म बाँचेको देश म संगसंगै रोइरहेछ

हाम्रो सन्देश संवाददाता

यो संसारमा तल माथिको सोचाई किन ?
मानव मानव बिच भेदभाव किन ?
न त्यहाँ खाल्डो छ
न त्यहाँ डाँडा नै छ
केवल छ त धनी र गरीब बिचको
असन्तुलता
असामञ्जस्यता ।

कहिले बन्छ होला 
मिलन विन्दु
गराई, बोलाई र बुझाईका
अर्थपूर्ण आभाषहरु
मनमा टङ्ग–टङ्ग टङ्ग–टङ्ग
हानिरहन्छ हानिरहन्छ
जबसम्म म कुनै
निर्क्यौलमा पुग्न सक्तिन
घुमिरहेको दिमागको
अंचेत्याइमा ।

म के हुँ र को हुँ ?
के हो मेरो अस्तित्व ?
भनिन्छ नागरिक हुँ
यो देशको यस राष्ट्रको
खोई त मेरो स्थायित्व ?
न त छ बसोबासको कुटी
न त छ पाइला टेक्ने धर्ती
जहाँ टेक्यो धाक र धम्की
खाली सडकको सेरोफेरो
अस्तित्वबिहिन घुमन्ते भइएछ 
वाध्यतामा विवशतामा ।

हराएको छु म आफैंभित्र
आफुलाई खोजिरहेको छु
टाढा टाढा पुग्दा पनि
गन्तव्य नै हराइरहेको छु
छट्पटिएको र भट्किएको 
विचलित आत्मालाई
थुमथुम्याउँदै र संभाल्दै
लाग्छ गरीबीको चरम चुलीको
केन्द्रबिन्दु खोजिरहेको छु
हिंडिरहेछु अझै हिंड्दैछु
त्यसैले त व्यस्त छु 
आफ्नै अकल्पनीय व्यस्ततामा ।

अचेतन मन र अदृश्य पीडा
तड्पिएको वास्तविकता
छताछुल्न जिन्दगी 
हावामा उडेको सपना
पवित्रता मरेको भूमि र परिवेश
अनि साथसाथै म 
म बाँचेको देश
म संगसंगै रोइरहेछ ।

–कमल राज दाहाल “कुमार” (एमए, टियू)