ओली सरकार आएपछि वर्वाद भयो : देउवा

हाम्रो सन्देश संवाददाता

गोरखा,२७ जेठ ।

नेपाली कांग्रेसका पार्टी सभापती शेर बहादुर देउवाले ओली सरकारले अधिनायकवादी शासन लगाउन खोजेको आरोप लगाएका छन् । आइतवार जिल्ला सदरमुकाममा भएको नेपाली कांग्रेस नगर कार्यसमितिको दोस्रो नगर सम्मेलनलाइ सम्बोधन गर्दै उनले कम्युनिष्ट सरकारले अख्तियार, प्रेस, मानवअधिकार जस्ता सन्तुलित निकायको अधिकार खोस्ने प्रयत्न गरिरहेको बताए । ‘यीनिहरु भनेको सरकारले गरेको बदमासीलाइ खवरदारी गर्ने स्वतन्त्र निकाय हुन्,’ उनले भने, ‘तर ओली सरकारले यी क्षेत्रको अधिकार माथि हस्तक्षप गरिरहेको छ ।’ सेनालाइ पनि आफ्नो कब्जामा ल्याउन खोजेको आरोप लगाउदै देउवाले ओली सरकारले प्रजातन्त्र विरोधी गतिविधी गरिरहेको बताए । ‘ओली सरकार आएपछि वर्वाद भयो, सवै ठाउँमा बिगारेको छ, सवैको अधिकार खोसेको छ, प्रचारको काम वाहेक केही भएको छैन,’ उनले भने ।

प्रेस स्वतन्त्रता हनन हुने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक संसदमा कुनै हालतमा पास हुन नदिने उनले बताए । बुढिगण्डकी जलबिद्युत आयोजनाबारे बोल्दै देउवाले पैसाको चलखेलमा ओली सरकारले आयोजना निर्माणको जिम्मा चिनिया कम्पनीलाइ दिएको आरोप लगाए । ‘विना प्रतिस्पर्धा आयोजना निर्माणको जिम्मा चिनिया कम्पनीलाइ दिनु गैरकानूनी हो, नेपाली आफैले त्यो आयोजना बनाउन सक्छन्,’ उनले भने । भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरवार पुननिर्माणमा ढिलाइ भएको भन्दै उनले आपत्ति जनाए । ओली सरकारले गरेका गल्तीहरु सुधार नगरे सडकबाटै भएपनि आन्दोलन गर्ने उनले चेतावनी दिएका छन् ।

कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता बिश्व प्रकाश शर्माले कम्युनिष्ट सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताए । विप्लवलाइ शान्ति प्रक्रियामा ल्याउन नसकेको भन्दै उनले ओली सरकार आलोचनाको पात्र मात्र बनेको जिकिर गरे । ‘उही गोत्र, उही सिद्धान्त बोकेर हिडेको विप्लवको एउटा कम्युनिष्ट पार्टीलाई बिश्वासमा लिन नसक्ने अनि ठुलो गुड्डी हाक्दै हिड्ने,’ प्रधानमन्त्री ओलीलाइ लक्षित गर्दै उनले भने । प्रचण्डलाइ मारेर विप्लवले भनेजस्तो गणतन्त्र नआउने भन्दै रगत बगाउने काम छाडेर शान्ति प्रक्रियामा आउन विप्लवलाई उनले आग्रह गरे । वाइडवडी र वालुवाटारको जग्गा काण्डमा काग्रेसलाई अनावश्यक मुछेको भन्दै उनले दोषी भए कारवाही भोग्न तयार भएको बताए

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...