एकपटक जानैपर्ने सुन्दरताले भरिएको जट्टा पोखरी (फोटोकथा)

हाम्रो सन्देश संवाददाता

रामेछापको उत्तरी भुगोलमा रहेको गोकुलगंगा गाउँपालिकामा पार्ने पाँच तथा जट्टा पोखरी प्रकृतिको अनुपम देन हो । पाँचपोखरी चर्चित रहे पनि यहाँ रहेको जट्टा, बहुला, जुम्ल्याहा, भाले, तीनलाल, यालम्छा मात्र होइन नजिकै दोलखा जिल्लामा पर्ने छ्योरोल्पा, कालिञ्चोक, पाँचपोखरी कुण्ड, बहुला, काल, भूत पोखरी यस पर्वतीय श्रृंखलाका गहना हुन् ।

उत्तरी क्षेत्रमा लमतन्न सुतेझै देखिने पर्वत, पहाडी डाँडा, खोँच, पटुकी आकारका लामालामा सुन्दर छहरा, तलतिर देखिने बेसी र मगमगाउँदा सुनपाती, धुपी र अन्य जडीबुटीको बास्नासँगैको उकाली र ओराली यात्रा निकै मनमोहन लाग्ने गर्दछ ।

काठमाडौ उपत्यकाबाट अरनिको राजमार्ग हुँदै जिरीसम्मको १ सय ८८ किलोमिटर पक्की सडक र झण्डै २५ किलोमिटर कच्ची सडक पार गरेपछि सुरु हुने करिब डेढ दिने उकालो यात्रापछि पुगिने समुद्री सतहदेखि ४ हजार ४ सय ४३ मिटर उचाईको पाँच पोखरीबाट तलतिर देखिने बादलु थुम्का र पहाडी थुम्काबीचको लुकामारी अवलोकन गर्नु सायदै जिन्दगीमा कुनै एक पटक पाइन्छ ।

एक किम्बदन्तीअनुसार पाँच पोखरीको बीचमा दुइटा प्राकृतिक ढिस्को छ त्यसमा भगवान शिव आसन गर्ने गर्दथे । कुनै समय खडेरी परेर संसारभर हाहाकार भयो रे । सबैैले भगवान शिवको आराधना गरेछन् । यस्तो विपत्ति देखेर भगवान शिवले मानव जगतको हितका लागि पाँच पोखरीको बीचमा आसन लिएछन् । यो कुरा गंगामाईले थाहा पाएर शिवको जट्टामाथिबाट वर्षा गराउनु भएछ । त्यहीं पानी पाँच पोखरी वरपर हुँदै तल अर्को पोखरी बनेछ रे । जसलाई अहिले जट्टा पोखरी भनिन्छ । त्यहीबेलादेखि पाँच र जट्टापोखरीमा नुहाए रोगव्याधि लाग्दैन भन्ने मान्यता छ । पोखरीको पुजा गरे खडेरी नपर्ने, अनिकाल नहुने, अन्नबाली सप्रने, पारिवारिक उन्नति हुने आदि जनविश्वास छ।

जट्टा पोखरीमा राम्रो भाँडाकुँडा, हाँस, डाँफे, भेंडा देखिने गरेको पाकाहरु बताउछन् । जट्टा पोखरीमाथिबाट उड्ने चराहरु त्यही खस्ने गरेको जनविश्वास समेत छ । सो पोखरीका हाँसहरु गोकुलगंगाको तलतलसम्म खेल्न आउने गर्छन् । करिब दुई दशकअघितिर चुचुरेमा त्यहाँको हाँस तल आएका बेला मार्न कसैले गोली हानेछ, गोली हान्न नपाउँदै बन्दुक हातमै पड्केर गोली हान्नेले हात गुमाउनु परेको थियो । स्थानीयका अनुसार यसरी वर्षेनीजसो तल आउने हाँस अहिलेसम्म कसैले मार्न सकेको छैन ।

कुनै समय पोखरीमा दिउँसो ठीक १२ बजे कुखुराको भाले बास्थ्यो रे । त्यसैले यसलाई भाले पोखरी भनिएको हो । यहाँ पनि चार पाँच दशक अघिसम्म पोखरीबाट भेडाको थुम्बा निस्केर बाहिर चर्ने गर्दथ्यो रे । पोखरीमा एक्कासी हाँस देखिनु र त्यही हराउनु सामान्य थियो रे । औंसी पूर्णेमा बाजा, डुम, जंगली पशुपंक्षी आदिको आवाज आउँथ्यो रे । यो सबै घटना देख्ने पाका नागरिकहरु अझै पाइन्छ ।

यो अलौकिकझैं लाग्ने स्थानमा हरेक वर्ष जनै पूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ । यहाँ जनै पूर्णिमाका दिन मेला लाग्ने भए पनि सबै जातजाति र धर्म मान्नेहरु पुग्ने गर्दछन् । यो स्थानमा पुजा गर्न ठुलाठुला त्रिशुल लिएर भारतीय भक्तजनहरुसमेत आउने गरेका छन् । भौगोलिक रुपमा यात्रा केही कठिन भए पनि यहाँ पुगेपछि प्राप्त हुने आनन्द स्वर्गीय हुने यहाँ पुगेर फर्केकाहरुले बताउनु गरेका छन् । यहाँ पुग्न नसक्नेहरु भने पाँच तथा जट्टा पोखरीबाट बगेर आएको गोकुलगंगामा स्थान गरेर आफ्नो धार्मिक आस्था व्यक्त गर्ने गर्दछन् ।