अनि म बिहे नै नगरी मरेँ भने नि ?

हाम्रो सन्देश संवाददाता

– छवि अनित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?
‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’

‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’

‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै राजधानीजस्तै मेरो दिल पनि झिलमिली पार्ने दिन कैले आउला है ?’

श्रेया दुई हातले समातिरहेको कफीको कप टेबलमा राखेर झ्यालबाट बागबजारको सडकमा गुडिरहेका गाडीहरूतिर हेरिरहिन् । म उनलाई हेरिरहेँ । केहीबेर यसैगरी बसिरह्यौँ ।

काठमाडौंमा यसरी बसेर कफी पिउने फुर्सद त कहाँ पो हुन्छ र ? तर हामी प्रायः बस्छौँ । बागबजारको यो फास्टफुडको पहिलो तलामा । संयोग नै होला, यी दुई महिनामा हामी बस्ने टेबल हामी पुग्दा खाली नै हुने गरेको छ । र, हाम्रो अर्डर पनि वेटरलाई थाहा छ, उनका लागि मिल्क कफी र मलाई एउटा हट लेमन विथ हनी ।

सन्नाटा मलाई मनपर्दैन । उसो त बोली पनि राख्दिनँ ।

‘तर तिमीलाई कुनै केटाले ट्राई किन गर्दैन ?’

‘राम्री छु नि त !’

यो मैले नसोचेको जवाफ । दुनियाँ राम्रीहरूको पछि लागेको छ । अनि यिनलाई आफू राम्री भएकै कारण एक्लो हुनुपरेको पीडा !

‘तब त झन् सबैले नजर लाउनुपर्ने हैन र ?’ जिज्ञासा मेटाइहाल्नु थियो मलाई ।

‘यार यो केटाहरूको नि… अरे राम्री जति सबै स्कुल लाइफमै रिजभ्र्ड हुन्छन् भन्ने छ र ? सब सोच्छन् कि आई एम बुक्ड !’ अँ, कुरो यस्तो रहेछ । सोचेँ, हो पनि ।

‘हो त, मलाई नि त्यस्तै लाग्थ्यो ।’

‘अनि त एक कप कफीका लागि मलाई एक महिना अलमलाई राखेको,’ अलिकति नखरा टाइपको अनुहार बनाइन् । श्रेयाले मलाई तीन महिना अघिदेखि नै कतै बसेर कफी लिउँ भनेकी हो । तर एक महिना त यसै बिताइदिएँ । अफिस आफ्नो ठाउँमा छ । समय त चाहेको भए जसरी पनि निकाल्न सक्थेँ नि अहिलेजस्तै । तर, यति राम्री मान्छेले कफीका लागि अफर गर्दा आफँैलाई अलि शरम लागेको थियो ।

‘साँच्चै तिम्रो ब्वाइफ्रेन्ड भाको भए त कफी खान आको म मुक्का खाएर जान्थेँ होला है ?’

‘डरपोक ! यो सहरमा कसलाई थाहा छैन कि तिमी म्यारिड हौ ।’

उफ्फ ! मेरो त प्रोफाइल पिक्चरमै पो श्रीमतीसँगको फोटो छ । अनि, कम्तीमा सातामा एकपटक अपडेट गरिरहेको हुन्छु, शैलीका तस्बिरहरू । शैली, मेरी अढाई वर्षकी सुपुत्री ।

‘तिम्रो मतलब म्यारिडहरूको गर्लफ्रेन्ड हुन्न ? कि उनीहरू कोही केटीप्रति आकर्षित नै हुँदैनन् ?’

‘हुन्छन् कि, तर मैले त तिमीलाई ब्वाइफ्रेन्ड बनाउन खोजेको होइन नि त ।’

उनको कफीको कप अब आधा मात्र भरिएको छ । उनी फेरि पनि बागबजारको व्यस्त सडकलाई नियालिरहेकी छन् ।
‘किन यति धेरै गाडीका टायरहरू लगातार कुल्चिएर हिँडिरहेछन् यो सडकलाई ? कि आफ्नो गन्तव्यमा पुग्न कसैलाई नकुल्ची नहुने हो ? तर हैन, यो सडक पो बरु निरन्तर घोटाइरहेछ ती टायरहरूलाई । आफूमाथि भएर हिँडेबापतको कर असुली गरेको होला नि ! कुरो यसो पनि होइन कि ? यहाँ गन्तव्यमा ती टायर कहाँ पुग्छन् र ? पुग्ने त सवारी गर्ने मान्छे हो नि । बित्थामा घोटिन्छन् टायर । अकारण कुल्चिइन्छ सडकको डँडाल्नु ।’

श्रेया यस्तै–यस्तै केही सोच्दै होलिन् ।

‘यार, रविन मलाई एउटा ब्वाइफ्रेन्ड खोज्देउ न । तिमी जस्तै… तर बिहे गर्ने गरी ।’

शून्यता तोडियो ।

‘के गछ्र्यौ त, अलि दुई–चार वर्षअघि नै मलाई भेटेको भए यस्तो गाह्रो पर्दैैनथ्यो ।’ उडाउनै खोजेको त होइन । तर, फुस्कियो मुखबाट ।

‘यस्तै हो । फेसबुकमा तिम्रो फोटो देख्नेबित्तिकै एड गरेको त हो नि । साह्रै मनपरेको थियो तिम्रो मुस्कान । तिम्री बूढी मभन्दा अघि भैछिन् त मेरो के दोष ?’ श्रेयालाई साँच्चै पछुतो थियो मलाई अलि ढिला गरी भेटेकामा ? म निश्चित छैन । तर हुनुपर्छ, हुनैपर्छ ।

‘अनि तिम्रा बालाई भन न त ज्वाइँ खोज्न ।’

‘मेरा बाले खोज्ने जति खोजिसके रविन । यो बाको वशको कुरो हैन । आजित भैसके रविन मेरा बा… ।’ अचानक चुलबुले श्रेया मलिन भइन् । मेरो कपमा अलिकति कफी बाँकी छ । कप खाली गराउन उठाइसकेको मैले कपलाई ओठसम्म पु¥याउन सकिनँ । कसैले गहिरिएर हेथ्र्यो भने यतिबेला मेरा आँखामा करोडौँ प्रश्न छन् ।

कफीको कप फर्किएर टेबलमै पुग्यो । म उनलाई केही भन्न अनुरोध गरिरहेको थिएँ, मनमनै ।

श्रेयाको नजर फेरि पनि सडकमा दौडिरहेका सवारीमै थियो । म आफ्नो कुर्सीबाट उठेँ । झ्यालैमा पुगेर एकपटक सडकलाई हेरेँ, देखिएन । भक्तपुरबाट आएका पुराना मिनिबसको लर्कोले सडक छोपिएको थियो । सहर जतिसुकै स्मार्ट हुन खोजे पनि वर्षौं पुराना यी सवारीको दबदबा सजिलै हट्नेवाला छैन ।

‘रविन, मेरा बाबा–ममीले त्यस्तो गल्ती त केही गरेका छैनन् । तैपनि किन यो सजाय हामीसम्म भोगिरहेछौँ होला ?’

श्रेयाले आजसम्म मलाई कहिल्यै पनि आफ्नो परिवारको बारेमा केही भनिनन् । मैले सोध्न पनि आवश्यक ठानिनँ । यति थाहा छ, उनको पूरा नाम श्रेया शर्मा हो । फेसबुकमा यति नै लेखेकी छन् ।

‘आज मेरो फेमलीको केही कुरा भन्छु तिमीलाई ।’ उनको मुहारभरि उदासी ढाकिएको थियो ।

म कुर्सीमा आएर बसेँ । उनका कुरा जान्न म उत्सुक थिएँ ।

‘मेरो बाबा राधेश्याम पौडेल, ज्योतिष पण्डित हरिहरका साहिँला छोरा हुनुहुन्छ । हजुरबुबा ८२ पुग्नुभो । अझै पनि उहाँसँग चिना लेखाउन टाढाटाढादेखि आउनेको घुइँचो हुन्छ । हजुरबुबा बाबालाई पनि आफूजस्तै ज्योतिष बनाउन चाहनुहुन्थ्यो । तर, बाबाले स्कुलदेखि नै राजनीतिको बाटो रोज्नुभयो । कलेज पढ्दा विद्यार्थी आन्दोलनकै बेला हजुरबुबाका विरोधका बीच गाउँकै दलित समुदायकी छोरीसँग बिहे गर्नुभयो । ०४२ सालमा म जन्मिएँ । प्रजातन्त्र पुनर्बहाली भएकै वर्ष मेरो भाइको जन्म भयो । बुबाको चाहनाले हुन्थ्यो त मेरो सन्तान गणतन्त्रभन्दा जेठो हुन्थ्यो ।

दश वर्ष रविन… दश वर्ष मेरो बाबाले मेरा लागि केटो खोज्नुभो । स्कुलदेखि नै धेरै केटाहरू मेरो पछि नलागेका होइनन् । तर सबै टाइम पास मात्र बनाउन खोज्थे । मेरो वास्तविकता थाहा पाएपछि सम्बन्ध लम्बियोस् भन्ने कसैले चाहेनन् । एकपटक कलेज पढ्दा एकजनाले खुबै पछ्यायो । मैले सबै कुरा भनिसकेपछि पनि उसले त्यसलाई स्वीकार गर्ने बतायो । मास्टर्सको फाइनल एक्जामपछि घरमा अनुमति लिएर माग्न आउने बताएर गयो । तर कहिल्यै फर्केन ।’

आँखा रसाएका थिए उनका । गाजल बचाउँदै आँसु पुछिन् । श्रेयाका नजर उनले टेकेको धरातलतिर थिए ।

‘बाबाले आफन्त सबैतिर कुरा चलाउनुभो । तर, ममीको नाम विष्णुमायाको पछाडि झुन्डिएको नेपालीले सबैलाई बिझायो । जब कि ममी आँखैमा राख्दा नबिझाउने हुनुहुन्छ । सबैले भन्छन्, म राम्री छु । फस्र्ट डिभिजनमा मास्टर्स सकेकी छु । बेरोजगार बसेकी छैन । तर बिहे गर्न, घर बसाउन अनुहार र योग्यताभन्दा ठूलो रहेछ, यो जातीय खाडल ।’

आफूले आफैँलाई व्यंग्य गरेझैँ फिस्स हाँसिन् उनी ।

‘थाहा छ, मेरो यो हालत देखेर होला, भाइले पोहोरै पोखरातिरबाट एउटी गुरुङसेनी भगाएर ल्यायो । मैले त्यसरी लैजान आँट गर्ने पनि कोही भेटिनँ । मनको कुरा खोलेर भनेँ पनि त कसलाई ? अरु कसैको भइसकेको मान्छेलाई !’
म त अघि नै चार्ज सकिएको मोबाइलझैँ भइसकेको थिएँ । तर उनी अझै केही भनिरहेकी थिइन् ।

उनलाई पछुतो मैले छिटै बिहे गरेकामा हुन सक्थ्यो । वा मलाई ढिलो भेटेकामा हुन सक्थ्यो । यसो पनि हुन सक्थ्यो कि उनले केही अगाडि नै उनको भाइजस्तै आँटिलो कोही खोज्न नसकेकामा उनी पछुताइरहेकी थिइन् । तर बाउआमाले अन्तर्जातीय विवाह गरेकामा होइन । यसो त हुनै सक्दैन । उनका बाबा त परिवर्तनका पक्षधर थिए । सिंगै समाजको जातीय विभेदलाई पन्छाउनुपर्छ भन्ने चाहन्थे । उनको विवाह त क्रान्तिको विजारोपण थियो , सामाजिक क्रान्तिको । सजाय कहिलेकाहीँ राम्रै काम गर्नेले पनि त भोग्नुपर्छ । चोरहरूको बस्तीमा पुलिस बनेर उभिनु कम्ता जोखिमपूर्ण हुन्छ र ?

म आफैँभित्र पो हराइरहेको रहेछु, धत् !

‘ह्या, के सारो सिरियस भएछु नि म त ?’ टोलाइरहेको मलाई बुझेर होला श्रेयाले हाम्रो टेबललाई रोमान्टिक बनाउन खोजिन् ।
कफीको कप पूरै ठन्डा भइसकेको छ ।

वेटर बिल लिएर आइपुगे । म घोत्लिँदै गर्दा उनले बिल मगाउन भ्याइसकिछन् । पैसा उनैले दिइन् । म चुपचाप हेरिरहेँ ।
‘अनि कि रविन, मैले बिहे गर्दा चैँ ठूलै प्रलय नै रोकिने पनि त हैन नि है ? उल्कै होला मलाई आमा भन्ने कोही मेरै कोखबाट नजन्मेला !’

मसँग कुनै जवाफ थिएन । जानिनजानी अलिकति दाँत देखाइदिएँ ।

भ¥याङ ओर्लंदै गर्दा उनले फेरि प्रश्न गरिन्, ‘यो बिहे नगरी मरेँ भने के होला है ?’

बाटोमा निस्कँदासम्म पुराना बसहरूको लस्कर कम भइसकेको थियो । मसँग छुट्टिएर उनी डिल्लीबजारतिर लागिन् । बाइक स्टार्ट गर्नुअघि एकपटक अघि हामी बसेको झ्यालतिर हेरेँ । वेटरको नजर श्रेयालाई परैसम्म पछ्याइरहेको थियो । नागरिकन्यूज़ डटकमबाट साभार

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...