नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न माग

हाम्रो सन्देश संवाददाता

भक्तपुर, ३१ वैशाख । 

नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल पक्राउ गर्न माग गरेको छ । 

यही वैशाख ८ गते गठ्ठाघरस्थित आफ्नै निवासमा अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते हुनुभएका एमाले भक्तपुर जिल्ला सचिवालय सदस्य एवं नगरप्रमुख श्रेष्ठलाई आक्रमण भएको आज २३ दिन बितिसक्दा पनि मुख्य आक्रमणकारी पक्राऊ परेको छैनन् । 

आइतबार एमाले जिल्ला कमिटी भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वउद्योग मन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्रीदेखि प्रदेशको मुख्यमन्त्री समेतले प्रहरी र प्रशासनसँग आक्रमणकारीलाई पक्राउ गर्न दबाब दिँदा पनि अझै पक्राउ गर्न नसकेकामा आक्रोश व्यक्त गर्नुभयो । 

सो अवसरमा एमाले जिल्ला कमिटीका कावा अध्यक्ष बचन देउजाले एमाले र नेकपा (माओवादी केन्द्र)को एकता भाड्न षडयन्त्र गर्नेहरुको आक्रमणमा संलग्न हुन सक्ने भन्दै आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गर्नुभयो । 

यसैबीच, प्रहरीले यही वैशाख १२ गते घटनामा संलग्न रहेको भन्दै पाँच जनालाई पक्राउ गरेको र घटनामा प्रयोग भएको एक मोटरसाईकल ललितपुरको लेलेबाट नियन्त्रणमा जनाएको छ । घटनामा संलग्न रहेको भन्दै नेकपा (माओवादी) का कुशल बोगटी लगायत मुख्य अन्य दुई जनाको खोजी भइरहेको प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ ।  (रासस)

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...