चन्दा दिने मन, चन्दाको रंगशाला

हाम्रो सन्देश संवाददाता

यम घिमिरे

‘यो रङगशाला बन्छ र भन्या? कसले दिन्छ ३ अर्ब चन्दा? मान्छेको खेति नै चन्दा दिने छ र कतै? राम्रो काम गर्नेलाई यसो भन्न मिल्छ भन्नुहोला। मान्छे अघाइसकेन राम्रो कामलाई चन्दा दिँदादिँदा? असाथ्य रोगले थलिएका र अभावले गाँजेकालाई मानवताको मर्मले प्रेरित भईसकेको सहयोग गरेकै छन् मान्छेले। अब राज्यले बनाउनुपर्ने ‘मेगा प्रोजेक्ट’ का कामलाई पनि जनताले चन्दा भरेर बनाउनुपर्ने? भो यो कुरा लिएर छेउमा नआउनू होला!’, फेसबुकमा मैले यो स्टाटस हालेँ।

मेरो स्टाटसमाथि आएका ‘कमेन्ट’ ले विकास निर्माणका सुन्दर र अन्य परोपकारी काम गर्ने नाममा चन्दा उठाउने सेलिब्रेटीसँग धेरैजसो अघाइसकेको देखायो।

सोसल मिडियामा प्राय: चल्ने व्यक्ति लक्षित अशिष्ट टिप्पणी गरे एक दुईले म प्रति।

दान दिनु राम्रो हो। दान मानव समाजका सबै कुनामा सर्वब्याप्त मान्यता हो।

दान दिनेबारे हाम्रो शाश्त्रीय मूल्य पनि दर्बिलो छ:

दानेन भूतानी वशीभवन्ति दानेन वैराण्यपि यान्ति नाशम्।

परोsपि बन्धुत्वमुपैति दानैर्दान हि सर्वव्यसनानि हन्ति।।

अर्थ: दानले सबै प्राणीलाई वशमा राख्न सकिन्छ, दानले वैरीभावको नास गर्छ दानले शत्रुलाई पनि बन्धु बनाउँछ, दानले सबै पाप वा कुकर्मको नास गर्छ।

दान नदिनु भन्दा दान दिनुका शुभलाभ धेरै छन् भनेर बताउँछ यो श्लोकले। दान दिनुको आत्मिक मूल्य वा शन्तुष्टिको मनन सबै मानव समाजले गरेकै हुन्छ। त्यसै भएर हामीसँग गौदान, भूमिदान, दसदान, तुलादान, भोजनदान, रत्नदान, रक्तदान, अङ्गदान आदि दानहरू छन्। दान र परोपकार गर्ने दिन भनेर तोकिएकै छ ‘अक्षे तृतीया’ को दिनलाई हाम्रोमा।

दान त दिने तर कहाँ र कसलाई दिने ? यसबारेमा पनि अर्को संस्कृत एउटा श्लोकले हामीलाई निर्देश गरेको छ।

वृथा वृष्टि: समुद्रेषु, वृथा त्रिप्तेषु भोजनम् ।

वृथा दानं धनाढ्येषु, वृथा दीपो दिवाsपि च ।।

अर्थ: समुद्रमा पानी पर्नु, अघाएकालाई भोजन दिनु, धनीलाई दान दिनु र दिउँसो दीप जलाउनु बेकार छ।

यो श्लोकको सन्देश हो दान साच्ची नै खाँचो परेकालाई दिनुपर्छ। खाँचो कसरी छुट्याउने पनि भन्छ यही श्लोकले। पहिले नै पानी भएको ठाउँमा पानी हाल्नु पर्दैन, आफ्नो आहार आफैं जुटाएर खान सक्नेलाई होइन भोकले मर्न आँटेकालाई भोजनदान गर्नुपर्छ, धनीलाई उपाहार वा कोशेली दिनु पर्दैन, घाम झलमल्ल लाग्याबेला मैनवति बाल्नु खेर फाल्नु हो, जहाँ उज्यालोको खाँचो छ त्यहाँ टुकी बाल।

हामीसँग दान र चन्दा दुई शब्द छन्। हाम्रो दानको संस्कृति धर्मप्रधान हो। मरेपछि पुण्य र पापको लेखाजोखा गर्दा पुण्यतिर तराजु ढल्कियोस् र स्वर्गमा सुखभोग मिलोस् भनेर दान गर्ने चलन छ। यस अर्थमा पण्डित पुरोहितहरुलाई दान गरिन्छ। राजनीतिक पार्टीलाई, खेलकुद क्लबलाई, सेलिब्रेटी पुराण वाचनहरुलाई, रोगसोकले गलेर सहयोगको अपिल गर्नेहरुलाई चन्दा दिइन्छ।

रेमिट्यान्स अर्थतन्त्रले गर्दा घरघरका भकारी धानबिहीन भए नि हातमा पुग्दो हातीछाप नोटहरू हुनथालेपछि चन्दा र दानका लागि मान्छे दुईचार हजार फाल्न सक्ने भएको छ अहिले नेपालमा। अभर परेकालाई कुनै रुपले सहयोग गरूँ भन्ने भावना अहिलेको नयाँ पुस्तामा पनि जोडदार देखिएको छ।

पश्चिमा जगतमा पनि दान-परोपकार, स्वयंसेवा परोपकार संस्कृतिकै रुपमा एक जबर्जस्त मान्यता हो।

भाषिक हिसाबले उनीहरुसँग पनि ‘च्यारिटी’ र ‘डोनेसन’ छन्। तर पुण्य वा योगदान जे गर्न पनि उनीहरु ‘डोनेट’ गर्छन्।

दान वा चन्दासम्बन्धी पश्चिमाहरुका पनि धेरै मनन् वाणीहरु छन्:

‘भ्यालु अफ लाइफ डिपेन्डस् नट अन योर पोजेसनस्, बट अन योर डोनेसन’

अर्थ: ‘तिम्रो कति सम्पति छ भन्नेमा होइन तिमीले कति दान गर्यौ भन्नेमा तिम्रो जीवनको अर्थ छ’

दान वा चन्दासम्बन्धी बाइबल भन्छ:

‘सेल योर पोजेसन्ज, एण्ड गिभ टु द निडी। प्रोभाइड योरसेल्भ्ज विथ मनिब्याग द्याट डु नट ग्रो ओल्ड, विथ अ ट्रेजर इन द हेभन द्याट डज नट फेल, ह्वेर नो थिफ अप्रोचेज एण्ड नो मथ डेस्ट्रोयज’ (ल्युक, १२:३३)

अर्थ: तिम्रो जायजेथा बेचबिखन गरेर गरिबलाई बाँडिदेऊ। आफ्ना लागि तिमी कहिले नमकाउने, कहिले पुरानो नहुने र स्वर्गका लागि निर्विकल्प धर्मरुपी पैसाको थैलो वा सम्पतिको जोगार गर जहाँ न कुनै चोर लाग्छ न त कुनै माउले नै खाइदिन्छ।

दानसम्बन्धी बाइबलको यो भनाइले मान्छेलाई भौतिक सम्पतिका पछि मरिहत्ते गरेर नकुद्न, आफ्नो सम्पतिबाट प्राथामिकत: जिउने हकका लागि मानो, छानो र न्यानो नपाएर मर्न बध्यहरुलाई केही दिन र स्वर्गका लागि कहिले नमकाउने, चोरी नहुने, किराले नखाने पुण्य कमाउन भन्छ।

दानसम्बन्धी यो दर्शनलाई यहाँका धेरैजसो कामकाजी महिला-पुरुष, ब्यापारी, कर्पोरेट्सहरुले केही न केही ढंगले अनुसरण गरिरहेका देख्न पाइन्छ।

यहाँ ‘च्यारिटेबल अर्गनाइजेसन’ र ‘नन-प्रफिट अर्गनाइजेसन’ लाई सकेको चन्दा दिनुलाई धर्म र आत्म त्रिप्तिको पवित्र कर्म मानिन्छ। तर दान गर्दा मानवताको मूल्यमा आधारित सेवा र उपकार प्राथमिकतामा पर्छन्। जस्तै, क्रिसमसमा दुईचार जनालाई केही दिएर खान पुगोस् आफूलाई भन्ने सोचाइ हुन्छ यहाँ।

भोकानाङ्गालाई खुवाउने स्थानीय ‘फुड ब्याङ्क’ मा केही सकेको योगदान गर्न, स्कुलका भुराभुरीको खाजा, खेलकुद र ब्यायाममा सघाउन, चाडबाडमा सबैले खान पाउनुपर्छ भनेर खाद्यान्न, लताकपडा, खेलौना र उपहार कार्ड बाँड्ने ‘क्रिसमस ब्युरो’मा, बेसहारा बालबालिका र बृद्ध नागरिकलाई खुवाउने हेरचाह गर्ने गैर-नाफावाला संस्थालाई केही नगद वा जिनिस उठाएर दिन वा त्यहाँ गएर श्रमदान गर्न मान्छे लागि परिरहेको हुन्छ यता।

सरकारले चलाएका अस्पताल वा अन्य मानवीय सेवा केन्द्रहरुमा पनि ‘च्यारिटेबल’ श्रोतबाट धेरै काममा सहयोग जुटाइन्छ यहाँ। जस्तै, सरकारी वालअस्पतालमा बच्चालाई डाइपर, पौष्टिक आहार, इमर्जेन्सी लताकपडाका लागि च्यारिटीको प्रयोग र खोजी एउटा निरन्तर प्रक्रिया हो यता।

तर यता भौतिक बिकास, राष्ट्रिय स्मारक, ल्याण्डमार्क संरचना, राष्ट्रिय आविष्कार केन्द्र, रङ्गशाला आदि राज्यको दायित्वभित्र पर्ने बिकासका पूर्वाधार बनाउन चन्दा उठाइदैन।

यस्ता च्यारिटेबल संघसंस्थाका स्वयंसेवीहरु ठुलाठुला मल, सुपरमार्केट, मेला, प्रदर्शनी आदि धेरै मान्छेको ओहोरदोहोर गरिरहने गौंडा ढुकेर मुसुक्क हाँस्दै ‘वुड यु माइन्ड डोनेटिंग फर दिस अर द्याट कज’ भन्दै गरेका सधैं र जताततै भेटिन्छन् । गोजी छामछुम पार्दा निस्किने चाराना, आठाना, रूप्पे जे भए नि त्यहाँ खसाल्दिन सकियो। ‘नट टुडे…’ भन्दै हिंडे नि भयो। कुन व्यक्ति र कुन नामले धेर वा थोर के दियो भनेर चियो र चासो गर्ने भन्ने नै हुँदैन।अबकासका बृद्ध, बृद्धाहरुले दुईचार सयको चेक लेखेर नि जाने रहेछन् यस्ता चन्दा बुथहरुमा। अहिले त सबै इन्टरनेटबाट चन्दा दिने चलन आइसक्यो।

नेपाल बाहिर बस्ने नेपालीहरुलाई चन्दा,दान-दातब्यका सहयोग अपिलले कहिले छोड्दैन। युरोप, उतर अमेरिका, अष्ट्रेलिया, मध्यपूर्वका देशमा जहाँ पनि जहिले पनि नेपालीहरुले केही न केही दानको रुपमा उठाइरहेका हुन्छन्। सहयोग अपिल जारी गरिरहेका हुन्छन्।

एउटा एनआरएन वा नेपालबाहिर बस्ने नेपालीको दैनिकीमा चन्दा वा सहयोगको दवाब र शृंखला कति प्रचण्ड छ हेर्न म यहाँ मेरै उदाहरण कहन्छु।

नेपालमा एकजना पत्रकारको मृगौला फेर्ने सहयोग रकम उठाउन घरदैलो गरियो अलिक अघि। भूकम्पपीडित राहत संकलनमा रु. २२,००० हालें, त्यसपछि नेपाल-अमेरिकी पत्रकार संघले एक पत्रकारको उपचारमा सघाउन आह्वान गरेकोमा रु. ४,००० हालेँ, पोहोर साल धुर्मुस-सुन्तली फाउन्डेसनलाई ‘नमूना नेपाल’ परियोजनाका लागि रकम उठाउने अभियानमा ब्यबस्थापन लगायतको सहयोगसहित रु. १,७०० दिएँ, अनि आयो एकजनाको नेपालमा उनकै गाउँमा नारायणको मन्दिर बनाउने सहयोग जुटानको अनुरोध, नारायणका नाउँमा त्यहाँ रु. १,६०० चढाएँ। त्यसलगत्तै गाउँमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानको दीनबन्धु पुराणलाई रकम नै तोकिएको रु. १०,००० भरेँ, अनि आयो विवेकशील साझा दलको एउटा भोटो बेचेर सहयोग जुटाउने याचना त्यसलाई रु. २,२०० तिरेर तिनको भोटो किनेँ, अस्ति भर्खर महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको अभियानमा कार्यक्रम आयोजनाका अन्य भूमिकासहित रु. ४,५०० भरेँ, त्यसपछि एकजना गम्भीर सवारी दुर्घटनामा परी नेपालमा उपचार गराइरहेका व्यक्तिलाई मबाट आस गरिएको रकम रु.२०,००० सहयोग चुपचाप पठाएँ। अनि लगत्तै गुल्मीका एकजना सादगी निस्वार्थ मास्टर साप गजेन्द्र सरको सहयोगमा सुरुभएको ‘गो फन्ड मि’ मा रु. २,५०० हालेँ। त्यसपछि एकजना साथीले नेपालमा दुर्गम गाउँकी एक तामाङ महिलाको नाममा मिर्गौला फेर्न सहयोग अपिल गरेकोमा रु. १,६०० निकालेँ। त्यसलगतै त्यस्तै क्यान्सर पीडित महिलाको लागि अर्को सहयोग अपिल जारी भयो अर्का एक साथीबाट त्यसमा अर्को रु. १,६०० दिएँ। अब म आफू कार्यसमितिमा रहेको नेपाल-अमेरिका पत्रकार संघले एकजना उपचाररत् पत्रकारको सहयोगको लागि जारी गरेको ताजा अपिल त आफ्नै अपिल भइगो त्यसमा सहयोग दिन भ्याएको छैन। यो प्रक्रिया निरन्तर चलिरहन्छ।

मेरो जस्तो र मैलेभन्दा अझ धेरै चन्दा सहयोग स्वेच्छाले र बाध्यताले निरन्तर गरिरहेको मान्छे जुनसुकै एनआरएन जहाँ पनि भेटिन्छ यसरी कथा खोतल्नु हो। मैले यो उल्लेख गर्नुको कारण के मात्रै भने प्रत्येक एक नेपाली जो नेपालबाहिर बसेको छ उसले यस्ता सहयोगका कर्मबाट पुण्य कमाइरहेको छ भन्ने एउटा दृष्टान्त दिन खोजेको मात्र हो।

बिदेसमा बस्ने म र मजस्ताले यसरी दिएको सहयोग कर्पोरेटस् हरुलाई जस्तो पुगिसरी आएर फालाफाल भएर कहाँ थन्क्याऊँ भएर पक्कै पनि होइन। यसरी सहयोग गरिने रकम दुईचार नेपाली व्यवसायीहरुबाहेकले घन्टामारी गरेर, रातसाँझ नभनी, बच्चा, श्रीमती/श्रीमानलाई समय नपुगीनपुगी खटेर कमाएको इमान र परिश्रमको पाइपाइ हो।

अहिले भर्खर सोसल मिडियाको दुनियाँ तातेको छ धुर्मुस-सुन्तली फाउन्डेसनले चन्दा उठाएर बनाउने भनिएको ‘अन्तराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला’ को बहसले।

देशबिदेशबाट उठाएको चन्दा रकमले यो जोडीले यसअघि केही थान शुभकाम गरिसकेको छ। उनीहरु एकपछि अर्को चन्दा प्रोजेक्ट बनाउँदै हौसिंदै गए दाताले नि पत्याउँदै गए र सिन्धुपाल्चोकमा दुई ठाउँमा भूकम्पपिडीतलाई बस्ती बनाइवरि तराइमा मुसहर बस्ती पनि बनाए। यस्ता परोपकारका नायक बिरलै जन्मिन्छन् समाजमा। उनीहरुको यो कर्मलाई समाजले उच्च सम्मान दियो। उनीहरु सामाजिक ‘हिरो’ कहलिए। तर कहिलेसम्म चन्दा उठाएर सामाजिक सेवा गरिरहने ? फगत मागेर एकदुई राम्रा काम उनीहरुले गरिसके। अब यसलाई पेसा नै बनाउने त ?

मेरी बास्सैमार्फत उनीहरुले एउटा माग्ने पात्र जन्माए ‘मगन्तनारायण’ भन्ने। जे पनि जहाँ पनि मागिदिने। त्यही माग्ने चरित्रले स्थापित भएका कलाकार केदार घिमिरे सगौरव ‘माग्ने बुढो’ भएर छाएका छन्।

मेरीबास्सैका निर्देशक सिताराम कट्टेल धुर्मुसहरुले माग्ने बुढो पात्र जन्माउनु र कालान्तरमा कलाकारिता कम मागेर विकास र परोपकार बढी गर्न जम्जमाउनु संयोग हो कि योजना कुरा रमाइलो छ।

हाम्रो गाउँघरतिर एउटा भनाइ छ ‘एकदिनको माग्ने दस मुठी खा, दुईदिनको माग्ने उभरपाबर खा, तीनदिनको माग्ने जतासुकै जा’

यस्तो उखान बनाउने अरु होइन नेपाली समाज नै हो र उखानको कार्यन्वयन पनि यही समाजमा नै हुने हो। धुर्मुस-सुन्तलीले मागेर आर्जन गरेको सामाजिक सम्पति मागेको माग्यै गरेर सिध्याउनु अघि सोचे हुने हो अब।

नेपालमा क्रिकेट एउटा उदाउँदो लोकप्रिय खेल हो। यो खेल खेल्नलाई देखाउन लायकको एउटा गतिलो खेल मैदान हामीसँग छैन। यो बन्नु त पर्यो। तर मागेरै किन बनाउनु पर्यो यो ?

एउटा साथीले मेरो माथि सिरानमा उल्लेखित फेसबुके स्टाटसमा टिप्पणी गर्‍यो- ‘कर उठाएर भ्रष्टाचार, दान उठाएर विकास’ वाइड बडी काण्ड सामसुम पार्दैगर्दा यस्तै देखिन्छ गर्न खोजेको।

रङ्गशाला त बनाउने रे सानोतिनो ताकिएको पनि छैन। मागेर बनाउने भएपछि अलिक सानोतिनो भन्या भा नि अलिक सुन्दा ठिकै सुनिन्थ्यो। ‘अन्तराष्ट्रिय’ रङ्गशाला बनाउने अनि माग्न निस्किने।

तिमीहरु मागेर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाओ, लु यहाँ सहीछाप गर भनेर कामदिने मेयर, त्यसको साक्षी किनारमा बस्ने बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले नाक, मुखचाहिँ कुन ढुङ्ग्रोमा लुकाएर त्यहाँ प्रकट भए र बोल्न सके उदेक लाग्छ।

सहयोग माग्न क्यानाडा आएका बेला मैले धुर्मुसलाई सोधेको थिएँ।

‘नमूना नेपालको’ प्रोजेक्टलाई चाहिने पाँच अर्ब अब फेरि चन्दा उठाएरै बनाउन सकिएला त?

‘किन नसक्नु? तीन करोड नेपालीले जनही २०० सय मात्रै दियो भने ६ अर्ब उसै भयो’

तीन करोड नेपालीका गोजीको रु. २०० गनेर बिजुली तालमा हिसाब निकाल्ने उनको आत्मविश्वास देखेर म एकभन्नु न दुई भन्नु भएको थिएँ। अहिले सुन्दै छु त्यो प्रोजेक्टलाई चालीस लाखमात्रै उठेको छ रे।

अनि त्यो ‘नमूना नेपाल’ लाई सपनाको महलमा बदलेर धुर्मुसुन्तु रङ्गशालाको चन्दा माग्न अब बिदेश सयरमा निक्लिसके। करजोरी बिन्तिका भिडियो हाल्न थालिसके। मानौं यसपाली मात्रै चन्दा पाएर त्यो बनाउन पाए देशमा चमत्कार नै हुन्छ सारा नेपालीका दुःखका दिन सकिने छन्…

चन्दा उठाएर परोपकार गर्न सके समाजले खुब मान्ने देखेर नायिका श्वेता खड्काले नि माझी बस्ती बनाउने भन्दै सहयोगको अपिल गरेकी थिइन्।

एकजना कर्मयोगी मागेरै ‘राष्ट्रिय आविष्कार केन्द्र’ जस्तो नामैले देसको सुरक्षा र गोपनियताको संवेदनशीलता जोडिन आउनेजस्तो एनजीओमार्फत देसको कायापलट गर्दिने सपना बेच्दै माग्न निस्किएका छन्।

भूकम्पलगत्तै पत्रकार विजयकुमार पाण्डे पनि सिन्धुपाल्चोकतिर कता एउटा तामाङ बस्तीको मुहार फेर्न लागिपर्ने भन्दै सहयोगको अपिल गर्दै गरेको जस्तो लाग्छ।

आफ्नो कमाइको एक करोड परोपकारमा दिने घोषणा गर्दै चर्चित गायिका आनी छोइङ्ले एउटा अन्तर्वार्तामा भनिन् मागेर लाखौँको सेवा गर्नुभन्दा आफ्नै कमाइले हजारको सेवा गर्छु।

मागेरै सही धुर्मुस-सुन्तलीले राम्रो काम गरिसकेका छन् माग्ने कोटाको लागि। परोपकारको काममा खुल्ला हृर्दयले सकेको दिने देश-बिदेशका सफा मनका नेपालीहरुले गर्दा नै धुर्मुस-सुन्तली सफल भएका हुन्। अब दाताहरुको सम्मानको लागि नि उनीहरुले मागेर बिकास गर्छु भन्दै पटकपटक ढोका नढक्ढक्याए हुने हो।

देशमा रङ्गशाला बन्नु त राम्रो हो जसरी चिल्ला फराकिला सडक बन्नु राम्रो हो, जसरी उत्कृष्ट सेवा दिने अस्पताल, स्मारक, चिडियाखाना, योगालय, पुस्तकालय देसमा बन्नु राम्रो हो। यी सबैका लागि भोलि एउटा न एउटा हिरो निक्लिदै जाने माग्दै जाने बनाउँदै जाने त ?

चन्दा अत्यन्तै स्वेच्छिक कुरा हो। दिनेले जेमा, जति, जहिले दिए नि हुने भो।

मान्छेको बाँच्ने हकको गुजाराका लागि चाहिने भोजन, वस्त्र र औषधीको अपिलमा दिएको दान,चन्दा खास अर्थको दान हो सबै मानव समाजको लागि।

सेतोपाटी बाट साभार

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...