अब तेलबाट चल्ने गाडी हट्छः मुख्यमन्त्री पौडेल

हाम्रो सन्देश संवाददाता

हेटौंडा, २४ जेठ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शहरको बढ्दो चापलाई कम गर्न आगमी १० वर्षभित्रमा पेट्रोलबाट चल्ने गाढी हटाउने दावी गरेका छन् ।

आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिंदै बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री पौडेलले सरकारले समयानुकुल कार्यक्रमअघि सारेको भन्दै कुनै पनि हालतमा पेट्रोल गाडी हटाएरै छाड्ने दावी गरे । प्रदेश ३ सरकारले नीति तथा कार्यक्रममा २०८५ सालभित्र काठमाडौं, चितवन, हेटौंडा, धुलिखेल र बनेपामा पेट्रोलबाट चल्ने गाडी विस्थापित गर्ने उल्लेख गरेको थियो ।

साना सवारी साधनको अत्याधिक चापका कारण ठूला शहरहरुमा सवारी साधनमा नियन्त्रण तथा विस्थापन जरुरी रहेको उनले बताए । मुख्यमन्त्री पौडेलले विदेशमा श्रम गरेर नेपाल पठाएको रेमिट्यान्स पठाउनेको नाममा शेयर खडा गरिदिएर बृहत योजना वा उद्योग सञ्चालन गर्दै रोजगारी सिर्जना गर्ने योजना रहेको बताएका छन् ।

मुख्यमन्त्री पौडेलले प्रदेशमा आएको रेमिट्यान्स अब सरकार मातहतमा रहने गरी उद्योग तथा व्यवसायमा लगानी गर्ने बताए । सार्वजनिक–निजी साझेदारी र सार्वजनिक–सहकारी साझेदारीका आधारमा प्रदेश विकासको अवधारणा ल्याइएको र त्यसका लागि प्रदेश निर्माण कम्पनीले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।

प्रदेश ३ सरकारले आर्थिक बर्ष २०७५/७६ को लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रमुख विपक्षी कांग्रेसका साथै राप्रपा र राप्रपा (प्रजातान्त्रिक) ले विपक्षमा मतदान गरेका थिए भने विवेकशील साझा पार्टी र नेमकिपा पक्ष वा विपक्षी दुबैमा उभिएनन् ।

प्रदेश सभा ३ मा सत्तारुढ (नेकपा) का ८०, प्रमुख विपक्षी नेपाली कांग्रेसका २१, विवेकशील साझा पार्टीका ३, नेककिपाका २, राप्रपा र राप्रपा (प्रजातान्त्रिक) का १/१ र एक स्वतन्त सांसद छन् । नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री डोरमणि पौडेलेले विपक्षीले बुझ्दै नबुझि वा बुझ पचाएर संशोधन र विरोध गरेको उल्लेख गरे । प्रदेशको नीति तथा कार्यक्रम उत्कृष्ट भएको दाबी गर्दै उहाँले लागू भए ४ वर्षमा समृद्धि हासिल हुने दाबी गरेका छन् ।