— मेरो मृत्युको खबर —

हाम्रो सन्देश संवाददाता

निकेश चापाई
आमा,
मेरो मृत्युको खबर झुठो हो,
नपत्याय,
राती तिम्रो सपनीमा,
तिम्रै सपनाका पोकाहरु बोकेर,
म स्वयम् आँगनमा मुस्कुराउँदै गर्दा,
अचानक विउँझियौ भने,
मध्यरातको चुके अँध्यारोमा,
आँधी आँखा खोल त,
हिँजो अस्ती जस्तै अबोध देखिने छु म ।
मेरो मृत्यु त त्यसै दिन भएको थियो,
जुन दिन एअरपोर्टमा,
तिमीले मेरो हाड र छालाको आकृतिमा,
माला लगाएर आँशु चुहाएकि थियौ ।

बुवा,
मेरो मृत्युको खबर झुठो हो ।
नपत्याए,
साउको खेतमा हलो जोत्दै गर्दा,
एक हल गोरुलाई खोले ख्वाउँदै,
सँधै झै मलाई सम्झ त,
दिनको टन्टलापुर घाममा,
हलो समाउन म सँधै झै,
ताकत भएर आउने छु ।
मेरो मृत्यु त त्यसै दिन भएको थियो,
जुन दिन तिमिले आँगन बेचेर,
मेरो शालिक जस्तो टाउकोमा,
अबरि लगाएर आँशु चुहाएका थियौ ।

मेरी प्यारी,
मेरो मृत्युको खबर झुठो हो,
नपत्याय,
मैंले पेटमै छाडेर आएको,
छोरीलाई सोध त, बाबा खोइ भनेर ?
हिजो जस्तै उसले आज पनि,
भित्तामा उसको भविष्य जस्तै झुण्डिएको,
मेरो तस्वीर देखाएर मेरो बाबा भन्नेछ ।
मेरो मृत्यु त त्यसै दिन भएको थियो,
जुन दिन,
छोरा या छोरी भन्ने नै थाहा नभएको,
मेरो निशानी तिम्रो पेटमा छाडेर,
म हिँड्नै लाग्दा,
मेरो निर्जिब हातमा एउटा फूल थमाउँदै,
कसैले थाहा नपाउने गरि,
मेरो छातीमा आँशु लुकाएकि थियौ ।

बहिनी, भाइ, दिदि, भान्जा, भान्जी,
मेरो मृत्युको खबर सरासर झुठो हो,
नपत्याय,
दशैं र तिहारहरुमा,
आँखा बन्द गर्नु त,
अघिल्लो दशैं र तिहार झैं म त्यहिँ हुनेछु ।
मेरो मृत्यु त त्यसै दिन भएको थियो,
जब मलाई दशैं र तिहारमा आउने वाचा खुवाएर,
मालै मालाले छोपिएको मलाई विदाइ गरेका थियौं ।

मित्र, यार, दोस्त,
मेरो मृत्युको खबर झुठो हो ।
नपत्याय,
बाजेको भट्टीमा दुई–चार पेग लगाएपछि,
अर्को पेग बनाउ त,
सँधै झैं म त्यहिँ हुनेछु,
थारै चुड्किला सुनाएर धेरै हँसाउँन ।
मेरो मृत्यु त त्यसै दिन भएको थियो,
जुन दिन,
त्यहि बाजेको भट्टीमा,
फुलै फुलको उपहार दिएर,
हाँस्दा हाँस्दै, अचानक आँशु झारेका थियौ ।

आखिर,
मशानमा सुतेको अचेत मानिसलाई,
आगो लगाएर विदाइ गरेपछि,
उ कहिल्यै फर्कन्छ र ?

म पनि त त्यस्तै अचेत भइसकेँ,
म फेरि कहिल्यै फर्कें र ?
एक दशक अघि नै,
मरिसकेको म,
फेरि दोस्रो पल्ट कसरी मर्न सक्छु ?
मेरो मृत्युको खबर बिल्कुलै झठो हो ।

तर,
ऐ मेरो देश,
मेरो मृत्युको खबर सोहैै आना साँचो हो ।
जुन आज भोली त्यहाँ नबिकेको,
केवल एक मात्र सत्य हो ।
जुन दिन,
तिमीलाई गाली गर्दे,
म परदेशमा गएको थिएँ नि,
म जिउँदै थिएँ,
तर,
आज मेरो मृत्यु भएको छ ।
र,
म स्वयम मेरो मृत्युको,
शोक मनाइरहेको छु ।
एक्लै विल्कुलै एक्लै,
अहँ,
आर्यघाटको जस्तो चहल पहल छैन यहाँ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...