स्कटल्याण्डविरुद्ध अफगानिस्तान २ रनले विजयी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, वैशाख २८ ।

स्कटल्याण्ड विरुद्धको एकदिसीय सिरिजको दोस्रो खेलमा अफगानिस्तान २ रनले विजयी भएको छ । शुक्रबार राति भएको खेलमा वर्षाले खेल रोकिँदा स्कटल्याण्डलाई २ रनको झिनो अन्तरले हराउँदै अफगानिस्तान विजयी भएको हो । टस हारेर ३२६ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले ४४.५ ओभरमा ३ विकेट गुमाउँदै २६९ रन बनाएर खेलिरँदा वर्षाले खेल अवरुद्ध भएको थियो ।

वर्षा नरोकिएपछि ‘डिएल मेथड’ का आधारमा अफगानिस्तानलाई २ रनले विजयी घोषणा गरिएको थियो । अफागानिस्तानका लागि अलराउन्डर रहमत शाहले शतक प्रहार गरे । उनले ११ चौका र २ छक्काको मद्दतमा ११५ बलमा ११३ रन बनाए । यस्तै, मोहम्मद साहजादले ५५, हजरतुल्लाह जजाईले ११, हसमुतुल्लाह शहीदीले नट आउट ५९ र अश्गर अफगानले अविजित २२ रन बनाए । बलिङमा स्कटल्याण्डका ब्राड व्हील, टम सोले र अलास्ड इभान्सले एक–एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३२६ रन बनायो ।

उसका लागि कलुम म्याक्लओडले शतक प्रहार गरे । उनले एक छक्का र १० चौकाको मद्दतमा ८९ बलमा १०० रन बनाए । कप्तान केलिट कोइट्जरले ७९, म्थायु क्रसले ३२, रिची बर्गिन्टनले ३३, जर्जी मुन्सीले २० र क्रेग वाल्सेले २० रन बनाए । बलिङमा अफगानिस्तानका कप्तान गुल्बिन्दन नइबले ३, हमिद हसन र अफब आलमले २–२ विकेट लिए । दुई खेलको सिरिज अन्तर्गतको पहिलो म्याच वर्षाका कारण रद्द भएको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...