धुर्मुस भन्छन्, ‘एक पैसा पनि हिनामिना भएको भए धर्तीमा रहन्न’

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ अहिले वीर अस्पतालको सरसफाई अभियानमा लागिपरेका छन् । वीर अस्पताल सरसफाई अभियानको नाममा धुर्मुस सुन्तली फाउण्डेशनले चन्दा सङ्कन तथा रकम हिनामिना गरेको भन्दै टिका टिप्पणी हुन थालेको छ । यसै सन्दर्भमा कुरा गर्दै कलाकार तथा सामाजिक अभियन्ता धुर्मुसले एक पैसा पनि हिनामिना गरेको भए आफु यो धर्तीमा नरहने बताएका छन् ।

काठमाडौंको वीर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै धर्मुसले एक पैसा पनि हिनामिना भएको देखिए यो धर्तीमा आफु नहरने बताएका हुन् । निकै भावुक बनेका उनले पारदर्शी रुपमा काम गर्दा लाग्ने आरोपले निकै मन दुख्ने गरेको बताएका छन् ।

सरकारी अस्पताल सफाईको लागि धुर्मुस सुन्तली फाउण्डेसशनले चन्दा संकलन गरेको आरोप लगाएपछि उनले भावुक हुँदै अहिलेसम्म कुनै पनि प्रयोजनका लागि उठाइएको रकम एक पैसा पनि हिनामिना नभएको दाबी गरेका छन् ।
उनले भने, ‘हामीले चन्दा संकलन गरेका छैनौं, चन्दाको अर्थ अर्कै हुन्छ । अहिलेसम्म यो फाउण्डेशनले राम्रो काम गर्दै आएको छ ।’

अभियान्ता धुर्मुसले वीर अस्पतालको सरसफाई तथा रंगरोगनको क्रममा अहिलेसम्म ४८ लाख ६४ हजार बराबरको काम भइसकेको जानकारी गराएका छन् । त्यस्तै ८२ जना पेन्टरहरुले काम गरिरहेका कुरा पनि उनले जानकारी गराएका छन् ।