‘छोरा भएर जन्मिएँ, छोरीको भावना छ, स्तन राखें, अब यौनाङ्गबारे सोचिरहेकी छु’

हाम्रो सन्देश संवाददाता

केटाकेटीले दुई-तीन वर्षकै उमेरमा आफ्नो लैङ्गिक चेतना थाहा पाउँछन् । त्यसैअनुसार व्यवहार देखाउन थाल्छन् । तेस्रो लिङ्गीले पनि सोही उमेरमा आफ्नो लैङ्गिक प्रस्तुति देखाउन थालिसकेका हुन्छन् ।

तेस्रो लिङ्गीका हकमा केटा भएर जन्मिएका बच्चा हुर्किंदै गर्दा केटीको लैङ्गिक प्रस्तुति देखिन्छ । यस्तो स्वभावको व्यक्तिलाई तेस्रो लिङ्गी महिला भनिन्छ । केटी भएर जन्मिएका बच्चा हुर्किंदै गर्दा केटाको लैङ्गिक प्रस्तुति देखिन्छ । यस्तो स्वभावको व्यक्तिलाई तेस्रो लिङ्गी पुरुष भनिन्छ ।

तेस्रो लिङ्गी महिला अर्थात् मजस्ता व्यक्ति जन्मजात लिएर आएको यौनाङ्गप्रति वितृष्णा मान्छन् । दिमाग र मनले महिला हुँ भनिरहेको हुन्छ । आफूलाई त्यही रुपमा प्रस्तुत गर्न झकझक्याउँछ । तेस्रो लिङ्गी महिला सानैदेखि बसेर अनि पुरुष उभिएर पिसाब गर्ने कोसिस गर्छन् ।

जब समाजले जन्मअनुसारको लैङ्गिक व्यवहार अपेक्षा गर्न थाल्छ, तब तेस्रो लिङ्गी केटाकेटी मानसिक तनावमा पर्छन् । आफ्नाबारे थाहा नपाउँदा उनीहरु बिरक्तिरहेका हुन्छन् । कतिपय त डिप्रेसनमै पर्छन् । झट्ट देखिने शारीरिक पहिचानअनुसारका कपडा दिए तत्काल नकारात्मक प्रतिक्रिया जनाउँछन् । शारीरिक पहिचानअनुसार दिइएको नामले बोलाउँदा पनि रिसाउने गर्छन् ।

केटाकेटीको धेरै समय बित्ने र सामाजिकीकरण हुने थलो विद्यालय हो । त्यहाँ शिक्षक र साथीहरुको व्यवहारले पनि तेस्रो लिङ्गी केटाकेटीमा मानसिक आघात पुग्न सक्छ । त्यसैले अभिभावकले परामर्शताको सुझावपछि शिक्षकहरुसित पनि कुरा गर्नुपर्छ । आफ्नो सन्तानलाई अरुसरह नै व्यवहार गर्न आग्रह गर्नुपर्छ । त्यसो हुँदा ‘डिप्रेसन’ मा जाने सम्भावना कम हुन्छ ।

मानिस किन जैविक रुपमा एउटा र लैङ्गिकताका आधारमा अर्को व्यक्ति बन्छ ? किन तेस्रो लिङ्गी पहिचानमा बस्न चाहन्छ ? यसको अहिलेसम्म यथेष्ट र प्रामाणिक तथ्य आइसकेको छैन ।

जीवशास्त्रीहरुका अनुसार ‘एक्सएक्स क्रोमोजोम’ले मानिसलाई महिला र ‘एक्सवाई क्रोमोजोम’ले पुरुष विशेषतायुक्त बनाउँछ । तर, कतिपयमा ‘एक्सएक्सवाई’, ‘एक्सवाइवाई’ तथा अन्य विविधतायुक्त क्रोमोजोमको पनि विकास हुने गर्छ । यही सम्मिश्रणले पनि मानिसलाई फरकफरक लैङ्गिक व्यवहारको बनाउने अनुमान गरिन्छ ।

भिन्नखालको क्रोमोजोमले व्यक्तिहरुमा टेस्टस्टेरोन, यौनाङ्ग, स्तन आदिको महसुस गराउन अवरोध सिर्जना गर्छ । मेडिकल भाषामा तेस्रो लिङ्गी व्यवहार आउनुमा शरीरमा हर्मोनको समान वितरण नहुनु नै हो । यो कुनै मानसिक या शारीरिक रोगचाहिँ होइन ।

कतिपय मानिस तेस्रो लिङ्गीलाई मानसिक रोगको उपज पनि ठान्छन् । तर, होइन । त्यसो हुँदो हो त मानसिक रोगको उपचार गरे सबै ठीक भइहाल्थ्यो नि ! अन्य मानिस र तेस्रो लिङ्गीको व्यवहार फरक हुन्छ ।

फरक लैङ्गिक व्यवहारले केही तेस्रो लिङ्गीलाई संवेगात्मक तनाब दिएको हुन्छ । त्यसैले हामीमा जस्तो लैङ्गिक विशेषता भएको महसुस हुन्छ, सोही आधारमा पहिरन, शृङ्गार, रहनसहन र बानीव्यवहार देखाउँछौँ । जन्मिँदा छोरा तर व्यवहारमा छोरी देखिने तेस्रो लिङ्गीले महिलाकै र जन्मिँदा छोरी तर व्यवहारमा छोरा देखिनेले पुरुष आचरण देखाउँछन् ।

मलाई नै हेर्नोस, छोरा भएर जन्मिएँ । यौनाङ्ग छोराकै छ । तर, लैङ्गिक चेतना आएपछि आफूलाई महिला महसुस गर्न थालेँ । सलवार, कुर्ता, सारी, चोलोमा सजिएर हिँड्न थालेँ । लिपिस्टिक, क्रिम, पाउडर लगाउने, दाह्री-जुँगा आउन नदिने हरेक प्रयास गर्न थालेँ । महिलाको जस्तो स्तन बनाउन हर्मोन खाएँ तर नआएपछि थाइल्यान्ड पुगेर प्रत्यारोपण गराएँ । काठमाडौँकै एक निजी अस्पतालमा सर्जरी गरेर यौनाङ्गको केही भाग निकालिदिएँ । यसरी म हरसम्भव महिला बन्न उद्यत छु । मेरो जस्तो मानसिकता र व्यवहार अन्य महिला तेस्रो लिङ्गीमा पनि हुन्छ ।

हाम्रो समाज सृष्टिमा महिला र पुरुष मात्र छन् भन्ने धारणा राख्छ । त्यसैले जैविक रुपमा एउटा तर व्यवहारमा विपरीत लैङ्गिक व्यवहार देखाउने मानिस पारिवारिक र सामाजिक विभेदको शिकार बन्छन् । तेस्रो लिङ्गी भएकै आधारमा घरपरिवारबाट बहिष्कारमा पर्छन् । विद्यालयमा साथी र शिक्षकले गिज्याउँछन् । उनीहरु चैनले पढ्न पाउँदैनन् । कोर्स पूरा नगरी विद्यालय, कलेज छाड्न बाध्य हुन्छन् । छिमेक, गाउँ, टोलमा उनीहरुलाई जिस्क्याउने, हेयभावले हेर्ने गरिन्छ । उनीहरु आत्मसम्मानपूर्वक जिउन सक्ने ठाउँको खोजीमा भौँतारिन्छन् ।

यही वातावरण नपाउँदा धेरै तेस्रो लिङ्गीलाई मानसिक तनाब र डिप्रेसनले सताउँछ । उनीहरुको व्यक्तिगत चाहना नै रहेको यस्तो फरक लैङ्गिक व्यवहार परिवर्तन गर्न कुनै हालतमा सम्भव छैन । तर, परिवार र समाजले नबुझिदिँदा धेरै जना सहाराविहीन भएर सडकमा आइपुगेका छन् ।

विक्षिप्त अवस्थामा रहने तेस्रो लिङ्गीहरुलाई परामर्शदाताको सर्वाधिक खाँचो हुन्छ । तेस्रो लिङ्गी स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्थाहरुले सुझाएअनुसार यसरी परामर्श गर्न सकिन्छ :

दक्ष परामर्शदाताद्वारा परामर्श दिलाउने । तेस्रो लिङ्गीका रुपमा जीवन व्यतीत गरिरहेकाहरुसित भेटाउने र अन्तरक्रिया गराउने । हर्मोन थेरापिस्ट र तेस्रो लिङ्गी समुदायबीच अन्तरक्रिया गराउने । आफूलाई कस्तो लैङ्गिक विशेषता देखाउन मन लाग्छ सोहीअनुसार हर्मोन सेवन गर्ने । आत्मविश्वास र आर्थिक व्यवस्थापन गर्न सके अनुहारको कस्मेटिक सर्जरी गर्ने । स्तन, यौनाङ्गहरुको सर्जरी गर्ने, आवश्यकता अनुसार ट्रान्सप्लान्ट गर्ने ।

सबैले परामर्शदाताको सहयोग लिनैपर्छ भन्ने छैन । आत्मविश्वास भए परामर्शदाताको आवश्यकता पर्दैन । आफ्नो रुचिअनुसार लैङ्गिक पहिचान देखाउने चाहना भने धेरैमा हुन सक्छ । यस्तोमा हर्मोन सेवन उचित हुन सक्छ । महिला तेस्रो लिङ्गीले ‘एस्ट्रोजन’ सेवन गर्न सक्छन् । यसले शारीरिक रुपमा महिलापना बढाउँछ । पुरुष तेस्रो लिङ्गीले ‘टेस्टोस्टेरोन’ हर्मोन सेवन गरेर शारीरिक रुपमा आफूलाई पुरुष देखाउन सक्छन् । हर्मोनको जथाभाबी सेवन भने ठीक होइन ।

विशेषज्ञको परामर्श र निगरानीमा गर्नुपर्छ । चिकित्सकले आफूले दिएको हर्मोनले ल्याएको प्रभाव र ‘साइड इफेक्ट’बारे नियमित मूल्याङ्कन गर्छन् । कतिपयलाई हर्मोन सेवनले विपरीत र शारीरिक रुपमा निकै हानिकारक प्रभाव ल्याउँछ । त्यसैले चिकित्सकको परामर्श र निगरानीबिना सेवन गर्नु उचित हुँदैन ।

मैले पनि महिलापन बढाउन वर्षौंदेखि ‘एस्ट्रोजन’ हर्मोन सेवन गरिरहेकी छु । यसले मेरो दाह्री-जुँगा आउन रोकेको छ । छाला मुलायम बनाएको छ । कपाल पनि सर्लक्क परेको छ । हर्मोन सेवनपछि पनि स्तन भने सोचेजसरी वृद्धि भएन । त्यसैले बैङ्ककमा गएर जडान गरेँ ।

स्तन राख्दाको पनि लामो कहानी छ ।

हाम्रो समुदायका धेरै साथीलाई जन्मिँदा पाएका यौनाङ्ग बोझिला लाग्छन् । केटाको अङ्ग छ, भावना केटीको । केटीको अङ्ग छ, भावना केटाको । ममा पनि यो भावना आइरहृयो । हरेक क्षण ‘हे भगवान्, भोलि उठ्दा मेरा सबै पुरुष अङ्ग गायब भइदिऊन्, नारी-अङ्गले शरीर सजिएको होस्’ भन्दै पुकारिरहन्थेँ । बिहान-बेलुका पूजा गर्थें । मन्दिर जान्थेँ । व्रत बस्थेँ । तर अहँ, भगवानले मेरो पुकार कहिल्यै सुनेनन् ।

भगवानले नसुनेर के भयो त ? वैज्ञानिकहरुले हाम्रा लागि धेरै अनुसन्धान गरिदिएका रहेछन् । आत्मबल चाहियो, पैसा पनि हुनुपर्‍यो, सबथोक सम्भव रहेछ दुनियाँमा । मेरा धेरै साथी हर्मोन सेवन गर्छन् । आफ्नो इच्छाअनुसार महिला वा पुरुषको शारीरिक आकृति र हाउभाउ बनाउने प्रयास गरिरहेका छन् । महिला-शरीर भएका धेरै तेस्रो लिङ्गीलेे पुरुषको जस्तो दाह्रीजुँगा उमारेका छन् । पुरुषकै जस्तो कडा छाला र मोटो स्वर बनाएका छन् ।

यता, पुरुष-शरीर भएका मजस्ता धेरैले बोझ लागेको दाह्रीजुँगा नियन्त्रण गरेका छन् । महिलाको जस्तो कोमल छाला बनाएका छन् । कतिले आफ्नो पुरुष-छातीलाई महिलाकै जस्तो बनाएका छन् । मेरो दाह्रीजुँगा सानैदेखि खासै थिएन । छाला नरम बन्यो तर हर्मोन खाँदा पनि स्तन अरुको जसरी वृद्धि भएन । त्यही भएर फोमवाला ब्रा लगाएर हिँड्थेँ ।

सन् २०११ को प्रसङ्ग हो ।थाइल्यान्डमा ब्रेस्ट इम्प्लान्ट (स्तन जडान) देखि यौनाङ्ग परिवर्तनसम्मको सुविधा छ । स्तन जडानका लागि जाने सोचिरहेकी थिएँ । केही महिनापछि ट्रान्सजेन्डरसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रमको निम्तो आयो । बैङ्ककमै हुने रहेछ । नीलहिरा समाजको प्रतिनिधित्व गर्दै म र एउटी साथी त्यहाँ पुग्यौँ ।

हामी दुवै यहीँबाट पैसा जोहो गरेर गएका थियौँ । खोज्दै-खोज्दै ब्रेस्ट इम्प्लान्ट गर्ने क्लिनिक पुग्यौँ । सर्जरीका लागि नाम टिपायौँ । हामीलाई भोलिपल्ट आउन भनियो ।

क्लिनिकमा थरीथरी पोस्टर टाँसिएका थिए । तिनमा ब्रेस्ट हालेपछि प्रसन्न तेस्रो लिङ्गीका तस्बिर अङ्कित थिए । म पनि त्यस्तै खुसी पाउने लोभले पुलकित भइरहेकी थिएँ ।

भोलि कहिले आउला र टमक्क ब्रेस्ट हालौँला भनेर हतारिइरहेँ । नाम टिपाएर आएको रात मलाई निद्र्रै लागेन । भोलिपल्ट डाक्टरले बोलाएको समयभन्दा अलि अगाडि नै पुगेँ । साथी पनि सँगै थिइन् । हाम्रो पालो आयो ।

सर्जरी कक्षभित्र पस्यौँ । नर्सले गाउन लगाउन दिइन् । सुई लगाएर पेटदेखि माथि र घाँटीदेखि तलको भाग लट्ठयाइदिइन् । पूर्ण बेहोस बनाइनन् । आँखा खुलै थियो । डाक्टरले धमाधम मेरो काखीमुनि चिर्न थाले, मेवा चिरेजसरी । खासै दुखेको त थिएन तर आँखा खुलै भएकाले डर भने लागिरहेथ्यो ।

हल्लिन खोज्थेँ, डाक्टर ‘स्लिप, स्लिप’ भन्थे । म डरले थर्कमान हुँदै भन्थेँ, ‘आई एम फिलिङ अफ्रेड ।’

बोल्दाबोल्दै एकैछिनमा बेहोसी बढ्यो । आँखा चिम्म गरेँछु । सर्जरीका लागि करिब एक घण्टा लाग्यो । मेरा आँखा अलिअलि खुले, आंशिक चेतनामा आएँ ।

चिरिएको काखीमुनिबाट डाक्टरले धमाधम सिलिकन भर्दा रहेछन्, बोरामा बालुवा भरेजसरी । टाँका लगाएर काखीमुनिको भाग टमक्क टालेछन् ।

डाक्टर र नर्स दुवैले बोकेर मलाई अर्को बेडमा सारे । चिरेको ठाउँमा ब्यान्डेज लगाइदिए । जुस पिउन दिए ।

‘नाउ यू सी अ पर्फेक्ट लेडी’, डाक्टरले मुस्काउँदै भने ।

होस पूरा खुलेपछि ढाड असाध्यै दुखेको महसुस भयो । डाक्टरलाई भनेँ । उनले पेनकिलर दिए, अलि सन्चो महसुस गरेँ ।
करिब चार घण्टापछि हामीलाई ‘आराम गर्न होटल गए हुन्छ’ भनियो ।

‘कम आफ्टर वान विक’, डाक्टरले बिदा गर्दै भने, ‘टेक केयर ।’

मलाई बेडबाट उठेर हिँड्न साहै्र गाह्रो भयो । छाती ढुङ्गाजस्तो साह्रो भएको थियो । हिँड्दा अगाडि ब्याग बोकेजस्तो भारी भयो । निकै अप्ठ्यारो र पीडा झेल्दै होटल पुग्यौँ । दुखाइका कारण दुवैलाई केही रुचेन । जुसका भरमा रात कटायौँ ।

बाहिर कतै हिँड्न सकिएको होइन । सास फेर्नै गाह्रो भयो । कहिल्यै नबोकेको भारी बोकेर होला, साताभरि नै होटल रुममा बितायौँ ।

डाक्टरले बोलाएका दिन फेरि पुग्यौँ ।

नर्सले बेडमा उत्तानो पर्न लगाइन् । दुवैको ब्यान्डेज खोलिदिइन् । स्तन झर्ने हो कि, डल्लो पो पर्ने हो कि ? यही सोचेर हलचल नगरी सुतिरहेँ ।

डाक्टर आइपुगे । साथीको स्तन छामछुम पारे । ‘पर्फेक्ट,’ उनले उज्यालो अनुहार बनाए । अनि मेरो स्तन छामे । तर, निधार खुम्च्याए । लौ फसाद, फेरि के आइलाग्यो Û म तर्सिएँ ।

सिलिकन भरेको मिलेनछ क्यारे ! डाक्टरले फेरि मोटोमोटो सुई स्तन वरिपरि लगाइदिए । त्यसपछि ‘ठीक छ’ भन्दै पठाइदिए ।

दुई दिनपछि हामी नेपाल फर्कियौँ ।

ममा मनोवैज्ञानिक त्रास बढिरहृयो । डाक्टरले ६ महिनासम्म ब्रा, कसिलो लुगा नलगाउनू भनेका थिए । स्कुटी चढ्थेँ । झ्याप्प ब्रेक लगाउँदा ब्रेस्ट एकै पोका भएर भुइँमा खस्ने हो कि ? यताउता सरेर विरुप बन्ने पो हुँ कि ? भन्ने लागिरहन्थ्यो । महिनौँ सुत्न सकिनँ । रातभर उत्तानो परेर जागाजस्तै रहन्थेँ । एक मन त पहिलाकै फोमवाला ब्रा नै ठीक भन्ने लाग्यो । तर के गर्नू, दुई लाख नेपाली रुपैयाँ खर्चेर यत्रो पीडा सहँदै ब्रेस्ट इम्प्लान्ट गरेकी थिएँ । फेरि निकाल्न गाह्रो थियो । नेपालमा त्यस बेला त्यस्तो सुविधा पनि त थिएन ।

छातीमा झन्डै दुई केजीको भारी थपिँदा ‘एडजस्ट’ हुन गाह्रो परिरहेको थियो । अहिले भने ‘एडजस्ट’ भइसकेको छ । अरु केटीको जस्तो मेरो स्तन पनि टम्म मिलेको छ । फिटिङ सामान्य भइसक्यो । अब मलाई आफ्नो ब्रेस्ट भारी लाग्दैन । जडान गरिएको भए पनि मलाई सन्तुष्टि दिएको छ ।

अहिले त नेपालमै ब्रेस्ट इम्प्लान्ट सुविधा भित्रिसकेको छ । स्तनको साइज घटाउन-बढाउन सकिन्छ । कस्मेटिक सर्जरी गरिने अस्पतालहरुमा आफूले चाहेको साइजमा ब्रेस्ट जडान गर्न सकिन्छ । तर, बैङ्ककमा भन्दा अलिक महँगो छ यहाँ । बैङ्ककमा नेपाली दुई लाख रुपैयाँ खर्च हुन्छ भने यहाँ करिब २ लाख ७५ हजार ।

****

ब्रेस्ट इम्प्लान्टपछि बल्ल केटीको जस्तो आकृति पाउन सकेँ । यौनाङ्ग पनि परिवर्तन गर्न पाए हुन्थ्योजस्तो लाग्न थाल्यो । तर, नेपालमा यौनाङ्ग परिवर्तनको सेवा उपलब्ध थिएन । विदेश जाँदा पनि महँगो पर्ने भएकाले काठमाडौँकै एक निजी अस्पतालमा यौनाङ्गको केही भाग हटाउने निर्णय गरेँ । तर, पूरै यौनाङ्ग हटाएर स्त्रीको जस्तो आकृति बनाउन गाह्रो रहेछ । त्यही भएर डाक्टरको परामर्शमा अर्किटोमी अर्थात् टेस्टिज मात्र फाल्ने निर्णय गरेँ ।

पुरुषहरुमा हुने फरक हर्मोनकै कारण स्वर धोद्रो हुन्छ । ज्यान ठूलो हुन्छ । नसा देखिन्छ । छाला कडा हुन्छ । यी सबैबाट मुक्ति पाउनकै लागि टेस्टिज हटाएकी हुँ । अहिले मेरो शरीरमा यस्तो हर्मोन विकास हुँदैन । टेस्टिज निकालेपछि शारीरिक रुपमा कमजोर महसुस गर्न थालेँ । त्यसैले आफूलाई बलियो र मजबुत बनाउन नियमित महिला हर्मोन खाइरहेकी छु ।

यो हर्मोनले व्यापक साइड इफेक्ट पनि ल्याउँछ । ग्यास्टिक, दम, थाइराइड, चायाँपोतो, डन्डीफोर, उच्च रक्तचापजस्ता समस्या निम्तिन सक्छन् । तैपनि हर्मोन सेवन हाम्रा लागि जरुरी छ । कतिपय तेस्रो लिङ्गी साथीहरु विभिन्न गर्भनिरोधक औषधिसमेत खाइरहन्छन् । यसको अनियन्त्रित र अव्यवस्थित प्रयोगबाट ब्रेस्ट क्यान्सरजस्तो जटिल समस्या आउन सक्छ । त्यसैले सजग हुनैपर्छ ।

हर्मोन साथसाथै लिभ ५२ पनि प्रयोग गर्नुपर्छ । यससँगै पानी प्रशस्त पिउनुपर्छ । अन्यथा धेरै नकारात्मक असर गर्न सक्छ । कतिपय साथी परिवार नियोजनका लागि प्रयोग हुने ‘निलोकन’ चक्की पनि प्रयोग गर्छन् । मैले हर्मोन मात्र प्रयोग गरिरहेकी छु । म नेवार परिवारभित्रकी तेस्रो लिङ्गी महिला हुँ । हाम्रो सबै कुरा प्राकृतिक नै हुन्छ । नारी-स्वभावअनुरुप मलाई शृङ्गार असाध्यै मन पर्छ ।

****

विश्वमै अब लिङ्ग परिवर्तन सामान्य भइसकेको छ । लैङ्गिक अल्पसङ्ख्यकहरु आफूले चाहेजस्तो लिङ्ग परिवर्तन गरी सुखद जीवन बिताउन सक्षम छन् । पश्चिमी मुलुकमा आर्थिक अवस्था सहज हुनेले निर्बाध लिङ्ग परिवर्तन गराउन सक्छन् । हिन्दुस्तान र थाइल्यान्डमा पनि लिङ्ग परिवर्तन र प्रत्यारोपण सुविधा छ ।

आयरल्यान्डकी जेमी ओहरलिही जन्मिँदा छोरा थिइन् । उनको व्यवहार बदलिँदै गयो । उनी स्त्री स्वाभावकी भइन् । अन्ततः लिङ्ग परिवर्तन गरेर स्त्री भइन् । तर, धेरै प्रयास गर्दा पनि प्रेमी बनाउन सकिरहेकी थिइनन् । आखिरमा आफूजस्तै लिङ्ग परिवर्तन गराएका एक साथी भेटिन् । हृयारी म्याथुस नामका ती युवकसँग उनको प्रेम बस्यो । हृयारी पहिला युवती थिए । लिङ्ग प्रत्यारोपणबाट केटा भएका रहेछन् । हृयारीले मिडियासँग भनेका थिए, ‘हामी दुवैले एउटै पीडा, प्रक्रिया र अवस्था भोगेकाले हाम्रो कुरा मिल्छ । यही कारण हाम्रो प्रेमसम्बन्ध प्रगाढ छ ।’

बेल्जियमको एउटा घटना पनि कम्ति रोचक छैन । जेन नामक व्यक्तिले बिहेको १९ वर्षपछि मात्र पत्नी तेस्रो लिङ्गी भएको थाहा पाए । उनले सन् १९९३ मा इन्डोनेसियाकी मोनिकासँग बिहे गरेका थिए । मोनिकामा आममहिलामा हुने सम्पूर्ण गुण थिए । कुनै सुन्दरीभन्दा कम थिइनन् । शारीरिक सम्पर्क गर्दा पनि श्रीमतीमाथि कुनै शङ्का नभएको जेनले बताएका छन् ।

एक दिन जेनले मोनिकाको कम्प्युटरमा केही पुरुषले पठाएका ‘सेक्सी म्यासेज’ फेला पारे । पतिपत्नीबीच झगडा सुरु भयो । विवाद प्रहरीसम्म पुग्यो । मोनिकालाई पनि चिन्दै आएका जेनका साथीहरुले बताएपछि मात्र उनले थाहा पाए- श्रीमती जन्मिँदा पुरुष रहिछन्, लिङ्ग परिवर्तन गराएकी रहिछन् । लिङ्ग परिवर्तनको कस्तो शक्ति ? १९ वर्षसम्म पनि पतिले पत्तै पाएनन् !

नेपालमा पनि अभिनेता सन्तोष पन्तका छोरा लिङ्ग परिवर्तनपछि ‘क्याटलिन पन्त’ बनेका छन् । झापाकी नुमा सुब्बाले पनि लिङ्ग परिवर्तन गराएकी छिन् । बैङ्ककको प्रतुनाम पोलिक्लिनिकमा शल्यक्रियामार्फत आफ्नो जन्मजात लिङ्ग हटाइन् । लिङ्ग परिवर्तनअघि उनले स्तनको शल्यक्रिया गराइसकेकी थिइन् ।

नेपालगञ्जका लालबहादुर कुँवर लिङ्ग परिवर्तन गरेर ‘रानी कुँवर’ बने । दुई छोराका बाबु उनले आफू जन्मजात तेस्रो लिङ्गी भए पनि परिवारले जबर्जस्ती विवाह गरिदिएकोमा दुखेसो पोखेका थिए । झापाकी सोहनी धिमाल लिङ्ग परिवर्तनपछि पुरुषबाट महिला बनिन् । नेपालमै हालसम्म २०-२५ जनाले लिङ्ग परिवर्तन गराइसकेका छन् । अरु पनि हुन सक्छन् तर कतिपय समाजमा खुलेर देखिन चाहँदैनन् ।

स्तन राखेपछि र अर्किटोमी निकालेर फालेपछि मेरो पनि केटापन हट्दै गएको छ । महिलाको जस्तो कोमल आभास बढ्दै गयो । हात, गोडा र अनुहार सबैतिर महिलाकै जस्तो नरम छाला भयो । अनि मैले पुरुष-लिङ्ग हटाएर महिला-यौनाङ्ग प्रत्यारोपण गर्ने सोच पनि बनाएँ । तर, नेपालमा यो सम्भव रहेनछ । बैङ्ककमा गरे सस्तो र भरपर्दो हुन्छ भन्ने जानकारी पाएँ । त्यहाँ पनि ११ लाख रुपैयाँ त कम्तीमा लाग्ने रहेछ । मसित अहिले त्यति धेरै पैसा छैन । अब दुई विकल्प छन्- लिङ्ग परिवर्तनका लागि पैसा नजुटुन्जेल पर्खेर पस्ने वा जेजस्तो अवस्थामा छु त्यसैमा बाँकी जीवन बिताउने ।

लिङ्ग परिवर्तन असम्भव छैन, जटिल भने अवश्य छ । शल्यक्रियामा तेस्रो लिङ्गी महिलाको हकमा लिङ्ग हटाई योनी प्रत्यारोपण गरिन्छ भने पुरुषको हकमा योनिको स्थानमा लिङ्ग बनाइन्छ । लिङ्गलाई योनिमा परिणत गर्न जति सहज छ, लिङ्ग राख्नचाहिँ अलि जटिल मानिन्छ । लिङ्ग परिवर्तनपछि पनि उनीहरुले यौनसुख प्राप्त गर्न सक्छन् ।

अपरेसनका क्रममा अण्डाशय बाहिर निकालेर लिङ्गलाई योनि आकारमा बदलिन्छ ।

लिङ्गमा तीन किसिमका नसा हुँदा रहेछन् । पिसाब उत्पादन हुनेबाहेक बाँकी नसा काटिन्छ । लिङ्गलाई योनीको आकारमा बदलेर योनिद्वार बनाइन्छ । यो शल्यक्रिया आठ घण्टासम्म चल्छ । कतिपय पश्चिमी देशमा चिकित्सकको दुई वर्षको निगरानीपछि मात्र शल्यक्रिया गर्ने प्रावधान छ । एसियाली देशहरुमा भने यतिको समय लाग्दैन ।

जे होस्, लिङ्ग परिवर्तन, अङ्ग प्रत्यारोपण र हर्मोन सेवन सबै प्रविधि खर्चिलो छ । जोकसैले बेहोर्न सक्दैन । त्यसमाथि घरपरिवार, समाज र रोजगारस्थलमा अनेकौँविभेद सामना गर्नुपर्ने तेस्रो लिङ्गीको आयस्रोत भरपर्दो हुँदैन । धेरैले त घरपरिवार छाडेर टाढा र अपरिचित ठाउँमा गुजारा गर्नुपर्ने हुन्छ । त्यसैले उनीहरु डिपे्रसन, खिन्नताजस्ता मानसिक समस्याले ग्रस्त रहन्छन् । कतिले सहन नसकेर आत्महत्याको बाटो पनि रोज्छन् । सर्वेक्षण गर्ने हो भने लिङ्ग परिवर्तन चाहने तेस्रो लिङ्गी थुप्रै छन् ।

हुन त अहिले समाज निकै उदार हुँदै छ । तेस्रो लिङ्गीले आफ्नो पहिचानमा जिउन पाउने भएका छन् । नेपाल मात्र होइन, दर्जनौँ मुलुकका कानुनमा तेस्रो लिङ्गीको पहिचान स्थापित छ । राज्यले सुविधा दिएको छ । नेपालमै पनि तेस्रो लिङ्गी भएकै आधारमा राजनीतिक दलमा प्रवेश पाएका छन् । नीलहिरा समाजका संस्थापक अध्यक्ष सुनीलबाबु पन्त सभासद्समेत हुनुभयो । तेस्रो लिङ्गीले आफ्नै पहिचानमा नागरिकता पाइरहेछन् । त्यसैले हामीले लघुताभास गर्न हुँदैन । आफ्नो पहिचानबारे खुलेर बोल्नुपर्छ । लैङ्गिक आधारमा विभेद गर्न पाइँदैन । हामीले सम्मानजनक तबरले बाँच्ने दिन आइसकेको छ ।

अभिनेता पन्तकी छोरी क्याटलिनलाई नै हेरौँ । लिङ्ग परिवर्तनपछि मिडियामा निकै छाइन् । नेपाली समाजमा लिङ्ग परिवर्तन गर्न पाइने निजी अधिकारको नजिर बनेकी छन् उनी ।

म पनि महिलाको पूर्ण यौनाङ्ग राख्ने कि नराख्ने, सोचिरहेकी छु । निर्णय लिइसकेकी छैन । ऐनाअगाडि उभिँदा आफैँलाई के-के नमिलेजस्तो अनुभव हुन्छ । यौनाङ्ग परिवर्तन गरे पनि तेस्रो लिङ्गी महिलाको पाठेघर हुँदैन । महिनाबारी हुँदैन, त्यसैले बच्चा पनि जन्माउन सकिँदैन । अनि फेरि प्रकृतिले आफूलाई जुनरुपमा जन्म दियो, त्यही स्वरुपको माया लाग्दो रहेछ । त्यसैले कतिपय तेस्रो लिङ्गी महिला-पुरुष आफू जुन रुपमा जन्मिइयो, त्यसैमा रमाएर जीवन बिताइरहेका छन् ।

(भूमिका श्रेष्ठको कृति ‘भूमिका (तेस्रो लिङ्गीको आत्मकथा) को अंश । यो पुस्तक पौष २७ गते लेखन कुञ्ज, नयाँबानेश्वरमा विमोचन हुँदैछ)

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...