दीपेन्द्रले ‘पकेट मनी’का रूपमा हरेक महिना पाउने अठारसय द्वारे आमालाई दिन्थे

हाम्रो सन्देश संवाददाता

दीपेन्द्रको मनोरञ्जनको एउटा केन्द्र नै बनेको थियो– होटल यलो प्यागोडासँगैको घर । अनिल, उनकी पत्नी रति, मिक्की, गजेन्द्र बोहरा, राजु कार्की र रविराज राजकर्णिकारलगायतका व्यक्ति त्यस घरमा बेलाबखत भेला हुने गर्थे । अनिलचाहिँ कहिलेकाहीँ ल्यापटप अगाडि राखेर देश निर्माणका योजना पनि दीपेन्द्रसमक्ष प्रस्तुत गर्ने गर्थे । तर, त्यस घरमा भोजभतेर, नाचगान र मनोरञ्जनात्मक अन्य क्रियाकलापहरू बढी हुने गर्दथे । युवराज दीपेन्द्रलाई केकमा ‘कालोपदार्थ’ मिलाएर खुवाउनेसम्मका काम पनि सो घरमा कहिलेकाहीँ हुन्थ्यो ।

दीपेन्द्रलाई ०४६ मा आफ्ना पिताबाट बहुदलीय प्रजातन्त्रको घोषणा भएको चित्त बुझेको थिएन । एकपटक सेनालाई मौका दिनुपथ्र्यो भन्ने उनको मत थियो र उनी आफ्ना हितैषीहरूसँग बुबाप्रतिको यो असन्तुष्टि बेलाबेलामा पोखिरहन्थे ।

रानी ऐश्वर्यकी स्वकीय सचिव पे्रमा सिंहको सिफलस्थित घरमा एकपटक आयोजित रात्रिभोजमा दीपेन्द्रले आफ्ना पिताप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै भनेका थिए, ‘आई डिफर टु माई फादर, नाउ वन्ली सोलुसन इज बुलेट ।’ ०५७ को हिउँदको कुरा थियो यो । उनी हरेक समस्याको समाधान बन्दुकबाट हुने देख्थे र भन्थे पनि । शक्तिशाली राजाको शक्तिशाली उत्तराधिकारी बन्ने दीपेन्द्रको चाहना ठाउँ पाउनेबित्तिकै यसरी उम्लिएर पोखिने गर्दथ्यो ।

प्यारजंग ‘फुल’ कर्णेल थिए, ०४९/५० तिर खरिपाटीस्थित मिलिटरी एकेडेमीमा उनलाई प्रमुख बनाइएको थियो । भविष्यमा सेनापति बनाइने योजनामुताबिक प्यारजंगलाई ताराबहादुर थापा र धर्मपालवरसिंह थापाहरूले सो एकेडेमीको प्रमुख बनाएका थिए, जहाँ युवराजाधिराज दीपेन्द्र पनि सैनिक तालिम लिँदै थिए ।

एकेडेमी प्रमुख बनेको ६ महिनामै प्यारजंगलाई हटाइयो । हरेक साँझ आफ्नी छोरीलाई समेत साथमा राखेर युवराज दीपेन्द्रलाई भोज खुवाउने गरेको र दीपेन्द्रलाई सैन्य तालिमेको रूपमा अरूसरह व्यवहार नगरेको आरोपमा प्यारजंगलाई एकेडेमी प्रमुखबाट हटाइएको थियो । प्यारजंगले दीपेन्द्रलाई ‘क्याडेट’को नभई युवराजाधिराजका रूपमा व्यवहार गरेको रिपोर्ट सैनिक मुख्यालय हुँदै राजदरबारसम्म पुगेपछि उनलाई जिम्मेवारीबाट मुक्त गरिएको थियो ।

तालिमका क्रममा दीपेन्द्रको व्यवहार अनुशासनहीन देखिएको थियो । तालिम लिँदै गर्दा कडाइ गर्ने कतिपय अधिकृतहरूलाई ‘तँलाई पख्’ भन्नेसम्मको शब्द प्रयोग गरेका कारण ‘भावी राजा’सँग डराएर तीमध्ये केही अधिकृतले जागिर मात्र होइन देश नै छोडेर हिँडेका छन् ।

राजालाई एक झलक नजिकबाट दर्शन पाउनु मात्र पनि धेरै दुर्लभ घटना मानिने त्यस समयमा राजा, युवराज या राजपरिवारका सदस्यहरूसँग निकटता बनाउनु हरेक नेपालीको सबभन्दा ठूलो सपना थियो । दीपेन्द्र भविष्यमा राजा बन्ने निश्चित भएकोले उनीसँग जुन कुनै तरिकाले भए पनि निकट बन्न हरेक मानिस प्रयत्नशील रहन्थे । स्कुल–क्याम्पसका सहपाठीबाहेक दीपेन्द्रसँग निकट बन्न पाउने अवसर सेनाका अधिकृतहरूलाई मात्र थियो ।

नराम्रो कामको साक्षी बसिदिएपछि सम्बन्धित व्यक्ति आफ्नो काबुमा रहन्छ भन्ने पुरानो मान्यताअनुरूपको व्यवहार सेनाका कतिपय अधिकृतले त्यसताक प्रयोगमा ल्याएको देखियो । जवान छोरी घरमा भएकाहरूमध्ये कतिपयले त छोरीको जवानी देखाएर पनि दीपेन्द्रसँग निकट बन्ने प्रयास गरेका थिए । दीपेन्द्रका अङ्गरक्षकहरू राजु कार्की र गजेन्द्रचाहिँ दीपेन्द्रका गलत कामको साक्षी बसेर निकट हुने धन्दामा थिए । कालोपदार्थदेखि युवती व्यवस्थासम्मका काममा उनीहरूको संलग्नता हुने गर्दथ्यो । राजु कार्की, गजेन्द्र र बलदेवशमशेरहरू दीपेन्द्रलाई लिएर राति–राति शिवपुरी गुम्बामा पनि जाने गर्दथे ।

साँझ पर्नै लागेको थियो ।

गुम्बामा साँझको आरती पूजाको तयारी हुँदै थियो । नानी ग्याल्मोलाई बाहिरबाट बोलावट भएको छ भन्ने खबर गुम्बाकै एक लामाले भित्र पुऱ्याए ।

आफूलाई कसैले बाहिर बोलाएको खबर आउनेबित्तिकै ग्याल्मो आत्तिइन् र गुम्बाप्रमुख समीप पुगेर बाहिर कसैले आफूलाई बोलाइरहेको सुनाइन् ।

गुम्बाका प्रमुख गुरु आफैँ बाहिर निस्के । सैन्य पोसाकमा केही व्यक्तिका साथ युवराज दीपेन्द्रलाई उनले देखे । त्यसअघि पनि पटक–पटक आइरहने हुनाले गुरु र दीपेन्द्रबीच परिचय हुन पुगेको थियो ।

दीपेन्द्रलाई देख्नेबित्तिकै गुरुले झुकेर प्रणाम गरे । र, भित्रै सवारी हुन निम्ता दिए । तर, दीपेन्द्र ‘पछि आउँछु’ भनेर पन्छिन खोजे । युवराजका रक्षकहरूले ‘अहिले हामीलाई हतार छ गुरु, ग्याल्मोसँग सानो काम परेकोले उहाँलाई लिन आएका हौँ । एकछिनपछि यहीँ ल्याएर छोडिदिन्छौँ, बरु चाँडै नै उहाँलाई पठाइदिनुहुन्थ्यो कि ?’ भने ।

तिनका कुरामा प्रतिवाद गर्ने साहस गुरुमा थिएन । उनले ग्याल्मोलाई बोलाए र ‘युवराज सरकारलाई बौद्ध ज्ञान देऊ’ भन्दै सँगै जान निर्देशन दिए । गुरुको आदेशको अवज्ञा उनले पनि गर्न सकिनन् । अँध्यारो अनुहार र भारी मन लिएर उनी दीपेन्द्रसँगै गइन् ।

एक घन्टापछि गुम्बामा फर्कंदा उनको मुहार कान्तिहीन बनेको थियो ।

गुम्बाका नानीहरूभन्दा पनि भिक्षुहरूले दीपेन्द्र र उनका रक्षकहरूबाट सधैं हैरानी महसुस गर्थे । शिवपुरी अल्लेस्थित ‘घ’ गुल्मको कमाण्डरका रूपमा बलदेवशमशेर रहेका बेला दीपेन्द्र ‘त्यता’ जाने क्रममा निकै तीव्रता आएको थियो । पछि सैनिक मुख्यालयले यस कुराको सूचना पाएपछि दीपेन्द्रलाई गुम्बासम्म पु¥याउने क्रम भङ्ग गरिएको थियो ।

भविष्यमा अनिष्टकारी भनिए पनि बालक दीपेन्द्रप्रति सबैको प्रेम र ममतामा कुनै कमी थिएन । राजा महेन्द्र आफ्ना नातिलाई जनतासँग घुलमिल गराउँदै लगिएमा उनको सोचमा सकारात्मक परिवर्तन आउन सक्छ भन्ने धारणा राख्थे र परिवारका सदस्य तथा नातेदारहरूसँग उनले कैयन पटक आफ्नो त्यस्ता इच्छा जाहेर गरेका पनि थिए । राजा महेन्द्र नवयुवराजको शिक्षादीक्षा स्वदेशमै होस् भन्ने चाहन्थे ।

महेन्द्रको यही इच्छाअनुरूप भावी राजा (दीपेन्द्र)लाई पढाउनकै लागि भनेर बुढानीलकण्ठ स्कुल खोलिएको राजपरिवारका निकटवर्तीहरूको भनाइ छ । दीपेन्द्र ०२८ को असारमा जन्मिएका थिए, सोही वर्ष ठीक ६ महिनापछि अल्पायुमै महेन्द्रको देहावसान भएको थियो । ०२८ माघ १७ गते राजा महेन्द्रको निधन हुँदा दीपेन्द्रले ६ महिना मात्र पूरा गरेका थिए । दीपेन्द्रलाई कुलनाशकका रूपमा ज्योतिषीहरूले देख्नु र ६ महिनामै राजा महेन्द्रको मृत्यु हुनुलाई एउटा संयोग पनि भन्न सकिन्छ । तर, ज्योतिषीहरू यसलाई संयोग मात्र मान्न चाहँदैनन् ।

भविष्यमा दीपेन्द्र जेसुकै हुन्, तात्कालिक समयमा उनी नवयुवराज थिए र सबैका प्रिय बनेका थिए । चकचके स्वभावका दीपेन्द्रले कुनै कुरा चाहेपछि जसरी भए पनि प्राप्त गर्नैपर्थ्यो । चाहना पूरा नभएसम्म उनी शान्त रहँदैनथे र वरिपरिका सबैलाई शान्त रहन पनि दिँदैनथे । करातेका सात डन दीपेन्द्रको रुचि भूगोलमा ज्यादा थियो । कलेजमा अध्ययनरत रहँदा उनी आफ्नो कक्षाका जान्ने विद्यार्थीसँग बारम्बार छलफल गरिरहन रुचाउँथे । विषय–शिक्षकहरूसँग पनि ‘क्लोज कन्ट्याक’मा रहने र प्रश्नपत्रका बारेमा समेत जानकारी लिने प्रयास उनीबाट हुन्थ्यो ।

किशोरावस्था पार गरेपछि दीपेन्द्रलाई ‘पकेट मनी’का रूपमा हरेक महिना रु. अठार सय दिने गरिन्थ्यो । उक्त रकम बढाएर पछि तीन हजार पुऱ्याइएको थियो । राजदरबारको ढुकुटी विभागले हरेक महिना खामबन्दी गरेर दीपेन्द्रलाई तोकिएको रकम उपलब्ध गराउने गर्दथ्यो । त्यसरी रकम लिँदा उनले भर्पाईमा सही पनि गर्नुपर्थ्यो ।

महिनैपिच्छे प्राप्त हुने रकम किशोरावस्थामा दीपेन्द्रले आफ्ना खर्चको लागि उपयोग गर्ने गरे पनि जवान भइसकेपछि उनले सो रकम भर्पाई गरी बुझ्ने क्रम जारी राखे, तर आफूले प्रयोग भने गरेनन् । खामसमेत नखोलीकन जमुना नामक एक द्वारे आमालाई सो रकम तत्काल सुम्पिदिन्थे दीपेन्द्र । सरकारले युवराजका नाममा प्रतिमहिना रु. एक लाख नगद उपलब्ध गराउँदथ्यो । तर, युवराज दीपेन्द्रले सो रकम सीधै आफूले बुझ्न पाउँदैनथे ।

नगद सोझै दरबारको ढुकुटी विभागमा पुग्ने व्यवस्था मिलाइएको थियो र त्यहाँबाट मुद्दती खातामा जम्मा गरिन्थ्यो । राजपरिवारलाई प्राप्त हुने नगद तथा अन्य आम्दानीमाथि बडामहारानी ऐश्वर्यको निगरानी एवम् नियन्त्रण थियो । आफ्नी आमा बडामहारानीको नियन्त्रणको कोपभाजनमा दीपेन्द्र परेका थिए । (क्रमशः)-घटना र विचारबाट

(नारायणहिटी राजदरबार हत्याकाण्डबारे पत्रकार देवप्रकाश त्रिपाठीको अनुसन्धानमा आधारित पुस्तक ‘महानिशा’को धारावाहिक अंश)

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...