प्रचण्डको ‘घटिया कर्तुत’को संसदमा पर्दाफास, ओलीसहित नेकपाका सांसद आक्रोशित, मागियो जवाफ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, जेठ २९ ।

नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दादागिरीको संघीय संसदमा पर्दाफास भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रचण्डले आफ्ना घरभेटी ठेकेदार सारदा अधिकारीलाई कारवाही नगर्न भन्दै गृहमन्त्रीलाई हप्काएको प्रसंग उठाउँदै दादागिरी व्यवहारको पर्दाफास गरेका हुन् ।

संसद बैठकको बिशेष समयमा बोल्दै सुवालले विभिन्न सडकको ठेक्का लिएर समयमा काम नगर्ने सैलुङ कम्पनीका मालिकलाई कारबाही नगर्न गृहमन्त्रीलाई निर्देशन दिइएको खबरबारे सदनमा प्रश्न सोधेका हुन् । याे प्रश्न सुनेपछि सुशासन र समृद्धिकाे अभियानमा रहेका प्रधानमन्त्री केपी शर्मा अाेली र नेकपाका सांसदहरू प्रचण्डसँग असन्तुष्ट बनेका छन्। पार्टीकाे अध्यक्ष भएर व्यत्तिगत स्वार्थ हेरेकाे भन्दै उनीहरू रिसाएका हुन्।

‘काठमाडौं उपत्याकाको कलंकी–नागढुङ्गा, नगरकोट सडकका ठेकेदार सैलुङ्ग कम्पनीले ठेक्काबापट सरकारसँग भुक्तानी लिएको, तर बर्षौंदेखि काम नगरेको समाचार छ। भक्तपुर नगरकोट सडकको निर्माण नहुँदा खानेपानीको मुहान समेत बर्षामा हिलो भएर जनताको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ’ सुवालले संसदमा गर्जिदै भने, ‘सैलुङ्ग कन्सट्रक्सनका मालिक सारदा अधिकारी नेकपाका अध्यक्ष प्रचण्ड जीकै घरवेटी भएको पनि समाचारमा आएको छ। गृहमन्त्री जीले कारवाही गर्ने कुरा उठाउँदा नेकपाका अध्यक्ष प्रचण्ड जीले गृहमन्त्रीलाई बोलाएर कारवाही नगर्नु भनेर आदेश दिएको पनि समाचार आएकोले के कस्तो हो यस सदनलाई जानकारी दिनु आवश्यक छ।’

केही दिनअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने बताएका थिए । प्रचण्डका घरभेटी भएकै कारणले कुनै पनि ठेकेदारले छूट नपाउने गृहमन्त्रीले चेतावनी दिएका थिए।

आफ्ना घरवेटीलाई कारवाही गर्न खोजेको भन्दै प्रचण्डले थापालाई घरमै बोलाएर सिंघम बन्न खोजेको हो भन्दै हप्काएका थिए। उनले आफ्ना घरवेटी ठेकेदारमाथि कारवाही नगर्न दबाब दिएका थिए। तर, मन्त्री थापा कामचोर ठेकेदारलाई कारवाही गरिछाड्ने पक्षमा छन्।