पूर्वी भागमा गयो ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प, यस्तो छ क्षतिको बिबरण

हाम्रो सन्देश संवाददाता

काठमाडौँ,३१ वैशाख ।

भूकम्प कति बेला आउँछ र कति ठूलो आउँछ भनेर पूर्वानुमान गर्न सकिँदैन । त्यस्तै अवस्था भएको छ प्रशान्त महासागरमा रहेको टापू देश पपुवा न्यूगिनीमा ।

त्यहाँ मंगलबार ७.२ म्यानिच्युडको शक्तिशाली भूकम्प गएको हो । उक्त शक्तिशाली भूकम्प गएपनि भौतिक क्षति तथा हाताहाती भएका मानिसहरुको संख्याबारे यकिन जानकारी आएको छैन ।

भूकम्प मंगलबार स्थानीय समय अनुसार ७ः२० आएको थियो । भूकम्प देशको पूर्वी भागमा रहेको वुलोलोबाट ३३ किमी दक्षिणपूर्वी भागमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । महाभूकम्प जमिनभन्दा १ सय २७ किलोमिटरमुनि रहेको भूगर्भविद्ले बताएका छन् ।

भूकम्पले जमिनको सतहभन्दा निकै गहिराईमा केन्द्रबिन्दू बनाएको छ । जसले सुनामीको सम्भावना नरहेको प्रशान्तीय सुनामी सतर्कता केन्द्रले बताएको छ । भूकम्पको धक्का २ सय ५० किमी टाढा रहेको राजधानी पार्ट मोरेस्वीसम्म महसुस गरिएको समाचारमा जनाइएको छ ।

त्यस्तै टर्कीमा एकजनालाई ५३ वटा जन्मकैद तथा ५ हजार ३ सय ६ वर्ष ६ महिनाको जेल सजायको फैसला सुनाएको छ । सन् २०१३ मा सिरिया र टर्कीको सीमामा रहेको हाते प्रान्तको रेहानली शहरमा ५२ जनाको ज्यान जानेगरी भएको दोहोरो बम आक्रमणको मुख्य योजनाकार युसुफ नाजिक नाम गरेका टर्किस नागरिकलाई ५३ वटा जन्मकैदको फैसला सुनाएको हो ।

उनलाई राष्ट्रिय एकता भंग गराउन खोजेको एक अभियोगमा एक जन्मकैद तथा अन्य ५२ जनाको मृत्युका लागि ५२ वटा जन्मकैद सुनाइएको टर्कीको सरकारी समाचार संस्था अनादोलुले जनाएको छ ।

त्यसबाहेक १३० जनाको ज्यान लिने प्रयास गरेको लगायतका अन्य अभियोगमा उनलाई अरु ५ हजार ३ सय ६ वर्ष ६ महिनाको जेल सजाय समेत सुनाइएको अनादोलुले जनाएको छ । उनलाई सिरिया सरकारको नियन्त्रणमा रहेको लताकिया प्रान्तबाट टर्किको गुप्तचर संस्था एमआईटीले पक्राउ गरेको गत सेप्टेम्बरमा खुलासा भएको थियो ।

यसअघि टर्की सरकारले उक्त आक्रमणमा सिरिया सरकार र सिरियाको गुप्तचर निकाय मुखाबरातको हात रहेको आरोप लगाउँदै आएको थिए । पक्राउ परिसकेपछि नाजिकले आफूलाई आक्रमण गर्न सिरियाली अधिकारीबाट सहयोग मिलेको स्वीकार गरेको अनादोलुले जनाएको छ । रेहानली बम आक्रमणमा संलग्न रहेको अभियोगमा अरु २२ जनालाई यसअघि नै सजाय सुनाइसकिएको छ।

उता श्रीलंकाका अल्पसंख्यक मुस्लिम समुदायमाथि हिंसा बढ्न थालेपछि सरकारले रातिको समयमा कर्फ्यु आदेश जारी गरेको छ । मस्जिद तथा मुसलमानहरुका व्यापारिक प्रतिष्ठानमा हिंसा बढेको भन्दै श्रीलंका सरकारले देशभर रातको समयमा कर्फ्यु आदेश जारी गरेको हो । उत्तर पश्चिमी क्षेत्रमा रहेको कुरूनेगाला जिल्लामा अल्पसंख्यक मुसलमान समुदाय र बहुसंख्यक बुद्धमार्गी समूहबीच हिंसात्मक झडप भएपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

श्रीलंकाका प्रहरी प्रवक्ता एसपी रुवान गुणशेखरले उत्तर पश्चिमी शहरहरू कुलियापिटिया, विङ्गीरिया, धुम्मलासुरिया, हेट्टीपोला, रसनायकापुर र कोवैगानेका नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको बताए ।

दुई समुदायबीच भएको पछिल्लो झडपमा मुसलमानहरूको धार्मिक आस्थाको केन्द्र मस्जिदहरूका सम्पत्तीमा क्षति पुगेको छ । झडपपछि हिंसाका थप घटना नहोस् भन्नका लागि प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले विज्ञप्ति जारी गरी सवै समुदायलाई संयमित बन्न आग्रह गरेका छन् । विज्ञप्तिमा गलत तथा भ्रामक सूचनाबाट प्रभावित नबन्न र शान्त रहन आग्रह गरिएको छ ।

सरकारले गलत सूचना सम्प्रेषण नहोस् भन्नका लागि फेसबुक, ह्वाट्सएपलगायतका सामाजिक सञ्जाल अनिश्चितकालका लागि बन्द गरेको छ ।

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...