नेपालले सिंगापुरलाइ जित्नैपर्ने दबाब, टस हारेर नेपालले फिल्डिङ गर्दै

हाम्रो सन्देश संवाददाता

काठमाडाैं-

सिंगापुरमा जारी टी२० विश्वकप २०२० को एसिया छनोटको अन्तिम खेलमा नेपालले सिंगापुरकै सामना गर्दै छ । युएईमा हुने विश्वकप ग्लोबल छनोटमा सहभागी हुन नेपालसँग जितको विकल्प छैन । नेपालले पहिलो खेल हारेर पनि उत्कृष्ट कमब्याक गर्दै छनोट हुने सबैभन्दा बढी सम्भावना राखेको छ । वर्षा वा अन्य केही कारणले खेल रद्द वा बराबरी भयो भने नेपाल निराश हुँदै घर फर्किन वाध्य हुनेछ ।

अहिले सिंगापुरमा मनसुन चलिरहेको छ । नेपाललाई ग्लोबल छनोटमा पुग्न सिंगापुरभन्दा ठूलो वाधक त्यहाँको वर्षा हुनसक्छ । सिंगापुरलाई पनि वर्षाले धोका दिएको थियो । कुवेतविरुद्धको खेल पानी परेर रद्द भएपछि सिंगापुर अंक वाँध्न वाध्य भएको थियो । र, सिंगापुर त्यही बाँडीएको १ अंकका कारण ग्लोबल छनोटमा पुग्नबाट बञ्चित हुने सम्भावना छ ।

अन्तिम खेल बाँकी रहँदा सिंगापुरले ३ खेलबाट ५ अंक जोडेको छ भने नेपालको ३ खेलमा ४ अंक छ । यदी सिंगापुरले कुवेतविरुद्ध २ अंक जोडेको भए अहिले उसको ६ अंक हुन्थ्यो र नेपालसँगको अन्तिम खेलमा हारेपनि नेट रनरेटका आधारमा अगाडी रहँदै ग्लोबल क्वालिफायरमा छनोट हुनेथियो ।

तर, अब नेपाललाई वर्षाको डर छ भने सिंगापुर वर्षा होस् भन्ने कामना गर्ने छ । वर्षाले खेल रद्द भएमा दुवै देशले १–१ अंक बाँड्नेछन् । त्यसपछि नेपालको ४ खेलमा ५ अंक हुनेछ भने ४ खेलमा ६ अंक जोड्दै सिंगापुर युएईमा हुने ग्लोबल छनोट खेल्न जानेछ ।

वेदर डटकमले गरेको सिंगापुरको मौसम पूर्वानुमान नेपालका लागि मुख्य चिन्ताको विषय बनेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...