गिरिजाप्रसादले म्वाइ खानुभयो, कृष्णप्रसादले कम्मरमा चिमोट्नुभयोः शारदा शर्मा

हाम्रो सन्देश संवाददाता

२०६३ सालमा जब ‘अग्निस्पर्श’ निबन्धसंग्रह प्रकाशित भयो, शारदा शर्माको लेखनीको चर्चा निकै बढ्यो । त्यसअघि उनका कविता संग्रह प्रकाशित थिए । तर, चर्चाको हिसाबमा कवितामा भन्दा शर्माले निबन्धबाट निकैको ध्यान तानिन् । त्यही भएर पनि हुनसक्छ, त्यसपछि उनका कविता संग्रहका रुपमा आएनन्, बरु संस्मरणात्मक निबन्धहरुले स्थान पाउँदै गए । त्यसैको उदाहरण हो– ‘भुइँफूलको देश’ जुन २०६८ सालमा प्रकाशन भयो । ‘भुइँफूलको देश’पछि शर्मा आख्यानतिर लागिन् । ‘ताप’ र ‘कम्प’ दुई आख्यानले शर्माको लेखनीको चर्चालाई थप बलियो बनाइदिए ।२०७२ सालमा ‘अर्को भुइँफूल’ प्रकाशनपछि गैर–आख्यानमा केही दिनअघिमात्र शर्माको संस्मरण ‘त्यो समय’ बजारमा आएको छ । शारदा शर्माका दुवै परिचय स्थापित छन् । पहिलो त उनी लेखक हुँदै हुन्, अर्को उनी कांग्रेस नेता नरहरि आचार्यपत्नी पनि हुन् । पूर्णरुपमा लेखक हुनुभन्दा पहिले चाहिँ शर्मा नेपाल परिवार नियोजन संघ र दिल्लीस्थित इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडरेसन (आइपिपिएफ)को जागीरमा थिइन् । शर्माको पुस्तक ‘त्यो समय’ यही समयको सेरोफेरोमा छ । जब शर्मा जागीरमा थिइन्, नरहरि आचार्य राजनीतिमा होमिएका थिए । उनी कांग्रेसका प्रभावशाली नेता भइसकेका थिए ।

त्यसैले स्वभाविक थियो, शारदा शर्माको कांग्रेस नेताहरुसँगको चिनजान र समयसमयमा सम्पर्क हुनु । कांग्रेसका नेताहरुसँग बारम्बार भेट भएका विषयमा पनि शर्माले पुस्तकमा लेखेकी छिन् । शर्मासँग बारम्बार भेट भएका कांग्रेस नेतामध्ये एक हुन्, गिरिजाप्रसाद कोइराला । राजनीतिक सन्दर्भमा होस् या पारिवारिक वा अन्य स्वास्थ्यसँग सम्बन्धित सन्दर्भमा निक नहोस्, शारदा शर्माले गिरिजाप्रसाद कोइरालाका सन्दर्भ समयसमयमा निकालेकी छिन् । कांग्रेस महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापतिमा नरहरि आचार्यले उम्मेदवारी दिँदा होस् या स्वास्थ्य उपचारका लागि गिरिजा दिल्ली पुग्दाका प्रसंग किन नहुन्, शारदाले गिरिजासँगको भेटका विषयमा पुस्तकमा बढो सचेततापूर्वक लेखेकी छिन् ।

तर, शारदाको लेखनीले अर्को एउटा पक्ष चाहिँ उजागर गरिदिन्छ । पुस्तकको ‘दिल्लीमा गिरिजाप्रसाद’ च्याप्टरमा शारदाले लेखेकी छिन्–
… १४ तारिख, अपराह्न चार बजे म गिरिजाप्रसादलाई भेट्न होटेल साङ्ग्रिला पुगेँ । तलैबाट डा. शेखरलाई फोन गरेँ । उनी लबीमै रहेछन्, भित्र गयौँ हामी । दिउसो एम्समा गएर स्वास्थ्य जाँच गरेको रहेछ गिरिजाप्रसादको, केही समय पहिला मात्रै होटल आइपुगेका रहेछन् उनीहरु पनि । एक छिनको सामन्य भलाकुसारीपछि गिरिजाप्रसादले त्यहीँ बसिरहेका शेखरलाई, ‘ए तँ जा एक छिन बाहिर’ भन्नुभयो । उनी तुरुन्तै कोठाबाट निस्के र ढोका लगाइदिए । म गिरिजाप्रसादको त्यो तरिका देखेर अचम्म मानिरहेथेँ । शेखर निस्केपछि गिरिजाप्रसादले मलाई आफ्नो नजिक बस्न भन्नुभयो, एउटा हात मेरो काँधमा राखेर अँगालो मार्नुभयो, निहुरेर निधारमा म्वाई खानुभयो ।

….. मेरो हात, कपाल सुम्सुमाइरहनुभएको थियो बिस्तारै । उहाँको यो व्यवहार अप्ठेरो लागिरहेको थियो मलाई ।……… योमात्र होइन, शारदाले पुस्तकमा गिरिजाप्रसादले आफूलाई नजिक बस्न भनेको, हातले ‘पिठ्युँमा बिस्तारै थपथपाएको..’, आफू पुगेपछि ‘कोठाका अरुलाई बाहिर जा’ भनेको प्रसङ्ग अरु पनि लेखेकी छिन् । पुस्तकको पेज नम्बर १ सय ५२ र १ सय ५३ मा पनि यो प्रसङ्ग आएको छ । गिरिजाप्रसादकै विषयमा शारदाले लेखेकी पनि छिन्– मेरो हजुरबाको उमेरको व्यक्ति, पितृवत् स्नेह आदि पनि । ती भेटमा नरहरि आचार्यको राजनीतिको विषयमा चर्चा हुने गरेको पनि शर्माले लेखेकी छिन् ।

गिरिजाप्रसाद कोइरालासँगैको प्रसङ्ग लेख्दा शारदाले नेपाली कांग्रेसका अर्का ‘सन्त नेता’ कृष्णप्रसाद भट्टराईसँगको प्रसंग पनि जोडेकी छिन् । यो उनी मन्त्रीपत्नीको हैसियतमा कुनै कार्यक्रममा सोल्टी होटलमा पुग्दाको प्रसंग रहेछ । उनले पुस्तकमा लेखेकी छिन्– सोल्टी होटलको पार्टीमा कृष्णप्रसाद भट्टराईको छेउमा सोफामा बसिरहेको बेला भट्टराईजीले मलाई अँगालो हालेर पछाडिबाट कम्मरको मासु बेस्सरी चिमोटेर भन्नुभएको थियो– ए कैलेकाहीं त हामीलाई पनि यसो मौका दिनुस् न… आश्चर्यले छोपेको थियो मलाई । म उहाँबाट यस्तो व्यवहार कल्पना पनि गर्न सक्तिनथेँ । भट्टराईले त्यति बेला ड्रिङ्क गरेको र उनी विनोदी भएको सबैलाई थाहा नै भएको तर्कलाई अगाडि सारेकी छिन् शर्माले पुस्तकमा । यो त्यही समय हो, जतिबेला महिला अधिकारको क्षेत्रमा काम गर्थिन् शर्मा । त्यसका केही वर्षपछि शर्मा आफैं विभिन्न महिला हिंसा विरुद्धका गोष्ठीमा सहभागि हुन ढाका, काठमाडौं, दिल्ली, भुटानलगायतका ठाउँमा पुगेका प्रसङ्ग पनि आएका छन् । ती गोष्ठीहरु थिए, शर्मा सहभागि भएका । र, संस्मरणमा आएका छन्, उनका नीजि अनुभवहरु । आखिर त्यो सब समयको कुरा न हो !