बाँकेको प्रहरी चौकीमा एकाएक आक्रमण, ६६ राउन्ड गोली चल्यो, घटनाबारे यसो भन्छन् प्रहरी

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,४ ज्येष्ठ ।

प्रहरीले चरेस ओसारपसारको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेपछि बाँकेको नरैनापुर क्षेत्र शुक्रबार रातभर तनावग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउण्ड हवाई फायर गर्नु परेको छ ।

पाँच किलो चरेसहित पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिँदै एक समूहले नरैनापुर गाउँपालिका ५ स्थित भगवानपुर प्रहरी चौकी घेराउ गरेको थियो । सो समूहले प्रदेश सांसद कृष्णा केसी ‘नमूना’सहितको टोलीमाथि पनि आक्रमण प्रयास गरेको थियो ।

डिएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले साँझ पाँच बजेतिर भारतीय नागरिक देवीविन विश्वकर्मालाई सीमा क्षेत्र नरैनापुरबाट चरेससहित पक्राउ गरेर ल्याएको थियो । त्यसको विरोधमा भारतीय नागरिकहरुको ठूलो समूह चौकी घेर्न आएको थियो ।

चौकी घेराउसँगै तोडफोड र ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ६५ राउण्ड हवाई फायर गर्नुपरेको बाँके प्रहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रहरीले हवाई फायर गरेपछि सो समूह तितरवितर भएको थियो । प्रहरी नायब उपरीक्षक सापकोटाका अनुसार शुक्रबार राति १२ बजेदेखि स्थिति नियन्त्रणमा आएको छ । यद्यपि थप घटना हुन सक्ने आशंकामा उच्च सतर्कता अपनाइएको छ ।

विश्वकर्मालाई नियन्त्रणमा लिएपछि मुचुल्का उठाउन गएको प्रहरी टोलीलाई भारतीय युवाको समूहले घेरा हालेको थियो । सो समूहले इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड समेत गरेको छ ।

त्यहाँ प्रहरीको उपस्थिति कमजोर देखेपछि थप युवाको समूह बढ्दै गएर चौकी नै घेराउ गर्न आएको थियो । स्थिति गम्भीर बन्दै गएपछि नेपालगञ्जबाट सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीसमेत नरैनापुर प्रहरी चौकीलाई साथ दिन पुगेका थिए ।

गत साता भारतीय समूहले एक तस्करलाई नरैनापुर चौकीबाटै छुटाएर लगेका थिए । ‘शुक्रबार पनि त्यस्तै गर्ने उद्देश्यले आएका थिए, तर उनीहरुको प्रयासलाई सफल हुन दिएनौं,’ सापकोटाले भने ।

आफ्नो निर्वाचन क्षेत्रमा गएको बेला प्रदेश सांसद कृष्णा केसीको टोलीलाई समेत भारतीयको समूहले चार घण्टासम्म घेरा हालेर राखेको थियो । उनको गाडीमा आगजनीको प्रयाससमेत भएको थियो । तर, सशस्त्र प्रहरीको सहयोगमा प्रहरीले कडा सुरक्षा दिएर सांसद केसीसहितको टोलीलाई उद्धार गरेको थियो ।

यसअघि बिहिबार पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट भएको थियो ।

कसरी घट्यो घटना ?

इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आएर बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहसँग बाटो बारे सोधपुछ गरेका थिए । तर उनले गलत बाटो देखाए ।

तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गर्दा करीब पाँच नेपाली घाइते भएका थिए ।

किनमेल गर्न गएका नेपालीलाई भारतीयले महिला पुरुष जसलाई देख्यो त्यसलाई नै बाँसको चिर्पटले कुटपिट गरेको स्वीकार गरेपछि इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले दोषीलाई कारवाहीका लागि भारतको सहोदरवा थानालाई अनुरोध गरेको बताए ।

सो घटनाको जानकारी हुने बित्तिकै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्त, सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर विकसहितका टोली भिखनापुरी गई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा टिम्बरलाइनबाट नेपालीको उद्धार गरेका थिए ।

भारतीय पक्षको कुटाइबाट ठोरी गाउँपालिका–२ का विष्णु विष्ट, सुन्दरबस्तीका ५३ वर्षीय कमल खवास, इच्छा नगरकी २१ वर्षीया सदीक्षा पन्त, १२ वर्षीया सुष्मा पन्तलगायत पाँच घाइते भएका छन् । भारतीयको कुटाइबाट टाउकोमा चोट लागि घाइते भएका विष्णु विष्टलाई थप उपचारका लागि नारायणगढतर्फ लगिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा भिखना ठोरीस्थित सहोदरवा थानाका प्रहरी नायब निरीक्षक धनञ्जयकुमारसँग टेलिफोन सम्पर्क गर्दा उनले दोषीहरु फरार भएकोले उनीहरुको खोजी भइरहेको बताए ।

घटनालाई लिएर कुटपिट गर्ने समूहमाथि आवश्यक कारवाहीको माग गर्दै पीडितहरुले भारत भिखना ठोरीस्थित सुभद्रा थानामा उजुरी दिएपछि भारतीय सीमा सुरक्षा बल (एसएसवी), सुभद्रा थानाका अधिकारी र नेपाली सुरक्षाकर्मीसँग घटनाबारे छलफल गरिरहेको बताइएको छ । संचारकेन्द्र संवाददाता

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...