यूएईबाट नेपाल फर्किन लागेकी नेपाली चेलीको उपचारको क्रममा मृत्यु

हाम्रो सन्देश संवाददाता

उमाकान्त पाण्डे/यूएई, पुस ३ ।

यूएईमा एक नेपाली महिलाको ज्यान गएको छ । पाँच वर्ष पहिलेदेखि आबुधाबीमा रहेको इम्कोर फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत देउराली ३ दमरा, काभ्रेकी डोल्मा तामाङको उपचारका क्रममा सोमबार निधन भएको उज्यालो अनलाइनमा खबर छ ।

पत्थरीको समस्या भएर औषधी खाइरहेकी डोल्मा दुई साता अघि अस्पताल भर्ना भएकी थिइन् ।

आबुधाबिको क्लिभलेन्ड क्लिनिक अस्पतालमा भर्ना भएकी डोल्माको मस्तिष्कमा समस्या देखिएपछि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।

अस्पताल भर्ना भएको दुई दिनपछि अर्ध चेत अवस्थामा रहेकी डोल्माको मस्तिष्क पक्षघात भई ज्यान गएको अस्पतालले जनाएको छ । डोल्माले कम्पनीको भिसा रद्द गरेर सधैँका लागि नेपाल फर्किन कम्पनीमा निवेदन समेत दिएकी कम्पनीले जनाएको छ ।

कम्पनीले बिरामीको रेखदेख गर्न नेपाली दूतावासको समन्वयमा नेपालबाट डोल्माका श्रीमान पञ्च तामाङ तथा कान्छो बुवाको छोरा सेवार तामाङलाई यूएई झिकाएर उपचार गराइरहेको थियो ।

उपचाररत डोल्माको मृत्युपछि कम्पनीले दिनुपर्ने सम्पूर्ण क्षतिपूर्तिसहित शव नेपाल पठाउन दूतावाससँग समन्वय गरिरहेको यूएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले बताए ।

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...