प्रेस अर्थात् आइरन

हाम्रो सन्देश संवाददाता

निकेश चापाई

प्रेस,
रिसाएको छ म संग ।
तर,
तातेर होइन,
चिसीएर कुनामा थचक्क बसेर ।

उहिले,
प्रेससंग मेरो कुनै सम्बन्ध थिएन,
बिना तारको,
पुरानो खिया लागेको प्रेस,
या त मुखिया संग हुन्थ्यो,
या त, दर्जी काका संग,
आगोको तातो रातो कोइला खान पाएपछि,
रन्किन्थ्यो उ, दन्किन्थ्यो उ ।
दर्जीकाकाको प्रेसले,
कच्याक कुचुक्क भएका गरिबका,
एक पटकका दशैंहरु चमक्क पाथ्र्यो,
थोरै धान या चामलको बदलामा,
र,
मुखियाको प्रेसले,
उनको सँधैको दशैं चमक्क पार्न,
गरिबहरुको मुख डाम्थ्यो ।
म,
सानो हुँदा दुबै प्रेस नियालेको थियो,
विल्कुल सहोदर दाजुभाइ जस्ता,
जुम्ल्याहा नै थि ती दुबै प्रेस,
तर, एउटाले दशै चम्काउँथ्यो,
र, अर्कोले मुखिया लाई ।
त्यतिबोला पनि,
ती दुबै प्रेस मसंग रिसाएका थिए ।
दशैंमा पनि दर्जीको प्रेसका लागि मसंग कपडा थिएन,
र,
मुखियाको प्रेसकालागि मसंग लफडा थिएन ।

अहिले,
मुखियै मुखियाको यो ठाउँमा,
मुखियाहरुले नै प्रेसको ब्यापार गरेको छन् ।
र,
ती प्रेसहरु,
गरिबको दशैं चम्काउँदैनन्,
मुख डाम्छन् ।

त्यो,
दर्जीकाकाको प्रेस थियो नि,
उ रिसाएको छ ।
मुखिया बाको प्रेसले,
दर्जीकाकालाई डाीमी दिएपछि,
आफ्नै झुपडीमा आगो लगाएर,
आत्महत्या गरेछन् ।
र,
निडर, निर्भिक र अडिग त्यो प्रेस,
जलेको झुपडीमा कोइला खाज्दैछ ।
र,
सोच्दैछ म फेरि जानेछु,
गरिबका दशैंहरु चम्काउन ।

प्रेस आर्थात आइरन ।

ए अखबारहरु,
त्यो दर्जिकाकाको आत्महत्या,
तिम्रो अखबारमा छापिदेउन ।
ए टेलिभिजनहरु,
त्यो दर्जिकाकाको खरानी भएको घर,
तिम्रा स्कृनहरुमा देखाइदेउन ।
ए रेडियोहरु,
त्यो आगो खोजेको प्रेसको ब्यथा,
तिम्रा रेडियोहरुमा बजाइदेउन ।

तिमीहरुलाई पनि त,
प्रेस नै भन्छन् होइन र ?

खोज्नमा माहिर तिमीहरु,
उ संगको नाता खोज त ?
तिम्रो आफ्नै पुर्खा हुन सक्छ ।
9

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...