरे । टेलर ८९ रनमा आउट भए । थप ३२ रन जोड्दा घरेलु टोलीले ५ विकेट गुमायो र १९६ रनमा अलआउट भएको छ ।

अफगानिस्तानका मुजिब उर रहमान र रसिद खानले समान ३-३ विकेट लिएका छन् । अनलाइनखबर