३३ किलो सुन प्रकरण : बाजेको सेकुवामा सुन समितिको छापा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३० जेठ ।

३३ केजी सुन तस्करी तथा सनम शाक्य हत्या काण्डको अनुसन्धान गरिरहेको समितिले प्रतिवादी चेतनाथ भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको छ।

नक्साल, गैरीधारास्थित शाखामा समितिले बुधबार छापा मारेको हो। गत चैतमा सुन तस्करीको अनुसन्धान समितिले काम थालेपछि भण्डारी फरार भएका छन्।

सरकारी अधिकारीहरुले संगठित अपराध निवारण ऐन २०७० अनुसार मोरङ जिल्ला अदालतको आदेशमा बाजेको सेकुवा कर्नरमा छापा मारेको बताइएको छ ।

ऐनअनुसार संगठित अपराधका आरोपीले अपराध गरेर कमाएको घन शुद्धीकरणका लागि व्यवसायमा मिसाएको हुनसक्ने आशंकामा छानबिनको अधिकार दिएको छ।

नेपाल र विदेशमा समेत शाखा विस्तार गरेको बाजेको सेकुवा कर्नर काठमाडौं र ललितपुरमा पनि शाखा छन्। बुवा दिनानाथ भण्डारीले बाजेको सेकुवा ब्रान्डलाइ लोप्रिय बनाएका थिए। सुन तस्करमीमा मुछिएका चेतनाथ उनका आफ्नै छोरा हुन्। अष्ट्रेलिया पढेर फर्किएपछि चेतनाथले बुवाको व्यवसाय सम्हालेका थिए।

सुन तस्करीमा संलग्न भएको पाइएपछि समितिले भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का गरिसकेको छ। सुन तस्करी गिरोहका नाइके चुणामणि उप्रेतीमार्फत भन्डारीले लगानी गरेको अनुसन्धानबाट खुलेको थियो। उप्रेती र भण्डारी नातेदार पनि हुन्।