विरालोले बाटो काट्दा अशूभ हुन्छ भन्नेमा कति भ्रम कति सत्य ? यस्तो छ वास्तविकता

जब हामी कतै गइरहेका हुन्छौं त्यो बेलामा कालो विरालोले बाटो काट्यो भने अशुभ होला भनेर केहीबेर रोकिन्छौं । केही त हिँडिरहेको बाटो नै बदलिदिन्छन् । पूर्वीया समाजमा कालो विरोलाई अशुभ र नकारात्मक शक्तिसँग जोडेर हेरिन्छ । कालो विरालो मात्र होइन जस्तो सुकै रङको विरालोले बाटो काट्यो या रोयो भने त्यसलाई हाम्रो समाजले अशुभ मान्छ । पूर्वमा मात्र होइन केही पश्चिमा मुलुक जस्तै अमेरिका र रोमानिया जस्ता देशमा पनि विरालोले बाटो काट्नुलाई अशुभ मानिन्छ । अर्कोतर्फ ब्रिटेन र जापान जस्ता देशमा कालो विरालोले बाटो काट्यो भने शुभ मानिन्छ । कुनै कुनै देशमा त घरमा विरालो पाल्यो भने नकारात्मक उर्जा आउँछ भनेर घरमा समेत पाल्ने गरिँदैन । संसारभर विरालोसँग जोडिएका शुभ र अशुभका भ्रम फैलिएको छ ।

नेदरल्यान्ड्स

नेदरल्यान्ड्मा विरालोलाई एउटा कुरौटे प्राणीको रुपमा लिने गरिन्छ । आफ्नो खुसीका लागि विरालोले मानिसहरुको गोप्यतालाई भंग गरिदिन्छ भन्ने विश्वास गरिन्छ । त्यसकारण नेदरल्यान्ड्समा घरको कुनै कोठामा विरालो बसेको छ भने त्यस कोठामा बसेर मानिसहरुले अत्यावश्यक र गोप्यखालका कुराहरु गर्दैनन् ।

जर्मनी

जर्मनीमा विरालोसँग जोडिएको मान्यता केही फरक छ । जर्मनहरुले जब कालो विरालोले दाँयाहुँदै बायाँतर्फ बाटो काट्यो भने यसले अशुभ निम्त्याउँछ भन्ने मान्यता राख्छन् । तर, बाँयाबाट दायाँतर्फ बाटो काट्यो भने साइतपर्छ भन्ने सोच्छन् । योबाहेक जर्मनीको केही क्षेत्रका मानिसहरुले कुनै केटीको विवाह हुन सकिरहेको छैन भने त्यो बेला केटीले आफ्नो जुत्तामा खाना राखेर विरालोलाई खुवाउने हो भने उसको चाँडै विवाह हुन्छ भन्ने विश्वास गर्छन् ।

इटली

इटलीमा विरालोलाई शुभ र अशुभ दुबै संकेतसँग जोडेर हेर्ने गरिन्छ । यदि विरालोले हाच्छिउँ गरेको देखियो भने त्यसलाई ‘गुडलक’ मानिन्छ । इटलीबासीको अर्को के पनि मान्यता छ भने यदि विरालो कुनै विरामी व्यक्तिको विस्तारामा गएर बस्यो भने त्यस व्यक्तिको चाँडै मृत्यु हुन्छ ।

जापान

जापानीहरुले विरालोले आफ्नो पञ्जाले मुख धुँदै गरेको देखे भने घरमा पाहुना आउँदैछ भन्ने सोच्छन् ।

चीन

चीनमा कालो विरालोलाई अकाल र गरिबी ल्याउने प्रतिकको रुपमा लिइन्छ । उता लातविया भन्ने देशमा किसानले खेतमा विरालोको बच्चा खेलिरहेको देखे भने बालिनाली सप्रिने विश्वास गर्छन ।

स्कटल्यान्ड

स्कटल्यान्डका मान्छेहरुले घरको धुरीमा विरालो बसेको देखेभने त्यसले धन र समृद्वि ल्याउँछ भन्ने मान्यता राख्छन् ।

आयरल्यान्ड

रातको समयमा जुन देखिएको छ र त्यो बेलामा विरालोले बाटो काट्यो भने देख्ने मान्छेलाई भयानक रोग लाग्ने विश्वास आयरल्यान्डबासीले गर्दछन् ।

इन्डोनेशिया

इन्डोनेशियाको केही ठाउँमा विरालोलाई मौसमसँग जोडेर हेरिन्छ । यदि लामो समयसम्म पानी परेन भने त्यो बेला विरालोमाथि पानी खन्याइयो भने बर्षा हुने विश्वास त्यहाँका मानिसहरुले गर्दछन् ।