मोदीलाई देखाउन ओलीले राजस्थानी पोशाक लगाएर खोक्रो राष्ट्रवाद देखाए : उपेन्द्र यादव

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३१ बैसाख ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले जनकपुर जाँदा मोदीलाई देखाउनका लागि राजस्थानी पोशाक लगाएर खोक्रो राष्ट्रवाद प्रस्तुत गरेको आरोप लगाएका छन् । जानकी मन्दिरमा पूजा गर्नका लागि प्रम ओली र भारतका प्रम नरेन्द्र मोदीले एउटै रङ र बनावटको पोशाक लगाएका थिए । उक्त पोशाक भारतको राजस्थानी भएको भन्दै यादवले आलोचना गरे । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले विगतमा तराई मधेशलाई गाली गर्ने ओलीको राष्ट्रियता नाङ्गिएको बताए ।

“त्यो मिथिलाको पोशाक होइन, मधेशको होइन, नेपालकै होइन । राजस्थानको हो । जुन टाउकोमा बाधिएको थियो नि, त्यो राजस्थानको ड्रेस हो । राजस्थान भारतमा पर्छ । खोक्रा राष्ट्रवादी कुरा गरेर हुँदैन ।” यादवले भने ।“पोशाक जुनसुकै लगाउनुस्, तर खोक्रो राष्ट्रवादको ढ्वाङ नपिट्नुस् । वास्तविकतामा आउनुस् ।” यादवले ओलीलाई चुनौति दिए । मोदीसँगको आफ्नो भेटमा दुई देशबीचको मित्रता, नेपालको समृद्धि र विकास सम्बन्धमा कुराकानी भएको बताए ।नेपालको समृद्धि र विकासमा भारतको समयोगसँगै परस्पर मित्रता र सद्भाव कायम राख्ने विषयमा कुराकानी भएको यादवले बताए ।

“भारतका प्रधानमन्त्री मोदीले नेपालको लोकतन्त्र, शान्ति, समृद्धि र विकास नै चाहेको मैले पाएँ ।” यादवले भने ।नेपाल–भारतबीचको सम्बन्ध अत्यन्तै राम्रो हुनुपर्छ भन्ने पक्षमा आफु रहेको उनको भनाई छ ।प्रदेश नम्बर दुईका मुख्यमन्त्रीले आन्तरिक समस्या मोदीसमक्ष प्रकट गरेको भन्ने आरोपको यादवले खण्डन गरे । “प्रदेश सरकारले आन्तरिक कुरा नै राख्ने हो । अन्तराष्ट्रिय कुरा राख्दैन । प्रदेश नम्बर दुईमा केन्द्र सरकारले अति नै गरेको छ ।” यादवले भने ।मोदीको स्वागतमा केन्द्र सरकारबाट चारजना मन्त्री पठाएर प्रदेश सरकारको अधिकार खोसेको उनको आरोप छ ।-रिपोर्टस नेपालबाट

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...