जसले जे सुकै भनोस् निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छ : प्रचण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ जेठ ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेकेदारहरुको एकाधिकार तोडिने बताएका छन् । निर्माण व्यवसायीहरुको प्रतिनिधि मण्डलसँग पेरिसडाँडामा भेट्दै प्रचण्डले भने, ‘काम होल्ड गर्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ । हामी समृद्धि र विकासको यात्रामा छौं । ठेक्का लिएर काम सम्पन्न नगर्ने प्रवृत्तिप्रति तपाईहरु पनि सचेत हुनुहोला ।’ ‘सरकार नीजि क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा छैन’ प्रचण्डले भने, ‘साना निर्माण व्यावसायीहरुले काम नपाउने र ठूला व्यावसायीले काम होल्ड गर्दा विकासका काम रोकिएका छन् । हाम्रो उद्देश्य विकास र समृद्धिको यात्रालाई द्रुत गतिमा अघि बढाएर जनताको अपेक्षा पूरा गर्नु हो ।’ विकास, समृद्धि र सुशासन नै आफ्नो सपना भएको प्रचण्डले बताए । उनले भने, ‘अबको युग विकासको युग हो, सुशासनको युग हो, समृद्धिको युग हो । हामीलाई त्यसबाट दायाँबायाँ हुने छुट छैन । बाहिर के प्रचार गरिन्छ, त्यतातिर बिल्कूल हेरेको छैन । मैले धेरैपटक भनिसकेको छु, विकास, समृद्धि, सुशासन नै मेरो लक्ष्य हो, म त्यसमा इमान्दार छु र दृढताका साथ अघि बढ्छु ।’

प्रचण्डले सरकारले व्यावसायीलाई काम गर्ने वातावरण दिनुपर्ने र व्यावसायीले पनि सम्झौताअनुसारको काम गर्नुपर्ने बताए । उनले भने, ‘राज्य पनि कानूनबमोजिम चलोस्, व्यावसायीले पनि सम्झौताअनुसार काम गरुन्, त्यसले बल्ल देश बन्छ ।’ भेटमा व्यावसायीहरुले ठूला ठेकेदारहरुले मेचीदेखि महाकालीसम्म सबै काम होल्ड गरेर राखेको गुनासो गरे । ‘सरकारले साना व्यावसायीलाई मात्र दवाव दिएको छ, ठूला व्यावसायीका कारण देशको विकास लथालिंग छ, त्यतातिर सरकारको ध्यान जाओस्’ एक व्यावसायीले भने ।

‘लामा कन्ट्रक्सन कम्पनि, रसुवा कन्ट्रक्सन, स्वच्छन्द कन्ट्रक्सन, कालिका कन्ट्रक्सन, तुदी कन्ट्रक्सन र शर्मा कन्ट्रक्सनले देशभरि ठेक्का लिएर काम गरेका छैनन् । यी ६ वटा कम्पनिले ठेक्का होल्ड गर्ने काम नगर्ने गर्दा देश बर्वाद भयो’ नेपाल राष्ट्रिय निर्माण व्यावसायी संघका बरिष्ठ उपाध्यक्ष नवराज खड्काले भने । व्यावसायीहरुले ठूला कम्पनिले काम होल्ड गरेर राख्दा त्यसको अपजस आफूहरुले बेहोर्नुपरेको बताए । सार्वजनिक खरिद ऐनका कारण ठूला ठेकेदार मोटाएको व्यावसायीले गुनासो गरेका थिए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...