राप्रपा प्रजातान्त्रिक राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा

काठमाडौँ, २८ वैशाख ।

राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा उभिएर राप्रपा (प्रजातान्त्रिक) ले युवा पुस्तााई आकर्षण गर्ने रणनीति अख्तियार गरेको छ । वाम शक्तिको विकल्प बन्ने दिर्घकालीन लक्ष्य समेत अवलम्बन गरेको छ ।

वैशाख २५ देखि २७ सम्म चलेको केन्द्रीय कार्य समितिको वैठकमा बोल्ने १०० मध्ये ९५ जनाले राजसंस्था, सनातन हिन्दू राष्ट्रको खुलेर समर्थन गरेका थिए । पार्टी स्रोतका अनुसार, महामन्त्री सुनिल थापाको लाइनमा बोल्ने चार जनाले गणतन्त्र उच्चारण नगरी संविधान स्वीकार गरीसकेको दलील प्रस्तुत गरेका थिए । राजसंस्था प्रतिकूल धारणा राखे पनि किरण गिरीले अध्यक्ष पशुपति शमशेर राणाको राजनीतिक कार्यपत्रमा उल्लेख सम्वर्दनवाद स्वीकारेको विरोधाभाषपूर्ण कुरा गरे ।

संविधानलाई आलोचनात्मक समर्थन
एक नेताको भनाईमा, अध्यक्षको प्रतिवदेनमा सम्वर्दनवादले धर्म, राजसंस्था, राष्ट्रियता, संसदीय प्रजातन्त्र र नीजी सम्पतिको संरक्षण गर्दछ भन्ने तथ्य चित्रण गरिएको थियो । राप्रपा (प्रजातान्त्रिक) २०७३ फागुनमा सम्पन्न एकता महाधिवेशनको वैचारिक, राजनीतिक धरातलमा अडिएको समेत प्रतिवदेनमा किटानी थियो । संविधानप्रति पार्टीको आलोचनात्मक समर्थन रहेको भन्दै हिन्दू राष्ट्रको मुद्दामा सडक संघर्ष गर्ने नीति अध्यक्षले उद्घोष गरेका थिए । अध्यक्षको प्रतिवेदन हुबहु पारीत गरिएको थियो ।

गणतन्त्र गल्ती
वरीष्ठ उपाध्यक्ष दिपक बोहराले संविधान निर्माणमा सकारात्मक भूमिका खेले पनि गणतन्त्र स्वीकार्नु गल्ती थियो भन्दै गणतन्त्र त्यागेर संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्र स्वीकार गरीसकेको प्रमाणस्वरुप केन्द्रीय समितिको वैठकमा एकता महाधिवेशनको विधान पढेर सुनाएका थिए । “राजतन्त्रको विषयमा कसैले असजिलो मान्नु पर्दैन, यो हाम्रो घोषित नीति हो, यही नै यथार्थ हो,” बोहराले भने ।

अर्का वरीष्ठ उपाध्यक्ष केशरबहादुर विष्टले नेता सुर्यबहादुर थापासँग काम गर्दाको अनुभव सुनाउदै संघीयता फापसिद्ध छैन भन्ने विचारले पार्टीमा प्रवेश नपाएपछि कान्तिपुरमा आफूले श्रृंखलावद्ध लेखहरु लेखेको जसलाई पछि त्रिभूवन विश्वविद्यालयले सन्दर्भ सामाग्रीको रुपमा ग्रहण गरेको बताए । त्यसर्थ विचार मर्न दिनु हुन्न, विवेक मर्नु दिनु हुन्न, उनले भने । सम्वर्दनवादको व्याख्या गर्दै विष्टले राप्रपा (प्रजातान्त्रिक) पूर्ण रुपेण राजसंस्थाको पक्षधर भएको बताए ।

परम्परा, सँस्कृति, संस्थाको जगेर्ना गर्दै समृद्धी, नयाँ उन्नतितर्फ अघि बढ्ने पार्टी भएकोले राजसंस्थाको कुरा गर्दा कसैले अफ्ठ्यारो मान्न पर्दैन विष्टले भने । वरीष्ठ नेता हरीबहादुर बस्नेतले पनि प्रजातन्त्रमा फरक विचार र बहुमतलाई पचाउनु पर्छ भने । प्रजातान्त्रिक सँस्कार अनुकूल उदार हुनुपर्छ, संकुचित धारणा पाल्नु हुन्न भन्ने नेतृत्वपंक्तिको सन्देश सुनिल थापाप्रति लक्षित थियो । पार्टी भित्रको बहाव बुझेपछि अध्यक्षलाई भेटी पूर्ण अल्पमतमा परेकै कारण पार्टीबाट निष्क्रिय हुनुपर्ने अवस्था आयो भन्दै सुनिलले बचाउको अनुरोध गरेका थिए ।

यस अवस्थामा बहुमत पक्षधरले उदार प्रजातान्त्रिक आचरण, राजनीतिक परिपक्वता प्रदर्शन गर्दै अल्पमतलाई टाउको लुकाउने ठाउँ उपलब्ध गरायो । अध्यक्ष राणाले पनि सुनिललाई ढाढस दिन समापन भाषणमा उदारवादमा जोड दिए । पत्रकार सम्मेलनमा भने राणाले सम्वर्दनवाद र उदारवादको फ्युजनमा राप्रपा (प्रजातान्त्रिक) अघि बढ्ने बताए । मोरल डाउन भएका महामन्त्री सुनिल समापन सत्र, पत्रकार सम्मेलन कतै बसेनन् ।

बहुमत पदाधिकारी राजसंस्थाकै पक्षमा
स्रोतले बताए अनुसार, वरीष्ठ उपाध्यक्षद्वय बोहरा र विष्टका अतिरिक्त उपाध्यक्षहरु दुर्गा श्रेष्ठ, रामचन्द्र राय, रामकुरमा सुब्बा तथा विष्णु भट्टराई, महामन्त्रीहरु ध्रुव प्रधान, राजाराम श्रेष्ठ, रामु राई तथा मिरा राणा, प्रवक्ताहरु राजेन्द्र गुरुङ, किशोर कार्की, सह–महामन्त्रीहरु सगुन सुन्दर लावती, सुरेश आचार्य, श्याम केसी, होमभक्त कुरुम्बाङ, श्याम थापा लगायत सहायक महामन्त्रीहरु, सह–प्रवक्ताहरु वैठकमा राजसंस्थाको पक्षमा उभिएका थिए ।

तस्वीरको चर्चा
पृथ्वीनारायण शाह र सुर्यबहादुर थापाको तस्वीर एकै ठाउँ राखिएको भनेर वैठकमा आलोचना भयो । राष्ट्र निर्माताको उच्च मर्यादा अनुरुप तस्वीरको व्यवस्थापन गरिनुपर्छ भन्दै केन्द्रीय सदस्यहरुले सचिवालयको ध्यानाकर्षण गरे । पार्टीले दिवंगत नेताहरु राजेश्वर देवकोटा, रवीन्द्रनाथ शर्मा, पद्मसुन्दर लावती, जोगमेहर श्रेष्ठ समेतको तस्वीर राखेर सम्मान गर्नुपर्ने माग गरे ।