गृहमन्त्रीलाई वलीको पत्रः ‘राजनीतिको सिण्डिकेट कहिले तोडिन्छ ?’

हाम्रो सन्देश संवाददाता

माननीय गृहमन्त्रीज्यू,
नमस्ते अभिवादन ।

यतिबेला तपाईंको चर्चा र परिचर्चा चलिरहेको छ । तपाईंहरुले क्रान्तिको झण्डा उठाउने बेला लाखौं मजदुर र सर्वहारा वर्गले न्याय मुक्ति र अधिकारको लडाइँमा साथ दिएको पनि सत्य नै हो । यो संसदीय व्यवस्थाविरुद्ध अनेक दस्तावेज तयार पार्ने नेतृत्व मध्येमा तपाईं पनि एक भएको कुरा पनि उत्तिकै सत्य हो ।

आज तपाईंको चर्चा दुई किसिमबाट हुँदैछ । एउटा खोक्रो रास्ट्रवादमा लगेर तपाईंलाई समाप्त पारिदिने । अर्को चर्चा क्रान्तिलाई बचाएर हिजोको बाचा पूरा गर्ने । एकातिर क्रान्तिको झणडा फहराएको छ अर्कोतिर सिण्डिकेटधारीविरुद्ध तपाईंको कठोर कदम चल्दै छ । यही बीचको फाइदा लिन केही मुठ्ठीभरका मान्छेहरु देशलाई गृहयुद्ध लग्ने अनेक कसरत देखिन्छ ।

गृहमन्त्रीज्यू, यो देश केही पात्रहरुको अपूर्व भाषण केही मुठ्ठीभरका सुकिला मुकिलाहरुदेखि तस्कर र दलालहरुले स्वर्गीय सपनाहरु देख्ने गति मात्र पैदा भएको बेला तपाईको यो कदमले सिण्डिकेटधारीहरु रुवाबासी गर्दै होलान् ।

सायद विद्रोह क्रान्तिको मोर्चाबाट निकै होनाहार नेतृत्वको जन्म भएको छ । तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको नेतृत्वमा भएको लोडसेडिङको अन्त्य र हाल तपाईंको नेतृत्व भएको सिण्डिकेटविरुद्धको कठोर कदम । विप्लवको नेतृत्व भएको भ्रष्टाचार विरुद्धको क्रान्ति साँच्चिकै नेपालको इतिहासमा सत्य र निष्ठाका साथ लाग्ने हो भन्ने सबै सम्भव रहेछ भन्ने कुरामा कहिँ कतै दुईमत छैन ।

क्रान्तिको झण्डा उठाउन साहस गर्ने विप्लव, सिण्डिकेट तोड्न साहस गर्ने तपाईं, लोडसेडिङ हटाउने, जनार्दन शर्मा सम्मानका पात्र हुनुहुन्छ । अब यो देश सर्वहारा वर्गको अधीनमा राख्न साहस र नेतृत्वको वातावरण पनि तपाईंहरुले नै मिलाउनुपर्छ ।

चर्चा प्रतिक्रियावादीहरुले पनि गर्लान्, तर, उनीहरुको चर्चामा बदनामीको नियत लुकेको हुन्छ । सत्य चर्चा त्यहाँ हुन्छ, जहाँ परिवर्तनको कुरा कुरासँग विद्रोहको झण्डा उठ्छ, त्योसँगै सफल नेतृत्वको बढी चर्चा हुने गर्दछ । जनयुद्धको गर्भबाट जन्मेको तपाई नेतृत्वहरुले सामान्य सुधार मात्र होइन, युग परिवर्तन गर्ने मोर्चाको नेतृत्व लिनुपर्दछ ।

जनवादी सत्ताको केन्द्रबाट धेरै अपेक्षाहरु थिए । १७ हजारको बलिदानबाट जन्मेको जनसत्तालाई बालुवाटार लगेर गाड्ने कि बालुवाटारलाई जनसत्तामा रुपान्तरण गर्ने ? यो बहस मात्र थिएन । यो दस्तावेजमा मात्र उल्लेख हुने कुरा मात्र थिएन । सहिदको बलिदान, हाम्रा हातका हतियार र बर्दीसँग सर्वहारा वर्गका महान सपना र बिपनाहरु थिए ।

हामीले सोच्दै थियौं, ‘बालुवाटारमा हाम्रो नेतृत्व पुग्यो भने एकपटक नेपालको युग परिवर्तन हुनेछ, सर्वहारा वर्गको नेतृत्वमा जनवादी गणतन्त्र नेपाल हुनेछ । अनि हाम्रो होनाहार नेतृत्व वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्नेछ । विश्वभरि वैज्ञानिक समाजवादको बाटो तयार हुनेछ ।’ तर दुखको कुरा ती सुविधाजनक ठाउँ, सुकिला महल भए पुग्ने कम्युनिस्टको रुपान्तरणसंगै समाप्त भयो ।

चर्चा भए पनि व्यवस्था त्यही भएपछि सर्वहारा वर्गले कुनै आशा राख्ने ठाउँ भएन । फेरि क्रान्तिको सपना देख्न थाले । क्रान्तिको चर्चासँगै विश्वको ध्यान फेरि नेपालमै केन्द्रित भएको छ । तर, कतिपयले क्रान्तिकारी शक्तिमाथि आक्रमण गरेर यसको अस्तित्व ध्वस्त गर्ने सपना पनि देख्दैछन् ।

माननीय गृहमन्त्रीज्यू,
प्रतिक्रियावादीहरुको चर्चा र परिचर्चा भन्दा पनि सर्वहारा वर्गको मुक्तिको महान विचार, लक्ष्यप्रतिको यात्रा, सधैं सत्य र न्यायको पक्षमा जनताको निकै ठूलो उत्साह, लगन, साहस र साथ थियो । माओवादी पार्टीको आगमनसँगै सिंहदरबार र साम्राज्यवादले चर्चा सुरु गरेका थिए । शासकहरुले तपाईहरुको मुल्य पनि गरेकै हुन् । संसदीय भ्रमजालमा राखेर क्रान्तिकारी इतिहासलाई नै ध्वस्त गर्ने प्रयास धेरैपटक भयो पनि ।

अहिले पनि केही अप्रिय घटना घट्दै गरेको देखिन्छ । जनताको पक्षमा क्रान्तिकारी आवाज बोल्नेहरुलाई पक्राउ गर्ने, जेलनेल हाल्ने काम भएको छ । यस्ता केही घटना सुन्दा निकै आक्रोशित बनाउँछ । बाटो तपाईंहरुकै, एजेण्डा तपाईंहरुकै हो । त्यति बेलाका नेतृत्व तपाईहरु नै अहिले त्यही बाटो जानेलाई किन वारेन्ट जारी गर्दै हुनुहुन्छ ? यो व्यवस्थाले जनतालाई विभेद गरेको छैन भन्न सक्नुहुन्छ ?

हामीलाई बिभाजन गरेर बोसोका पारखीहरुले हामीबीच लडाइँको खेती गर्दैछन् । हामीले लडेर ल्याएको गणतन्त्र हामीलाई नै गणतन्त्रविरोधी बनाउँदै छ । सहिद परिवार रुँदै छन्, घाइतेहरु भोकै छन् । क्रान्ति गर्ने योद्धाहरु नाङ्गै छन् । मजदुरहरु दामबिहीन छन् । किसानहरु कामबिहीन छन् । युवायुवतीहरु बेरोजगार छन् । विद्यार्थी कलमबिहीन हुँदैछन् । दिदीबहिनीमाथि बलात्कार रोकिएको छैन । गरीबका आँखाबाट धेरै आँसु बगिसकेको छ । बगाउँदै पनि छन् । दैनिक लाखौं युवाले विदेशी जाने लाइनमा छन् । यो कस्तो खालको कम्युनिस्ट गणतन्त्र हो ?

माननीय गृहमन्त्रीज्यू,
संघीयता गणतन्त्रको अपहास गर्ने गरि भएको सुकुम्बासीमाथि दमन, पञ्चायतको झल्को दिने गरि जबर्जस्त आफ्नो लुटको शासन थोपर्न झुपडीमा किन आँखा लाग्दै छ ? दस्तावेज महल भत्काउने तर काम झुपडीमा आगो लगाउनु चाहिँ कसरी कम्युनिष्ट आचरण होला ?

गृहमन्त्रीज्यू, जनताको परिवर्तनको चाहना पूरा गर्न पहिलो कुरा राजनीतिक सिण्डिकेट तोड्ने आँट गर्नुस् । सरकार सञ्चालनको सिण्डिकेट जनताको झुपडीमा पुग्ने गरि तोड्नुस् । अनि, थवाङदेखि चुनवाङसम्मका बाचा र दस्तावेज सम्झिनुस् । यति भन्दै छोटो पत्र अहिलेलाई यहीँ अत्य गर्दछु ।