आत्महत्या गर्नु अघि पुडासैनीले भनेका थिए- ‘रवि दाई आज नभए भोली तपाईको पापको घडा भरिनेछ’

हाम्रो सन्देश संवाददाता

२९ साउन, काठमाण्डौं ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको १० दिन पुगिसकेको छ ।

नुवाकोट बेलकोटगढी ३ का पुडासैनी चितवनको नारायणगढस्थित बसपार्कस्थित कंगारु होटलको कोठामा २० साउनमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

पत्रकार रवि लामिछानेसँग केही समय काम गरेका उनले त्यसपछि माउन्टेन टेलिभिजनमा कार्यरत रहेका उनले मर्नुभन्दा अघि भिडियो र अडियोमा आफूले आत्महत्या गर्नु परेको कारण खुलाएको बुधबारको जनआस्था साप्ताहिकले लेखेको छ ।

पत्रकार पुडासैनीले रवि लामिछानेको टिमसँगै न्युज ट्वान्टी फोरमा काम गर्दा बल्ल बल्ल १८ हजार तलब पाएको, त्यहिपनि थोत्रो मोटरसाइकल बनाउँदा महिनामा ४–५ हजार खर्च हुने, कोठाभाडा, खाना पनि त्यसैले पुर्याउनुपर्ने भन्दै श्रीमतीलाई सम्बोधन गर्दै बोलेको उक्त भिडियो टेपमा भनेका छन् ‘मलाई रवि लामिछाने र युवराज कँडेलले पछिल्लोपटक धेरै टर्चर दिए । तर्साएर वेलकम विज्ञापन ऐजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरुबाट करोडौं कमाउने तर, रातदिन काम लगाई मलाई कम मात्र पैसा दिने । कराउँदा कराउँदा १८ हजार तलब पुर्याए । थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४–५ हजार खर्च हुने, कोठा भाडा, यताउता सबै त्यसैले पुर्याउनु पर्ने । प्यारी सम्झना मैले कसरी सक्नु ।’ उनले श्रीमतीको उमेर २२–२३ वर्ष भएको भन्दै उनलाई अर्को विवाह गर्न सल्लाह पनि दिएका छन् ।

उनले पत्रकार लामिछानेलाई सम्बोधन गर्दै आफूलाई मर्न बाध्य बनाएकोमा पाप लाग्ने भन्दै भनेका छन्, ‘केही दिनदुःखीको उद्धार पनि गर्नु भयो, तर, अरुको प्रगति देख्न सक्नु भएन । दुनियाँलाई थर्काउनु भयो । ढिलो चाँडो दुनियाँले तपाईको असली रुप देख्नेछ । मसँग प्रमाण छन् । आज नभए भोली तपाईको पापको घडा भरिने छ । तँ अब फसिस, भन्दै मलाई मर्न बाध्य पारेकोमा तपाईलाई त्यो पापले पोल्नेछ । ’

पुडासैनीले आफूले न्यूज ट्वान्टी फोर छाड्न खोज्दा रवि र दिपकले त्यसो नगर्न भन्दै बरु डिपेन्डेड भिसामा अष्ट्रेलिया पठाइदिन्छौ भन्दै रालुका गाविस ओखलढुंगाकी केटी …. को पछि लगाइदिएको पनि भिडियोमा बताएका छन् ।

‘त्यहि केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाईदिए । पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान बिहान पुर्याइदिए । पछि उसले खाते भन्दै मलाई हेप्न थाली, म उसबाट टाढिँदै गए । त्यहि क्रममा मैले न्यूज टवान्टी फोर छाँडे । त्यसबापत मलाई उहाँहरुले त्यहि केटीलाई बलात्कार गरेको भनेर फसाउने षडयन्त्र गर्नुभयो । त्यसकारण म अब यस संसारमा यसैगरी बाँचिरहन चाहान्न ।’ पुडासैनीले उक्त भिडियोमा भनेका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...