प्यारिसमा धारिलो हतियारले आक्रमणः एकको मृत्यु चार घाइते

हाम्रो सन्देश संवाददाता

प्यारिस, फ्रान्स, ३० बैशाख ।

फ्रान्सका अभियोजनकर्ताहरूले मध्य प्यारिसमा बाटोमा हिँडिरहेका मानिसहरूमाथि एक व्यक्तिले धारिलो हतियारले आक्रमण गरेको घटनाबारे आतंकवाद सम्बन्धी अनुसन्धान थालेका छन् । ती हमलामा एकजना ज्यान गएको थियो भने चारजना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा राष्ट्रपति एमानुएल माक्रोँले फ्रान्सले फेरि पनि रगत तिर्नुपरेको भन्दै स्वतन्त्रताका विरोधीहरूसँग ’एक इञ्चले पनि नझुक्ने’ बताएका छन् ।

पर्यटकहरूको चहलपहल हुने प्यारिसको ओपेरा जिल्लामा उक्त घटना भएको हो ।

स्थानीय समय अनुसार राति साढे नौ बजे भएको घटनापछि प्रहरीले घटनास्थलमा घेराबन्दी गरेको छ ।

प्रत्यक्षदर्शीले धारिलो हतियारले हमला गर्ने व्यक्तिले ’अल्लाहु अकबर’ भनेर कराएको र उनलाई नियन्त्रण ‘स्टन गन’ को प्रयोग गरिएपनि त्यसले परिणाम नदिएपछि प्रहरीले गोली हानी मारिदिएको जनाएका छन् ।

आफ्नो समाचार संस्थामार्फत इस्लामिक स्टेट समूहले हमलाको जिम्मेवारी लिएको छ । फ्रान्सको प्रतिआतंकवाद हेर्ने निकायले उक्त आक्रमणमाथिको अनुसन्धानको नेतृत्व गरिरहेको छ ।