लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर पढ्नुहोस्

वस्तुगत प्रश्नोत्तर
१. वि.सं. २०७४ मङ्सिरमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवारले आफ्नो चुनावी कार्यक्रममा खर्च गर्न पाउने रकमको सीमा कति हो ?
– रु. २५ लाख (प्रदेश सभा सदस्य उम्मेदवारले खर्च गर्न पाउने रकमः रु. १५ लाख)
– समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यले खर्च गर्न पाउने रकमः रु. २ लाख ।
– समानुपातिकतर्फ प्रदेश सभा सदस्यले खर्च गर्न पाउने रकमः रु. १ लाख ५० हजार ।

२. बिक्स (BRICS) को नवौँ सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– सन् २०१७ सेप्टेम्वर ३–५, जियामेन (चीन)

३. बराबर क्षेत्रफल भएका नगरपालिका धुलिखेल र बनेपा (५५ व.कि.मि.) हुन् भने बराबर क्षेत्रफल भएका गाउँपालिका कुन–कुन हुन् ?
– ओखलढुङ्गाका चम्पादेवी र चिशङ्खुगढी (१२५.९१ व.कि.मि)

४. लामो समयदेखि अवरुद्ध दाङको हवाइसेवा कहिलेदेखि पुनःसञ्चालन भएको छ ?
– वि.सं. २०७४ पुस २३

५. हेमगङ्गा युवा कला प्रतिभा पुरस्कार (वि.सं. २०७४ मा प्रदान गरिने) बाट कसलाई सम्मानित गरियो ?
– कलाकार केशवराज खनाल (गोरखापत्रमा आवद्ध)

६. सन् २०१७ को साहित्य तर्फको नोवेल पुरस्कार विजेता स्राष्टा को हुन् ?
– बेलायती लेखक काजुओ इसिगुरो
(संसारसँग जोडिएको मानवीय भ्रमलाई महान् भावनात्मक शक्तिको आधारमा उजागर गर्न सफल ।)

७. रूपन्देही जिल्लाको भैरहवामा देशकै पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) को उद्घाटन कहिले गरिएको हो ?
– वि.सं. २०७१ मंसिर २
(वि.सं. २०५७ मा SEZ को निर्माण प्रक्रिया थालिएको थियो ।)

८. ‘विकास योजनाका लागि जनसङ्ख्याको सञ्चार’ भन्ने नाराका साथ नेपालमा प्रथम राष्ट्रिय जनसङ्ख्या सम्मेलन कहिले सम्पन्न भयो ?
– वि.सं. २०७१ जेठ २२–२४

९. छैटोँ राष्ट्रिय कृषि गणना, २०६८/६९ अनुसार सबैभन्दा बढी कृषियोग्य जमिन भएका पाँच जिल्ला कुनकुन हुन् ?
– मोरङ, झापा, सर्लाही, सिराहा, सुनसरी
(गणना अनुसार सबैभन्दा कम कृषियोग्य जमिन भएका पाँच जिल्लाः मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेका ।)

१०. छैटौँ राष्ट्रिय कृषि गणना, २०६८/६९ अनुसार नेपालमा कति कृषक परिवार रहेका छन् ?
– ३८ लाख ३१ हजार

विषयगत प्रश्नोत्तर
१. नेपालमा वन सम्पदाको महत्वबारे चर्चा गर्नुहोस् ।
वन र वनबाट प्राप्त हुने वस्तु वन सम्पदा हो । वन सम्पदा प्राणीसँग जोडिएको वस्तु हो । पृथ्वीमा भएका सारा प्राणीले खाने वस्तुदेखि त्यसलाई पचाउने र बिरामी हुँदा बचाउने सम्मका सम्पूर्ण वस्तुको स्रोत वन सम्पदा हो । ‘हरियो वन, नेपालको धन’ महत्व आफैँमा प्रस्ट छ । यसको बाँकी महत्वलाई निम्नानुसार चर्चा गर्न सकिन्छः
– औद्योगिक कच्चा पदार्थको स्रोत जस्तैः फर्निचर, कागज, सलाई, जस्ता उद्योग,
– जैविक विविधताको संरक्षणमा योगदान,
– खाद्य पदार्थ प्राप्तिको स्रोत जस्तैः धान, मकै, फलफुल,
– प्राकृतिक सौन्दर्यमा बढोत्तरी,
– पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग,
– वातावरण सन्तुलन तथा भूक्षय नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह,
– रोजगारी सिर्जनामा सहयोग,
– राजस्व सङ्कलनमा योगदान जस्तै काठदाउरा, जडिबुटी बिक्री,

२. नेपालको आर्थिक विकासमा निजी क्षेत्रले खेल्ने भूमिकाबारे छोटकरीमा उल्लेख गर्नुहोस् ।
उच्च, दिगो, फराकिलो, समावेशी एवम् न्यायिक आर्थिक वृद्धि आर्थिक विकास हो । नेपालको संविधान, २०७२ को धारा ५१ (घ) (१) मा सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति छ । विकास सहायता नीति, २०७१ ले निजी क्षेत्रलाई विकासको एक साझेदारका रूपमा स्वीकार गरेको छ । चालू योजनाले विकासमा निजी क्षेत्रको भूमिका प्रस्ट गरेको छ । सरकारले गरेको यस व्यवस्थाबाट आर्थिक विकासका तीन संवाहक सरकार, सहकारी र निजी क्षेत्रमध्ये निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने प्रस्ट हुन्छ । यसले मुलुकको आर्थिक विकासमा खेल्ने भूमिकालाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छः
– वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने,
– रोजगारी सिर्जना गर्ने,
– स्वच्छ प्रतिस्थापन गरी निर्यात वृद्धि गर्ने,
– मूल्य वृद्धि नियन्त्रणमा सहयोग गर्ने,
– आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्ने,
– आफूमा भएको ज्ञान, सीप, अनुभव एवम् पुँजीको अधिकतम प्रयोग गर्ने,
– मुलुकमा नयाँ नयाँ प्रविधि भित्र्याउने,
– विदेशी मुन्द्रा आर्जन गर्ने,
– कानुन अनुसार कर तिरेर राजस्व सङ्कलनमा योगदान गर्ने,
– जनशक्ति, कृषि, उद्योग, व्यापार, पर्यटन आदिको विकास गर्न लगानी वृद्धि गर्ने,
– सामाजिक उत्तरदायित्व पूरा गर्ने,
– मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा सहयोग गर्ने,
– सरकार र सहकारी क्षेत्रसँग समन्वय गरी कार्य गर्ने,

३. नागरिक समाजका दायित्व के–के हुन् ? उल्लेख गर्नुहोस् ।
देश र जनताको सेवा गर्ने स्वयंसेवी संस्था नागरिक समाज हो । यो गैर राजनीतिक र गैर मुनाफामुखी प्रकृतिको हुन्छ । नागरिक समाज सरकारमा नरहने संस्था भएकाले सरकारको नागरिकप्रति जुन दायित्व रहन्छ, त्यस्तै दायित्व नागरिक समाजको नहुन सक्छ तर पनि मुलुकको हितका लागि नागरिक समाजको निश्चित दायित्व हुनेगर्दछ । जसलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छः
– नागरिकका हक अधिकार स्थापित गर्ने, सुनिश्चित गर्ने,
– लोकतान्त्रिक पद्धतिको विकासमा आवश्यक भूमिका निर्वाह गर्ने,
– सरकारलाई जनताप्रति जिम्मेवार र उत्तरदायी बनाउन सहयोग गर्ने,
– व्यक्तिगत, संस्थागत एवम् दलगत स्वार्थभन्दा माथि उठेर पिछडिएको वर्ग, क्षेत्र, लिङ्गको आवाज बुलन्द रूपमा उठाउने,
– भ्रष्टाचार गर्नेलाई सामाजिक बहिष्कारको अभियान सञ्चालन गर्ने,
– सहर केन्द्रित मात्र नभएर ग्रामीण केन्द्रित समेत भई सशक्त रूपमा देश विकासमा सहयोग गर्ने,
– सरकारलाई जनताको अवस्था र जनतालाई सरकारको गतिविधिका बारेमा जानकारी दिने सूचना केन्द्रका रूपमा कार्य गर्ने,
– मुलुकमा आर्थिक अनुशासन, शान्ति सुरक्षा, कानुनको पालना, सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने,
– राजनीतिबाट सदैव अलग र तटस्थ रहेर निष्पक्ष रूपमा जनहितका कार्य गर्ने,