साउदीबाट युवतीहरु यसकारण भाग्छन्

हाम्रो सन्देश संवाददाता

रियाद, (बीबीसी) रहफ अल–कुनुनको कथा ट्विटरमार्फत् संसारभरिका मानिसहरूसम्म पुग्यो र हाल उनी शरण पाएपछि क्यानडामा छिन् । तर साउदी अरेबियाबाट विगतमा पनि युवतीहरू सुखद भविष्यको खोजीमा भागेर विदेश गएका थिए जसको चर्चा यसअघि भएको थिएन ।

रहफको अवस्थाका कारण साउदी अरबमा महिला अधिकारको स्थिति विषयमा बहस चर्किँदै गर्दा क्यानडा पुगेकी अर्की युवतीले आफ्नो कथा बीबीसी विश्व सेवासँग भनेकी छन् । चौबीस वर्षीया साल्वा आफ्नी १९ वर्षीया बहिनीसँग आठ महिनाअघि भागेकी थिइन् । उनीहरू क्यानडाको मोन्ट्रियल नगरमा बस्छन् ।

उनको कथा उनकै शब्दमा :

हामी करिब छ वर्षअघि देखि नै भाग्ने तयारीमा थियौँ । तर हामीसँग राहदानी वा राष्ट्रिय परिचयपत्र थिएन । मलाई ती कागजात बनाउन बुवाआमाको अनुमति चाहिन्थ्यो । (साउदी महिलाहरूलाई धेरै काम गर्न आफ्ना पुरुष आफन्तको अनुमति चाहिन्छ ।) म विश्वविद्यालयमा पढ्दा मेरा अभिभावकले राष्ट्रिय परिचयपत्र बनाइदिएका थिए । त्यसैकारण म केही भाग्यमानी भएँ । दुई वर्षअघि अङ्ग्रेजीको परीक्षाको लागि भनेर मेरो राहदानी पनि बनाइएको थियो । तर मेरो परिवारले त्यो खोसिदियो । पछि मैले फेरि त्यो हात पार्न सफल भएँ ।

मैलै मेरो दाजुको घर छिर्ने साँचो चोरेर बजारमा गएर अर्को नक्कली साँचो बनाएँ । म घरबाहिर निस्कन उनीहरूको अनुमति थिएन । तर म उनीहरू सुतेको बेला भागेँ । त्यो निकै जोखिमपूर्ण काम थियो किनभने म समातिएकी भए उनीहरूले मलाई कुटपिट गर्ने थिए । मैले नक्कली साँचो बनाएपछि मेरो र बहिनीको राहदानी अनि बुवा सुतेको बेला उहाँको फोन लिन सफल भएँ । त्यसपछि मैले गृह मन्त्रालयको वेब्साइटमा गएर उहाँको नम्बरलाई मेरो नम्बरमा बदल्न सफल भएँ । त्यसपछि मैलै उहाँको एकाउन्टमा लग इन गरेर हामीलाई देश छोड्ने अनुमति पनि लिन सफल भएँ ।

सबै जना सुतेको बेला हामी रातिको समयमा घर छोड्न सफल भयौँ । त्यो एकदमै तनावपूर्ण क्षण थियो । हामीले कार चलाउन नसक्ने भएकोले एउटा ट्याक्सी बोलायौँ । भाग्यवश साउदी अरेबियाका सबैजसो ट्याक्सी चालक विदेशी हुने हुनाले हामीले एक्लै यात्रा गरेकोमा कसैले शङ्का गरेनन् । त्यसपछि हामी रियादको राजा खालिद अन्तर्रा्ष्ट्रिय विमानस्थलमा गयौँ । हामीले के गर्दैछौँ भनेर यदि कसैले थाहा पाएको भए सम्भवतस् हामी मारिने थियौँ । म विश्वविद्यालयमा पढ्दै गर्दाको पछिल्लो वर्ष म अस्पतालमा काम गर्दथेँ ।

त्यतिबेला मैले केही रकम जोगाएकी थिएँ । मैले बेरोजगारी भत्ता बापतको रकम पनि जोगाएकी थिएँ । त्यो मलाई विमानको टिकट र जर्मनीको ट्रान्जिट भिसा लिन पर्याप्त भयो । त्यसपछि म बहिनीसित जर्मनी जाने विमान चढ्न सफल भएँ । म पहिलो पटक विमान चढेकी थिएँ । मलाई साह्रै रमाइलो लाग्यो । म खुसी भएँ तर डराएँ पनि ।

हामी घरमा नभएको थाहा पाएपछि बुवाले प्रहरीलाई फोन गर्नु भएछ । त्यो त्यतिबेला निकै ढिलो भइसकेको थियो । प्रहरीले बुवालाई फोन गर्न लाग्दा फोन मकहाँ आइपुग्यो किनभने मैलै सरकारी बेव्साइटमा बुवाको नम्बर नै बदलिदिएको थिएँ । जब म विमानबाट ओर्लिएँ प्रहरीले बुवालाई पठाएको सन्देश मेरो फोनमा आयो ।

साउदी अरेबियाको जीवन, के जीवन? म विश्वविद्यालय जान्थेँ अनि घर जान्थेँ । दिनभरि केही काम हुँदैनथ्यो । पुरुषहरूले मलाई चोट र्पुयाउँदथे र भन्ने गर्दथे कि पुरुषहरू महिलाभन्दा ठूला हुन् । मलाई रमादान पर्वको बेला पनि प्रार्थन गर्न र केही नखाई व्रत बस्न बाध्य तुल्याउँथे ।

जब म जर्मनी पुगेँ त्यसपछि म मलाई शरण लिन आवश्यक कानुनी सहयताको लागि एक कानुनी सहायता केन्द्र पुगेँ । मैले केही फारम भरेँ र त्यसपछि उनीहरूलाई मैले मेरो कथा सुनाएँ ।

मैले क्यानडा नै रोजेँ । किनभने क्यानडामा मानव अधिकारलाई सम्मान गरिन्छ । मैले सिरियाली शरणार्थीहरू क्यानडा आएको र यहाँ शरण पाएको बारेका समाचारहरू पढेकी थिएँ । त्यसैले मैले सोचेँ क्यानडा नै म जानु पर्ने देश हो । मलाई शरण दिन क्यानडा सहमत भयो ।

जब म टोरोन्टो विमानस्थल आइपुगेँ मैले पर क्यानडाको झन्डा देखेँ । त्यतिबेला मलाई ठूलै कुरा प्राप्त भएको अनुभव भयो । अहिले म मेरी बहिनीसँगै मोन्ट्रियल नगरमा छु । मलाई कुनै तनाव छैन । मलाई कसैले यो गर त्यो नगर भनेर दबाव दिँदैन ।

साउदी अरेबिया धनी होला, उनीहरूसँग धेरै रकम होला तर मलाई यहाँ राम्रो लाग्छ । म आफ्नो कोठा चाहेको बेला छोड्न सक्छु । मलाई कसैको अनुमति चाहिन्न । म बाहिर जान सक्छु । मलाई यो कुराले एकदमै धेरै खुसी बनाउँछ । म स्वतन्त्र छु जस्तो लाग्छ । मलाई जे लगाउन मन लाग्छ म त्यो लगाउन सक्छु । मलाई यहाँको शरद ऋतुको रङ्ग मन पर्छ । मलाई यहाँको हिउँ पनि मन पर्छ । म फ्रान्सेली भाषा सिक्दैछु । त्यो एकदमै गाह्रो छ । म साइकल चढ्न, पौडी खेल्न र आइस स्केट खेल्न पनि सिक्दैछु । म जीवनमा केही गर्दैछु जस्तो लाग्दैछ । म मेरो

परिवारसँग सम्पर्कमा छैन । त्यो मेरा लागि राम्रो हो, त्यो उनीहरूका लागि राम्रो हो । मलाई अहिले यहीँ आफ्नो घर हो जस्तो लाग्छ । मलाई यहाँ एकदमै राम्रो छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...