दिल्लीको सडकमा निकालियो सुष्मा स्वराजको अन्तिम यात्रा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ साउन ।

भारतकी पूर्व विदेशमन्त्री एवं भाजपाकी नेता सुष्मा स्वराजको बुधबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरियो । दिल्लीस्थिती लोधी रोड शवदाह केन्द्रमा प्रधानमन्त्री मोदीसहित थुप्र्रै दिग्गज नेताको उपस्थितीमा उनको अन्तिम संस्कार गरिएको हो ।
सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजले उनको अन्त्येष्टी गरेकी हुन् । यतिबेला बाँसुरीसँग उनका पिता र सुष्मा स्वराजका श्रीमान् स्वराज कौशलको पनि उपस्थिती थियो ।

सुष्माको अन्तिम विदाईमा राष्ट्रपति राम नाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला, राजनाथ सिंह र अमित शाहलगायतका नेता उपस्थित थिए । स्मरण रहोस्, सुष्मा स्वराजको मंगलबार राती निधन भएको थियो ।
उनी ६७ वर्षकी थिइन् । कार्डिएक अरेष्टका कारण मंगलबार राती ९ बजेर ३५ मिनेटमा उनलाई एम्स भर्ना गरिएको थियो । राती साढे १० बजे एम्सले मेडिकल बुलेटिन जारी गर्दै उनको निधनको जानकारी दिएको हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...