प्रहरीले नै गरे वैतडीमा ६५ वर्षीय वृद्धको कुटीकुटी बीभत्स हत्या

हाम्रो सन्देश संवाददाता

वैतडी,३१ वैशाख ।

वैतडीको पाटन-६, भकुडामा प्रहरीको कुटपिटबाट ६५ वर्षीय वृद्धको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । गएराति स्थानीय कमलकान्त पन्तको मृत्यु भएको थियो ।

महिलालाई हँसिया देखाएको आरोपमा पन्तका छोरा लवदेवलाई पक्राउ गर्न गएको प्रहरी टोलीले उनीमाथि कुटपिट गरेको थियो । जसको कारण उनको मृत्यु भएको दाबी स्थानीयको छ ।

प्रहरीमाथि अनुसन्धानको माग गर्दै स्थानीय र आफन्तले मृतक पन्तको शव उठाउन मानेका छैनन् । इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक इन्द्र गिरीले प्रहरीले वृद्धमाथि कुटपिट गरेको स्वीकारेका छन् । ‘छोरालाई पक्राउ गर्न खोज्ने क्रममा अवरोध गरेपछि सामान्य लाठी र हातले एक झापड हानेको रहेछ’, उनले भने, ‘तर, प्रहरीको कुटाइबाट उनको मृत्यु भएको होइन ।’

पन्तको कसरी मृत्यु भयो भन्ने विषय पोष्टमार्टमपछि मात्रै खुल्छ । जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डीएसपी नेत्रमणि गिरीले प्रहरीको कुटाइबाट पन्तको मृत्यु भएको देखिए दोषीमाथि कारबाही हुने आश्वसन दिए ।

‘सामान्य कुटपिट गरेको त्यहाँ गएको टोलीले स्वीकारिसकेको छ’, उनले भने, ‘थप कुरा पोष्टमार्टम भएपछि मात्रै भन्न सकिएला ।’ सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी सुरज केसीले पनि घटनाको छानविन हुने बताउँदै दोषी देखिए कारबाही हुने जनाए ।

उता मुसलधारे वर्षा र हावाहुरीसँगै मंगलबार बिहान परेको चट्याङले मोरङको रतुवामाई नगरपालिका-४ कठघरामा ५० वर्षीया महिलाको मृत्यु भएको छ। एकै परिवारका दुईजना घाइते भएका छन्।

बिहान १ बजेतिर अचानक परेको चट्याङले घरमै सुतिरहेकी सन्झादेवी सिंह गनगाईको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए। उनको घटनास्थलमै मृत्यु भएको थियो।

चट्याङले सन्झादेवीका देवर ५० वर्षीय बुधलालसिंह गनगाई र बुधलालका छोरा १५ वर्षीय सुरेशसिंह गनगाई घाइते भएको जानकारी प्रहरी निरीक्षक साहले दिए। सामान्य अवस्थाका दुवै घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ।

त्यस्तै लिखु गाउँपालिका-३ बस्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने ५५ वर्षीय बिष्णु कुमार श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई गत चैत ७ गते जबरजस्ती करणी गरी फरार भएका श्रेष्ठलाई खोजी गर्ने क्रममा मानेभञ्ज्याङ गाउँपालिका-७ मा फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...