नयाँ पेट्रोल पम्पका लागि आवेदन खुला

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १९ बैशाख ।

नयाँ पेट्रोल पम्प सञ्चालनका लागि नेपाल आयल निगमले आवेदन खुला गरेको छ । पछिल्लो समय सडकको विस्तार भई गाउँगाउँमा यातायातको पहँुच पुगेको, सवारी साधनको सङ्ख्या पनि वृद्धि भइरहेको र पेट्रोलियम पदार्थको बिक्रीमा प्रतिस्पर्धा बढाउन नयाँ आवेदन खोलिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याई आवेदन खुला गरेको निगमले जनाएको छ । ‘‘पेट्रोल पम्पमा लगानी गर्न व्यवसायी उत्साहित छन, प्रवक्ता वीरेन्द्र गोइतले भने,’ पम्पको आवश्यकता पनि बढेको छ, बजारमा प्रतिस्पर्धा हुनुपर्छ, जिल्ला र गाउँगाउँमा बाटो पुगेको छ त्यहाँ सवारी साधन पनि चलेका छन् तर पम्प जिल्ला सदरमुकाममा मात्र केन्द्रित छन, घरघरमा मोटरसाइकल हुनु सामान्य भइसक्यो तर पम्प टाढा छन् । ’

पम्प सञ्चालनका लागि नयाँ मापदण्ड तोकिएको छ । निवेदन शुल्क ५० हजार रुपियाँ छ । निगमले नमुना पेट्रोल पम्प र साधारण पेट्रोल पम्प गरी दुई वर्गमा वर्गीकरण गरेको छ । नमुना पेट्रोल पम्प जुनसुकै बेला पनि सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ तर साधारण पम्पका लागि आवेदन खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

साधारण पम्प सञ्चालनका लागि नयाँ मापदण्ड निर्धारण गरिएको छ । पूर्वपश्चिम राजमार्गमा १० कठ्ठा जमिन हुनुपर्ने प्रावधान छ । राजमार्गमा मोहडा कम्तीमा ५० मिटर हुनुपर्नेछ । सहायक तथा व्यापारिक सडकमा २५ सय वर्ग्मिटर आठ कठ्ठा वा पाँच रोपनी र सडकतर्फको मोहडा कम्तीमा ३४ मिटर तोकिएको छ । सहायक तथा जिल्ला सडकहरूमा कम्तीमा १२ सय वर्ग मिटर वा चार कट्ठा वा दुई रोपनी छ आना जमिन हुनुपर्नेछ । सडकतर्फको मोहडा कम्तीमा २५ मिटर हुनुपर्नेछ ।

साधारण पम्पको लागि एकदेखि अर्को पम्पको दूरी तीन सय मिटर तोकिएको छ । पूर्वपश्चिम राजमार्गको हकमा पाँच सय मिटर तोकिएको छ । नमुना पम्पको बिक्रेताको दूरी भने १० किलोमिटर तोकिएको छ । आगामी छ महिनाभित्र बिक्रेताको नियुक्ति गरिसक्नुपर्ने प्रवक्ता गोइतको भनाइ छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...