कामचलाउ’ रेल किन्दै सरकार, भारत सरकारबाट सोझै खरिद गरिने

हाम्रो सन्देश संवाददाता

काठमाडौं,माघ ११ ।

सरकारले रेल खरिदबारे भारतसँग छलफल अघि बढाएको छ ।

मन्त्रिपरिषद्ले रेल खरिदबारे सैद्धान्तिक सहमति दिइसकेकाले रेल खरिदका लागि आवश्यक छलफल अघि बढाइएको हो ।

सोझै भारत सरकारमार्फत् रेल खरिद गरिने भएकाले जतिसक्दो चाँडो रेल खरिदको टुंगोमा पुग्ने रेल विभागले जानकारी दिएको छ ।

विभागका प्रवक्ता समेत रहेका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले रेल खरिदको लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिइसकेकाले आवश्यक छलफल भइरहेको जानकारी दिए । ‘छलफल अघि बढिसकेको छ,’ उनले लोकान्तरसँग भने, ‘कहिलेसम्म रेल सञ्चालनमा आउँछ ? ठ्याक्कै समय तोक्न सकिँदैन । जतिसक्दो छिटो रेल सञ्चालन हुन्छ ।’

रेल खरिद प्रक्रिया छोटो बनाउने उद्देश्यले नै नेपाल सरकारले भारत सरकासँग सिधै रेल खरिद गर्न लागेको चित्रकारले बताए । ‘जतिसक्दो छिटो रेल सञ्चालनमा आओस् भन्ने उद्देश्यले नै जीटूजी माध्यमबाट रेल खरिदको प्रक्रिया अपनाइएको हो,’ उनले भने, ‘पहिलो चरणमा दुइटा डेमु (डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट) रेल खरिद गर्ने लक्ष्य छ ।’

डेमु रेल छोटो दूरीका लागि उपयुक्त हुने चित्रकारले बताए । डेमुले डिजेल इन्जिनबाट विद्युत् उत्पादन गर्ने र त्यसबाट रेल चलाउन सजिलो हुने चित्रकारले स्पष्ट पारे ।

नेपालमा वर्तमान अवस्थामा धेरै लामो रेलमार्ग नभएकाले छोटो दूरीमा चल्ने किसिमको रेल खरिद गर्न उपयुक्त हुने जनाइएको छ । अहिले खरिदका लागि छलफल अगाडि बढाइएको डेमुले प्रतिघण्टा १ सय ५० किलोमिटर दूरीका दरले कुद्ने विभागका अधिकारीले बताएका छन् ।

रेल विभागका अनुसार हाल नेपालमा ६९ किलोमिटर रेलमार्ग निर्माणको काम भइरहेको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको रेलमार्ग भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको छ । रेलमार्ग निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको रेल विभागले जनाएको छ ।

सरकारले रेल खरिदका लागि चालू आर्थिक वर्षको बजेटमा ५० करोड रुपैयाँ विनियोजन गरिसकेको छ । एउटा डेमुको अनुमानित मूल्य ५० करोड रुपैयाँ रहेकाले रकम थप गर्नुपरेमा मन्त्रिपरिषद्ले निर्णय गर्ने रेल विभागले जनाएको छ ।

नेपालको वर्तमान अवस्थालाई हेर्दा छोटो दूरीमा चलाउन मिल्ने रेल खरिद गरिने र त्यति धेरै सुविधायुक्त रेल नभएपनि काम चल्ने विभागका अधिकारी बताउँछन् । धेरै लामो दूरीको रेलमार्ग नभएकाले राति सुत्न मिल्ने, एसी सुविधा नभएको रेल भएपनि काम चलाउन सकिने विभागका अधिकारीको भनाई थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको प्रधानमन्त्रीको कार्यकाल र वर्तमान कार्यकालमा पनि आफ्नो कार्यकालमा रेल चलाएरै छाड्ने पटक–पटक बताउँदै आएका छन् ।लोकान्तरबाट

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...