काम गर्ने जनार्दन र कुलमान ,मकै खाने वर्षमान

१ जेठ, काठमाडौं ।

गत आइतबार बेलुकी ८ः२३ बजे मिडियाहरुमा एउटा इमेल आयो । इमेल आधिकारिक लेटरप्याडमा नआए पनि उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयबाट आएको थियो । इमेलको बेहोरा थियो, मुलुक लोडसेडिङमुक्त भयो । मुलुक लोडसेडिङमुक्त बनेको र अबदेखि औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ नहुने लेखिएको थियो ।

सोमबार बिहानदेखि मध्यान्हसम्म अधिकांश मिडियामा समाचार सार्वजनिक भयो, मूलक लोडसेडिङमुक्त भयो भनेर । माओवादीका कार्यकर्ताहरुले आफ्ना नेता मन्त्रीको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै बधाईको ओइरो लगाए । मुलुकलाई लोडसेडिङमुक्त बनाउनु भएकोमा बधाई, सलामजस्ता शब्द पोखिए ।

माओवादी कार्यकर्ताले वर्षमानको जयजयकार गरेपनि आम जनताले भने यो जस बर्षमानलाई भन्दा पनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पहिलेका उर्जामन्त्री माओवादीकै जनार्दन शर्मालाई दिइरहेका छन् । एकवर्षअघि हटेको लोडसेडिङ उद्योगहरूमा नगन्य मात्र रहेकोमा अहिले केही सुधारका काम र भारतबाट थप विद्युत् ल्याएर लोडसेडिङ हटाइएको हो । त्यसैले वर्षमानले जादुको छडी प्रयोग गरेकोझै चर्चा गरिनु सही हुँदैन ।

के वर्षमानको सक्रियता र निर्देशनले हटेको हो लोडसेडिङ ?
पुनको सचिवालयबाट मिडियाहरूमा आएको प्रेसनोटको भाषा यस्तो छ कि हालका मन्त्रीले नै लोडसेडिङ हटाएका हुन् । कुलमान घिसिङ नै लोडसेडिङ मुक्त गर्न अटेर गरिरहेका थिए र यो अवस्थामा मन्त्रीले नै कि काम गर कि पद छाडे भनेर निर्देशन दिएपछि काम भयो । प्रेसनोटमा लेखिएको छ, ‘चैतमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुनले बैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउनु भयो ।’ यो भाषाले लगाउन खोजेको अर्थ यस्तो बुझिन्छ कि मन्त्रीको निर्देशन नभएका कारण अहिलेसम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ भएको रहेछ । कुलमानले लोडसेडिङ मुक्त गराउन चासो नदिएका कारण उर्जामन्त्रीको यस्तो निर्देशन आएपछि लोडसेडिङ अन्त्य भएको रहेछ ।

वास्तविकता यस्तो
तर, यसको वास्तविकता भने अर्कै छ । एकवर्ष अघि लोडसेडिङ मुक्त गराउने क्रममा प्राधिकरणका कुलमान घिसिङले उद्योगहरूमा नगन्य मात्रामा कहिलेकाहिँ लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए । ‘पिक आवर’मा अत्यधिक माग भएको खण्डमा उद्योगमा नगन्य मात्राको लोडसेडिङ गरेरै भएपनि सर्वसाधारणलाई विद्युत् दिने वचन दिएका थिए र सोही अनुसार गरे पनि । यहि सिलिसिलामा उनले विद्युत् चुवाहट नियन्त्रणका लागि पहलकदमी लिए । यहि समयमा हिउँ नपग्लिए पनि वर्षायाममा जस्तै भिषण पानी परिरह्यो । उता गतवर्षको तुलनामा यो वर्ष भारतबाट विद्युत् आयात पनि बढाइयो । जसले गर्दा उद्योगहरूमा गरिएको लोडसेडिङ पनि हटाउन सम्भव भयो । तर, उर्जामन्त्री बनेपछि खासै उल्लेखनीय काम गर्न नसकेका र पछिल्लो समय प्रधानमन्त्री ओलीसँट खटपट बढिरहेका उर्जामन्त्री पुनले भने लोडसेडिङमुक्त गरेको जस आफैँले लिन खोजेका छन् ।