सुरक्षाले सुटिङ सकिन् तर दृष्य सम्झेर राति सुत्दा डराउँछिन्

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १ असार ।

नायिका सुरक्षा पन्तले भर्खरै हरर फिल्मको सुटिङ सकिन् । सुटिङ हुँदा उनलाई खासै डर लागेन । वरिपरि मान्छे हुन्थे । तर, अचेल राति सुत्दा भने डराउँछिन् । भन्छिन्, ‘त्यो वेला राति एक्लै ट्वाइलेट जाँदा डर लाग्थ्यो, अहिले पनि सम्झँदा डर लाग्छ ।’

नेपाली फिल्म उद्योगमा हरर विधामा खासै काम भएको छैन । हरर फिल्मको व्यावसायिकतालाई लिएर कतै बहस भएको सुनिँदैन । तर, अभिनेत्री सुरक्षा पन्त भने हरर फिल्मबाट आशावादी छिन् । उनको हरर फिल्म ‘घर’ प्रदर्शनको तयारीमा रहेको समाचार नयाँ पत्रिमामा छ ।

सुरक्षाको विचारमा काठमाडौंका युवा हलिउडका हरर फिल्मबाट प्रभावित छन् । हलमै गएर हेर्छन् । ‘तर, तिनै युवा नेपाली फिल्म हेर्न जाँदैनन् ।’ हरर फिल्मले डर उत्पन्न गर्छ । संसारमा भएका धेरै डरलाग्दा घटनाले मान्छे जब्बर बनिसकेका छन् । त्यसकारण डर उत्पन्न गर्न मान्छेको भावावेगलाई केलाउनुपर्ने उनको भनाइ छ । ‘हामीसँग विषयवस्तुकै खाँचो छैन, नयाँ विषय धेरै छन्, हरर फिल्ममा पनि हामीले नयाँ विषय लिएका छौँ ।’

हरर फिल्ममा खेल्दा नयाँ अनुभूति भइरहेको उनी बताउँछिन् । ‘म कलाकारभन्दा पहिला दर्शक हुँ, आफैँलाई पनि हरर फिल्म मन पर्छ,’ उनी भन्छिन् । पहिला आफूले हरर फिल्म खुब हेर्ने गरेको उनको भनाइ छ । आफूलाई मन पर्ने विधा भएकैले हरर फिल्म बनाउन थालेको उनले बताइन् । ‘फिल्म जुन टिमले बनाउँदै थियो, त्यो राम्रो टिम हो । अर्पण थापाले सधैँ राम्रो काम गर्छन्, ऊसँग काम गर्ने रुचि पनि थियो र गरेँ,’ सुरक्षा भन्छिन् । उनी स्क्रिप्ट पनि निकै ख्याल गर्ने अभिनेत्रीमा पर्छिन् । उनलाई अर्पणको मिहिनेतले पनि ऊर्जा मिलेको छ ।

नेपालमा फिल्म संस्कृति भए पनि उद्योगले खास विकास गर्न सकेको छैन । ‘संस्कृति विकास गर्नका लागि त आफ्नो कथा भन्नुपर्छ,’ सुरक्षा भन्छिन् । उनका अनुसार फिल्म मनोरञ्जन मात्र हो भनेर परिभाषित गरिएका कारण विषयवस्तु कमजोर भएका हुन् । अहिले केही निर्देशक र निर्माताले विषयवस्तुमाथि काम गरिरहेका छन् । केही नयाँ हुने आशा छ । तर, एकाध फिल्म बनेर हुँदैन । लगातार बन्नुपर्ने उनको भनाइ छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...